काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा समातिएका एक प्रहरी भन्दै थिए, ‘अख्तिायरले उनलाई प्रमाणसहित पक्राउ गरेको थियो। तर उनी साविति बयान दिने मुडमा थिएनन्, के गर्ने?’
साविति बयान नभएपछि आयोगका कर्मचारी अलमलमा परेका थिए।
‘यसो भए पोलिग्राफ गरौं’, अख्तियारका एक कर्मचारीले उपाय निकाले।
झुट पत्ता लगाउने मेसिन अर्थात वैज्ञानिक प्रविधि पोलिग्राफ।
‘तपाईंलाई पोलिग्राफ गर्छौ, हुन्छ?,’अख्तियारका कर्मचारीको प्रश्नमा उनले सहमत जनाए।
अभियुक्तले सहमति नदिएको भए पोलिग्राफ टेस्टको च्याप्टर नै क्लोज हुन्थ्यो।
पोलिग्राफ टेस्ट अभियुक्तको सहमति बिना कसैलाई पनि गर्न कानुनले बन्देज गरेको छ।
पोलिग्राफ निर्देशिका २०७० मा आन्तरिक तथा कारबाहीको अनुसन्धानमा कुनै पनि प्रहरी कर्मचारीलाई विभागीय कारबाही र स्वयम् आफैंले पोलिग्राफ परीक्षण गराइपाउँ भनी निवेदन दिएको आधारमा पोलिग्राफ परीक्षण लिन सकिने प्रावधान राखिएको छ।
उनको सहमति अनुसार उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुर्याइयो।
आयोगको आफ्नै पोलिग्राफ प्रयोगशाला छैन। सबै कुरा तय भएपछि उनका लागि तयार पारिएका केही प्रश्न सोधिए। त्यसै मध्ये एक थियो-तपाईले घुस लिनुभएको हो?, उनले ‘होइन,’ भन्ने जवाफ दिए।
तर पोलिग्राफ टेस्टमा नेगेटिभ रिजल्ट आयो। अर्थात उनले झुट बोले।
पछिल्लो समय अख्तियारले घुस प्रकरणमा नियन्त्रणमा लिएका अभियुक्तले इन्कारी बयान दिएको खण्डमा पोलिग्राफ गर्दै आएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए। ‘इन्कारी बयान दिए। तर, प्रमाणले अर्कै भन्छभने हामी पोलिग्राफको लागि प्रहरी कहाँ पठाउँछौं।’
महानगरीय प्रहरी कार्यालयमा पछिल्लो समय सबैभन्दा धेरै घुस लिएको अभियोगमा पक्राउ परेका व्यक्तिको पोलिग्राफ गरिँदै आएको छ।
आर्थिक वर्ष २०७५/७६ मा ३२ जना अभियुक्तलाई घुस लिएको विषयमा पोलिग्राफ गरिएको छ। एक वर्षमा ७८ जनाको पोलिग्राफ भएको छ।
‘पछिल्लो समय घुस प्रकरणमा जोडिएका विषयमा धेरै पोलिग्राफ भएका छन्। हामी मञ्जुरी लिएर मात्र पोलिग्राफ गर्छौ’, महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीलले भने।
महानगरीय प्रहरी कार्यालय र प्रधान कार्यालसहित देशभर १४ स्थानमा पोलिग्राफ हुँदै आएको छ।
उपत्यकामा प्रहरीले लिएको पोलिग्राफमा अधिकांशले झुट बोलेको पाइएको छ।
७८ जना मध्ये ३६ जनाले झुट बोलेको प्रहरीको तथ्याङ्क छ। परीक्षणमा सहभागीमध्ये २९ जनाले साँचो बोलेको भेटिएको छ। अहिलेसम्म ३ जनाले पोलिग्राफ गर्न मानेका छैनन्। पाँच जनाको परीक्षण हुन सकेको छैन। एक जनाले स्वीकार गरेका छन्।
प्रहरीको विभागीय कारबाही, भष्टाचार, घुस र रिसवत लिएको, चोरी, कर्तव्य ज्यान, सवारी ज्यान, साइबर अपराध लगायतका विषयमा अभियुक्तहरुको पोलिग्राफ हुनेको गरेको छ।
गएको आर्थिक वर्षमा जवर्जस्ती करणीमा १५ जनाको पोलिग्राफ भएको थियो। जसमा पाँच जनाले झुट र ६ जनाले सत्य बोलेका थिए। तीन जनाको विभिन्न कारणले परीक्षण नै हुन सकेन।
चोरीका घटनामा पनि ११ जना अभियुक्तको पोलिग्राफ भएको छ। जसमा ६ जना महिलासमेत छन्।
१४ जनाले सत्य र १ जनाले झुट बोलेको पोलिग्राफ टेष्टले देखाएको थियो।
अपराधिक घटना जटिलता पैदा भएपछि नेपाल प्रहरीले ६ वर्षअघि पोलिग्राफ टेस्ट परीक्षण विधि भित्र्याएको थियो।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०७० माघ २३ गतेबाट पोलिग्राफ परीक्षण गर्न सुरु गरेको हो। पहिलो वर्ष २ सय २५ जनाको पोलिग्राफ भएको थियो। आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६७ पुग्यो यो संख्या। २०७२/७३ मा ३ सय ९१ जनामाथि यसको परीक्षण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।
२०७३/७४ मा पनि यो सङ्ख्या झनै बढेर ५ सय ४३ पुग्यो। आर्थिक वर्ष २०७४/७५ मा ५ सय ५६ पुग्यो।
अदालतले भने पोलिग्राफ टेष्टलाई मान्यता दिएको छैन। प्रहरीले आफ्नो अनुसन्धानको घेरालाई साँधुरो बनाउन मात्र पोलिग्राफ टेष्ट गर्दै आएको छ।
१३ वर्षीय निर्मला पन्त हत्या–बलात्कारको घटनामा पनि पोलिग्राफ टेष्ट भएको थियो। प्रहरीको शंकाको घेरमा रहेका चक्रदेव बडुको पनि टेष्ट गरिएको थियो। टेष्टमा बढुको रिजल्ट पोजेटिभ आए पनि उनी अन्य कारणले गर्दा अनुसन्धानबाट बाहिरिएका थिए।
के हो पोलिग्राफ टेस्ट ?
पोलिग्राफ एक मेसिन हो। कुनै व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसलाई सेन्सरद्वारा यो मेसिनसँग जोडिइन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ।
त्यसपछि व्यक्तिको रक्तचाप, मुटुको धड्कन्, श्वास एवम् हृदयको गति र शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिन्छ । यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ। परिक्षण गरिने मानिससँग ६ वटा सेन्सर जोडिएको हुन्छ ।
परिक्षणमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढाव आदि रेकर्ड गरिन्छ।
कसरी गरिन्छ?
सुरुमा तपाईंको नाम के हो, आमा बुबाको नाम के हो, घरको ठेगाना, तपाईंका सही उमेर को हो भनेर सोधिन्छ । त्यसपछि फेरि जुन कारणले पोलिग्राफ टेस्ट गरिएको हो त्यो मुद्दामा आएर प्रश्न सोधिन्छ ।
प्रश्नोत्तरको यो पुरै प्रक्रियामा व्यक्तिबाट आएको तरंगलाई मेसिन मुभिङ पेपर -ग्राफ) मा रेकर्ड गरिन्छ ।
प्रश्नोत्तरको प्रक्रिया पुरा हुन भन्दा पहिले र पछि पोलिग्राफ परीक्षकले ग्राफको जाँच गरेर कुन प्रश्नको उत्तरमा व्यक्तिबाट आएको तरंग परिवर्तन भएको छ भन्ने हेर्छ ।
यसमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढावबाट व्यक्तिले झुट बोलेको वा नबोलेको पत्ता लाग्छ ।