थबाङ, रोल्पा । मध्य पश्चिम नेपालको पाँच नंम्बर प्रदेश रोल्पा-रूकुमलगायत मगर खाम भाषी क्षेत्रमा मनाईने सबैभन्दा ठूलो पर्व भूमे हो।
यो पर्व हरेक वर्षको असार सक्रान्तीदेखि एक सातासम्म मनाइन्छ। बाली भित्र्याएर बर्खा सुरू भएसँगै यो पर्व थवाङमा सुरू हुन्छ।
पर्व सुरू हुन अगाडि थबाङ्गी युवा/युवतिहरू करिब ४ घन्टाको पैदल दुरी पार गरेर जलजला लेकमा बुकी टिप्न जाने परम्परा छ।
करिब ३६०० मिटर उचाइमा रहेको जलजला क्षेत्रलाई सरकारले भ्रमण वर्ष २०२० का लागि उत्कृष्ट १०० गन्तब्य सूचीमा समेत राखेको छ।
पहिलो दिन जलजला गएर बास बसेका उनीहरू भोलिपल्ट डोकाभरी फूल टिपेर फर्किँदा बिच बाटोमा बास बस्छन्। तेस्रो दिन नाच्दै गाउदै गाउँ फर्किन्छन्।
बुकी ल्याए पछि भूमिको पूजा गर्छन्। बल पूजाका रूपमा भेडाको बलि दिन्छन्।
त्यसपछि सुमधुर स्थानीय परम्परागत बाजाको तालमा ताल मिलाउँदै २२ चाला नाच्दै हप्ता दिनसम्म निरन्तर नाच गानमा रमाउँछन्।
पर्व भरि युवायुवति, महिला/पुरूष गोलाकार भई दुई पङ्तिमा स्थानीय बाजाको धुनमा लयबद्द रुपमा धुमधामले नाच्छन्। परिवारजन, साथीभाइ भेटघाट र मिठो मसिनो खानपिन गर्ने र पाहुनालाई आदर सत्कार गर्दै हर्षोल्लासका साथ मनाउने यो पर्व हेर्दै रहरलाग्दो र जो कोहीलाई नाचौंनाचौं लाग्छ।
दश वर्षे जनयुद्वको उद्गमस्थल ऐतिहासिक थवाङ गाउँ समुन्द्र सतहदेखि २००० मिटर उचाईंमा छ। गाउँमा ‘थवाङ्गी मगर सामुदायिक होमस्टे’ सञ्चालनमा छ। त्यहाँका आठ घरमा पाहुना बसोबास गर्न मिल्छ।
यहाँ स्थानीय लोकल खानपिनका परिकार र वासको राम्रो व्यवस्था छ। साथै स्थानीय सांस्कृतिक नाँचगान पनि हेर्न पाईन्छ ।
राजनीतिक हिसाबले विश्वभर चर्चामा रहेको थबाङको आफ्नै परिचय छ। इतिहासमा कैयौं पटक अन्याय र असमानताविरूद्ध थबाङी जनताले राज्यसँग बिद्रोह गरिरहे। त्यसैले होला थबाङलाई ‘बिद्रोही गाउँ’ भनेर पनि चिनिन्छ।
थबाङ गाउँ सुन्दर छ। गाउँ जति सुन्दर छ, यहाँका मगर बाहुल्य स्थानीय त्यतिनै मिलनसार, आत्मीय र शान्तिप्रिय छन्। मेहनत, मेलमिलाप र एकता नै थबाङको पछिल्लो परिचय हो ।
सुरक्षाको दृष्टीले युद्वभरी पर्व, नाँचगान कमै देखिने यो क्षेत्रमा विस्तृत शान्ति सम्झौतापछि लोप हुन लागेको सांस्कृतिक नाँच र गीतहरू १८ मगरात क्षेत्रका गाउँ बस्तिमा फेरि गुन्जन थालेको छ।
कसरी पुग्नेः
काठमाडौंबाट रोल्पाको लिवाङसम्म बस या माईक्रो यात्रा १२ घण्टा। लिवाङवाट धवाङहुँदै पेवा साढे २ घन्टा जिप यात्रा, ओख्रेनी-धरमपानीहुँदै जलजलासम्म ५ घण्टा पैदलमार्ग।
त्यसैगरी सुलिचौरबाट जेलबाङ साढे दुई घण्टा जिप यात्रा, जेलवाङबाट सुल्काबाङ हुँदै जलजला ५-६ घण्टा।
जलजलादेखि ४-५ घन्टा थवाङ पैदलमार्ग।त्यसैगरी थवाङवाट मिरुल हुदै लिवाङ ७ घण्टा जिप यात्रा या घोराहि बाट घर्तिगाउँ शहिद मार्ग हुदै ८-९ घण्टा वस यात्रामा काठमाण्डौ पुगिन्छ । सुलिचौर , उवा हुदै जिपमा थवाङ जान सकिन्छ। त्यसैगरी वुर्तिबाङ मध्य पहाडी लोकमार्ग रूकुम (पूर्व) को लुकुम, काँक्री खावाङ बगर, महतहुँदै थबाङ पुगिन्छ।