एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा गोर्खालीको दाबी

मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ ले आगामी कार्यकालको लागि मध्यपूर्व क्षेत्रीय संयोजक पदमा उम्मेद्वारीको घोषणा गरेका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद आईसीसी सदस्यसमेत रहेका गोर्खाली लामो समयदेखि युएईमा बसेर ब्यवसाय तथा समाजसेवा गर्दै आएका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा उनले आफ्नो उमेद्वारी घोषणा गरेका हुन्।

मध्यपूर्वलगायत अन्य देशमा हुने एनआरएनएका कार्यक्रममासमेत प्रत्यक्ष रूपमा सहभागी हुँदै आएका गोर्खाली एनआरएन मध्यपूर्वका बलिया दाबेदारसमेत हुन्।

गैरआवासीय नेपाली संघ एनआरएनए युएईको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका गोर्खाली अहिले आईसीसी सदस्यको जिम्मेवारीमा छन्।

वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या र ब्यावसायीको पक्षमा गोर्खालीले आवाज उठाउँदै आएका छन्।

मध्यपूर्वमा कार्यरत नेपालीको समस्यालाई मध्यनजर गर्दै आफूले ठोष योजना अघि बढाउने उनले बताए।

विदेशमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउन र मध्यपूर्वको लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्नेसमेत उनको बताए।

मध्यपूर्वी देशहरू ओमन र कतारले मध्यपूर्व क्षेत्रीय संयोजक पाइसकेको र अबको पालो युएईको भएको दाबी उनको छ।

सम्मेलन आगामी अक्टोबर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुनेछ। 

प्रकाशित मिति: : 2019-08-05 13:09:30

प्रतिकृया दिनुहोस्