मुगुकाे भूगाेलमा बहुलता भेटिन्छ। जिल्ला हिमाली भएपनि हुलिया तराईको जस्ताे छ। वरिपरि हिमाल र पहाडले घेरिएकाे काँसकाे कचाैरा जस्ताे मुगुको गहिराे भाग तराई हाे भन्दा अर्काे अर्थ नलाग्ला! किनभने हिमाली जिल्ला मुगुको गहिराे ढाेबमा आँप फल्छ। त्यहाँबाट थाेरै उकालो लाग्याे भने सुन्तला र स्याउ खाने ठाउँ पुगिन्छ। एक जिल्लामा एक/दुई घण्टाकै पैदल यात्राकाे दाैरानमा यस्ताे विविधता भेटाउन सकिन्छ। यसले मुगुकाे भूगाेलसँगकाे सामीप्यताले मात्रै पनि नेपाल घुमेकाे अनुभूति गर्न सकिन्छ।
याे लेखमा भने कर्णाली प्रदेशकाे प्रसिद्ध तीर्थस्थल मुगुको छायानाथ धामकाे बारेमा मात्रै चर्चा गरिनेछ। जाे धार्मिक तथा साहसिक पर्यटनका आकर्षक गन्तव्य बन्ने निश्चित प्राय छ। मात्र यसकाे प्रचारप्रसारकाे अभाव खड्किरहेकाे छ।
छायानाथ रारा नगरपालिका- २ चैन गाउँको छायानाथ मन्दिरमा रहेको शिवजीको 'गाथ' पुजारीले बोकेर बाजागाजासहित सुरक्षाकर्मी अघिपछि लगाई शंख ध्वनी बजाएपछि छायानाथ धामकाे तीर्थयात्रा प्रारम्भ हुन्छ। मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु गाउँको हिमालकाे काखमा अवस्थित छायानाथ मन्दिरमा चैन गाउँबाट शिवजीको गाथ दिने परम्परा छ।
हरेक वर्षको श्रावण शुक्लपक्ष, अष्टमी तिथिदेखि जनैपूर्णीमामा पाँच दिनसम्म प्रसिद्ध धार्मिक तीर्थस्थल छायानाथ मन्दिरमा शिवजीको गाथ अर्थात् ठाकुरज्युको मूर्ति लगेर पवित्र तीर्थयात्रा प्रारम्भ हुने गरेको छ। यसका विविध सांस्कृतिक पक्षहरुबारे स्थलगत अध्ययनका लागि याे समय सबैभन्दा उत्तम मानिन्छ।
कर्णाली प्रदेशमा मष्टाे परम्पराकाे सुरुवातदेखि हालसम्म चलिआएकाे तीर्थयात्रामा ब्रेक लागेकाे छैन। छिमेकी राष्ट्र भारत र तिब्बतबाट समेत याे क्षेत्रकाे भ्रमण हुने गरेकाे छ। सँगै मुगुसहित कर्णालीका हुम्ला, जुम्ला, कालिकोट, दैलेख, बाजुरा, डोल्पालगायत १५ जिल्लाबाट धामी, झाँक्रीसहित जनैपूर्णीमामा छायानाथ दर्शन गर्न लर्को नै लाग्ने गरेकाे भेटिन्छ। उक्त समयमा गमगढीदेखि छायानाथसम्मै मानिसहरुकाे भीड लाग्ने गरेका दृश्यहरु मुगेवासीले सदियाैंदेखि देख्दै आएका छन्।
कसरी पुगिन्छ छायानाथ ?
सबैतिरबाट सुरुमा जम्मा हुने ठाउँ सदरमुकाम गमगढी बजार हाे। बजारबाट मुगु कर्णाली नदीको किनारै किनार भएर छायानाथ धामसम्म पुग्न सकिन्छ। बिस्तारै हिँडे तीन दिन र छिटाे हिँडे दुई दिनमा पुगिने छायानाथमा मष्टाे परम्परामा देउताका धामीले देखाउने अनेक खालका रंगहरु(कला) देखिन्छ। उक्त दृश्यले जाेकाेहीकाे ध्यान खिच्छ।
बाटाेमा घाट, भट्टडाँडी गाउँ, लुम्स, छाइल, माग्री, पुलु, तिहारबगर, चितै कुनालगायत गाउँ र ठाउँ भेटिन्छन्। जहाँकाे भाैगाेलिक विविधता र मानवीय चालचलन अध्ययनका विषय बन्न सक्छन्। कठिन खालकाे दैनिकीलाई सहज बनाई बसेका चितैवासी छायानाथकाे प्रवेशद्वार बनि बसेका छन्। त्यहीँबाट एक छकल्यामै छायानाथ गाथ पुग्न सकिन्छ।
कति तीर्थालु तिहार बगरबाट किम्री परलोक हुँदै छायानाथ पुग्ने गरेका छन् भने कति चितै गाउँ भएर जाने गरेका छन्। जताबाट गएपनि बाटाे उस्तै हो भने समय थाेरै फरक लाग्छ। गमगढीदेखि चितै गाउँसम्म बाटोमा हाेटेलकाे बन्दाेबस्त हुँदा यात्रुहरुले खान बस्नकाे समस्या बेहाेर्नु पर्दैन। तर, भीड अत्यधिक हुने हुँदा कति तीर्थयात्रीले थलामा बासकाे बन्दाेस्त आफैं मिलाउँछन्।
प्राय: तीर्थयात्रीले आफूलाई आवश्यक पर्ने सरसामान आफैं लिएका हुन्छन्। यही समय सहासिक यात्रा गर्नेका लागि पनि उपयुक्त मानिन्छ। जताततै हरियाे हुने हुँदा मन् चंगा बनाउन पनि कर्णालीका अल्का लेखमा घुम्नु उपयुक्त मानिन्छ।
अस्थाका धराेहर देउताहरु अल्का लेखमा, गहिरा ढाेबमा, हियान चुलीमा, पुरी पाटनमा भेटिन्छन् भन्ने मान्यता छ। त्यहीँबाट उनीहरुले सिंगाे कर्णालीकाे रक्षा गरेका छन् भनी विश्वस्त छन्, कर्णालीवासी।
बाटाेमा सुविधासम्पन्न पसलकाे व्यवस्था नहुँदा आफ्नाे लागि चाहिने सरसामान आफैं बाेक्नु सबैभन्दा उत्तम उपाय हाे। सकेसम्म समूहमा यात्रा गर्नु अविस्मरणीय हुनेछ भने यस्ताे यात्रा गर्नेले टेन्ट, सिलिपिङ ब्याक, छाता, रेनकोट, बिस्कुट, सातु, चाउचाउ, चिउरा, जुसलगायत सुख्खा खाद्य सामग्री आफैं बाेक्नु राम्राे। तीर्थयात्रामा निस्कनेले यसका अलबा घण्ट, धजा, फूल, अक्षेतालगायत खानेकुरा बोकेर हिँड्नु झन् राम्राे।
साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य
छायानाथ पुग्न सास फुल्लिने उकालो चड्नुपर्छ। मन्दिर समुद्र सतहदेखि करिब ४५ सय मिटरको उचाइमा अवस्थित रहेकाले त्यहाँ पुगुन्जेल कतिलाई लेक पनि लाग्छ। त्यसैले यस्ताेबेला अमिलाे र पिराे खाना उपयुक्त मानिन्छ। जाेखिमकाे बिच बर्खामा लेख चड्नु स्वास्थ्यका दृष्टिकोणले पनि उपयुक्त छ।
पाँच हजार मिटरकाे उचाइमा सधैं हिउँ जम्छ। ४५ सय मिटरकाे उचाइ भनेकाे हिम रेखा हाे। असार साउनमा समेत हिउँ देखिने यस क्षेत्रकाे पैदल यात्रा राेचक र अविस्मरणीय बनाउने काम छायानाथ वरपर ढुंगे मन्दिर, चुन बुकी, विभिन्न रंगका हिमाली फूल फुल्ने गर्छन्। तीनबाट आउने बासनाले गर्छ। गीतै छ।
पटन घाेडी खिलखिलाउँदी बुकीका बासले।
काँ छियनँ काँसम्म आयाँ, हजुरकन आशले।।
यी सबै कारण छायानाथमा पुगेपछि सबै खाले थकान आफैं मेटिन्छ भने शरीर फूर्तिलो भएकाे महसुस हुन्छ। धार्मिक यात्रामा निस्कनेहरु देउताका शक्तिले तीर्थालुलाई कुनै चोटपटक लाग्दैन र तीर्थालु बिरामी पनि हुँदैनन् भनि विश्वास गर्छन्।
धार्मिक मान्यता
प्राचीन कालमा शिवकाे शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेको सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा उक्त स्थान तीर्थस्थलकाे रुपमा परिचित हुन गएको जनबाेली छ।
छिमेकी राष्ट्र भारतमा बद्रीनाथ, केदारनाथ, छन् भने मुगुमा छायानाथ पर्दछ। छायानाथमा तीर्थयात्रीले मागेको बर प्राप्त हुन्छ भन्ने जनमानसमा छाप परेकाे छ। त्यसैले नि:सन्तान दम्पतीले छायानाथमा पुगेर बर माग्दा सन्तान प्राप्त हुने विश्वास गर्छन्।
एक जनाले आफ्नाे जीवनकालमा तीन पटकसम्म छायानाथ दर्शन गर्न सक्यो भने चिताएको बर पाइने अमिट छाप छ। त्यसैले पाका उमेर समूहका मानिसले समेत छायानाथ तीर्थयात्रा बढी गरेकाे भेटिन्छ।
वर्षकाे एक पटक मात्रै गुल्जार
छायानाथ वर्षकाे एकपल्ट मात्रै गुल्जार हुने ठाउँ हाे। श्रावण शुक्लपक्ष, अष्टमी तिथीदेखि जनैपूर्णीमामा ५ दिनसम्म मात्रै याे मष्टाे परम्परा मान्नेहरुकाे आवतजावत हुने गरेकाे छ। विशेषगरी देउतामा धामी डाँग्रीहरुले बर माग्ने, छापविदाे लिने, घण्ट, मालाहरु चोख्याउने आदि गर्छन्।
छायानाथमै गाडी पुगाउँदा पवित्र धार्मिक स्थलकाे गरिमा घट्न जान्छ। तर, आसपासका गाउँमा माेटरबाटाे पुग्याे भने पिठ्यूमा गह्रुँगो झोला, हातमा लैरी र छाता बोकेर यात्रा गर्नुपर्ने बाध्यता रहिरहँदैन।
कम्तिमा चिठैसम्म माेटरबाटाे पुगाउन सकेकाे खण्डमा पर्यटकका लागि सदाबहार, गन्तव्य बन्न सक्ने सम्भावना बलियाे देखिन्छ। त्यसैले सदाबहार गुल्जार बनाउने गरी लागेकाे खण्डमा छायानाथकाे गरिमा ह्वात्तै बड्नेमा दुईमत छैन।