पहिलो अन्तर्राष्ट्रिय महिला खेलाडीको कहानी: चीनमा रातारात कट्टु सिलाइयो (भिडियो रिपोर्ट)

कमल राणा । तस्बिरः देवकी विष्ट

२०१७ सालमा नेपाली टेबल टेनिस टोली चीनको भ्रमणमा निस्कँदा पहिलो पल्ट महिला खेलाडी पनि सहभागी गराइएको थियो। त्यो टोलीमा ६ पुरुष खेलाडीसँगै २ महिला पनि सहभागी थिए। महिला खेलाडीमा पनि एक विवाहित थिइन्। त्यसैले नेपालबाट ८ सदस्यीय टोली चीन जाँदा सबैको ध्यान केन्द्रित थियो, तिनै विवाहितातर्फ।

कमल राणा, २०१७ सालमा चीन गएको टेबल टेनिस टोलीमा पर्सिया राणासँगै नेपाली टोलीमा समावेश थिइन्। तर, पर्सियाभन्दा उनको चर्चा बढी थियो।

कारण, एक त उनले लगातार तीनपल्ट राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिलातर्फको उपाधि जितेकी थिइन् भने अर्कोतर्फ उनी विवाहित महिला खेलाडीका रूपमा चीनको भ्रमण गर्दै थिइन्।

यो पनि हेर्नुहोस्

आत्मियता छ र त जीवन सुन्दर छ (भिडियो रिपोर्ट)

चीनमा नेपाली खेलाडीको भब्य स्वागत भयो। कमल पेन्ट र कुर्ता सलवार बोकेर गएकी थिइन, प्रतिस्पर्धामा भाग लिन। तर आयोजकले कुर्ता सलवारको कुरै छौडौं, पेन्ट लगाएर पनि खेल्न दिएनन्। उनलाई परेछ फसाद।

किनभने त्यसअघिसम्म नेपालमा आयोजना भएका सबै प्रतियोगिता उनले कुर्ता सलवार र पेन्ट लगाएरै खेलेकी थिइन्। फेरि, नेपालबाट जाने पुरुष खेलाडीलाई पनि थाहा भएनछ,, महिला खेलाडीले पनि अनिवार्य कट्टु लगाएर खेल्नुपर्छ भन्ने। प्रतियोगिताकै लागि भनेर रातारात कट्टु सिलाइयो। र, भोलिपल्ट अन्य खेलाडीसँगै कमल पनि कभर्ड हलमा उत्रिन्, कट्टुमा।

‘सुरुमा खुब लाज लाग्यो। नेपालमा कहिल्यै छोटो कपडामा नखेलेको,’ ५९ वर्षअघिको कुरा सम्झन्छिन् कमल।

त्यतिबेला नेपाली टेबल टेनिस भर्खर बामे सर्दै थियो। त्यसैले खेल जित्नेभन्दा पनि प्रतियोगितामा सहभागी हुन पाउनु नै भाग्य थियो। २०१७ सालको त्यो घटनापछि करिब २ वर्ष टेबल टेनिसमा सक्रिय भइन्, उनी। त्यसपछि सन्यास लिइन्।

२०१९ सालसम्म खेलमा सक्रिय रहँदा उनले गीता राणा र प्रिन्सेप शाहपछि विवाहित महिला खेलाडीका रूपमा चर्चा बटुलिन्। ‘ट्रिपल क्राउन’ भने कहिल्यै जित्न सकिनन्। उनको ‘ट्रिपल क्राउन’ जित्ने धोको सधैँ अधुरो रह्यो। ‘अहिले पनि मलाई ‘ट्रिपल क्राउन’ जित्न नसकेकोमा थकथक लाग्छ,’ ९२ वर्षे पूर्व अन्तर्राष्ट्रिय खेलाडी भन्छिन्।

श्रीमान मीन शमशेरसँग कमल

वास्तवमा कमल राणाको खेलजीवन बिहेपछि सुरु भएको थियो। २००० सालमा मीन शमशेर राणासँग बिहे हुँदा उनी १५ वर्षकी थिइन्।

दाई ऋषिकेश शाह हकीको राम्रो खेलाडी थिए। यद्यपि घरको वातावरण खेलकुदमय तर उनले सानोमा खेलमा खासै चासो राखिनन्। उनको मावलीपट्टिका हजुरबुवा कट्टर कांग्रेसी थिए। त्यसैले राणाकालमा कांग्रेसी आन्दोलनमा लागेको आरोपमा देशबाट लखेटिनु पर्यो।

त्यसैले कमल ५ वर्षको उमेरमै देश छोडेर दार्जिलिङको लरेन्टो कन्भेन्टमा पढ्न पुगेकी थिइन्। उनीसँग ८ वर्षे दाजु ऋषिकेश पनि दार्जिलिङमै पढ्न बसेका थिए।

मीन शमशेरसँग बिहेपछि मात्र कमल टेबल टेनिस खेलतर्फ आकर्षित भइन्। त्यतिबेला मीन शमशेर आफैँ फुटबलका नामी खेलाडी थिए। मीनभवन खेलकुदका लागि चर्चित थियो। सुरुका दिन कमलले काठको बोर्ड नै बनाउन लगाएर घरमा टेबल टेनिस सिकेकी थिइन्। पछि विदेशी बोर्ड नै झिकाइएको थियो।

‘धेरै पल्ट घरकै बोर्ड लगेर प्रतियोगितासमेत खेलाइयो’, उनी अझैं सम्झन्छिन्।

कमल राना

उनीपछि नेपाली टेबल टेनिसमा उदाएकी रीता शाह(मुखर्जी) र कमलबीच प्रायः प्रतियोगितामा घमासान हुन्थ्यो। कमलले तीन पल्ट लगातार महिला एकलतर्फको उपाधि जितेपछि एकल स्पर्धा नभिड्ने घोषणा गरिन्। र, आफ्नो नाममा कप प्रदान गरिन्।

मीन शमशेरकी आमा, कमलकी सासु आमा

कमल राणा २०१८ सालमा चीनको पेकिङमा आयोजना भएको विश्व टेबल टेनिस प्रतियोगितामा पनि सहभागी भएकी थिइन्। त्यतिबेला नेपाली टोलीमा कमल, रीता र मिनु शाह समावेश भएका थिए।

यतिबेला कमलले क्युबाली खेलाडीलाई हराएर इतिहास रचिन्। विश्व च्याम्पियनसिपमा पहिलो खेल जित्ने उनी पहिलो नेपाली महिला खेलाडी बनिन्।

‘क्युबाकी खेलाडी यति मोटी थिइन्। बल टिप्न जाँदा पनि टाइम लाउँथिन्,’आफ्नो प्रतिद्धन्दीका विषयमा उनी भन्छिन्। कमलले क्युबाविरूद्धको त्यो खेल लगातार २ सेटले जितिन्।

परिवारसँग कमल

यही च्याम्पियनसिप खेल्न नेपाली टोली बर्मा हुँदै चीन पुगेको थियो। बर्मामा पनि नेपाली टोलीको भब्य स्वागत भयो। त्यहाँ नेपालले बर्मेली खेलाडीसँग अभ्यास खेलसमेत खेलेको थियो। बर्मामा भने कमल, रीता र मिनु तिनै जनाले अभ्यास खेल जिते। २०१७ सालमा सुशील शमशेर राणा राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिव नियुक्त हुँदा कमल राणा पहिलो महिला सदस्यका रूपमा परिषद्मा आवद्ध भएकी थिइन्।

 

 

प्रकाशित मिति: : 2019-08-03 07:52:35

प्रतिकृया दिनुहोस्