शनिबार, २७ डिसेम्बर २०२५

मुकुलकै पथमा विपिनः विधि बनाउँदै, मिच्दै

News Image
• • •

एक समय थियो रास्वपाभित्र सभापति रवि लामिछानेको आडमा तत्कालिन महामन्त्री मुकुल ढकालको रजगज चल्थ्यो, पार्टीमा उनी जे चाहन्थे त्यही हुन्थ्यो। त्यसो त मुकुल रास्वपाको विधिभन्दा माथि थिए। कतिसम्म भने ०७९ को निर्वाचनमा समानुपातिकतर्फको सूची तयार पार्दा विधि पद्धति र प्रक्रिया मिचेर आफूनिकट दुईजना उम्मेदवारलाई सांसदै बनाइछाडे।

मुकुलको उक्त विधिविरुद्धको कार्यको विरोध नभएको भने होइन। पार्टीभित्रै उतिबेलै चर्को विरोध भएको थियो। नेता गणेश कार्कीले मुकुलले गुरुआमा र प्रेमिकालाई सांसद बनाएको आरोप लगाएका थिए।

मुकुलले रास्वपालाई ‘जान्नेलाई छान्ने’ होइन ‘गुरुआमा र प्रेमिका’लाई छान्ने बनाएको रास्वपा नेताहरूले आरोप लगाएका थिए।

मुकुलको कार्य गलत थियो भन्ने पछि उनी आफैंले पछि पुष्टि गरे। कतिसम्म भने रास्वपा सरकारमा जाँदा मन्त्रालय नै आफ्नै नियन्त्रणमा राख्ने प्रयन्त गरे। रवि निकट एक नेता भन्छन्, ‘उनको महत्वाकांक्षाले तिव्रता पाउँदा सभापति रविभन्दा पनि आफूलाई माथि राख्ने प्रयास गरे। अन्ततः आफैं पतन भए। हुँदा हुँदा मुकुल रास्वपाका लागि दुर्भाग्य नै बने।’

यतिबेला रास्वपामा अर्को गाईंगुईं चलिरहेको छ– मुकुल ढकाल भाग २। रविले मुकुललाई जसरी नै पार्टीको सारा संरचना र तालाचाबी सुम्पिएका वर्तमान सहमहामन्त्री विपिन आचार्यलाई नेताहरू मुकुलको दोस्रो रुपको संज्ञा दिन थालेका छन्।

अहिले उनी पार्टीभित्र हर्ताकर्ता छन्। सहमहामन्त्री भए पनि उनी पहिले मुकुल जुन हर्ताकर्ता थिए सोही स्थानमा छन्।

रास्वपाले उम्मेदवार छनोटमा नयाँ विधि अपनाएको छ। पार्टीका सक्रिय सदस्यहरूबाटै प्राइमरी इलेक्सनमार्फत छान्ने प्रक्रिया अपनाएको छ। यो विधि अन्तर्गत साढे ४ सय आकांक्षीहरू थिए। 

रास्वपाको स्लोगन नै छ ‘जान्नेलाई छान्ने’। सोही अनुसार उसले विभिन्न प्रक्रियाबाट उम्मेदवार छनोट गरिरहेको छ। छनोटको ड्राफ्ट तयार गर्ने नै विपिन हुन्। पार्टीले उनैलाई संयोजक बनायो, प्रश्नपत्र तयार पार्ने उनी नै थिए।

तर, समानुपातिक उम्मेदवार चयनको प्रक्रिया सुरु भएपछि एउटा अनुमान नै नगरेको नाम आकांक्षीको सूचीमा देखियो, त्यो थियो स्वयं विपिन आचार्य। जसले प्रश्न बनायो उही उम्मेदवार बनेपछि अन्य आकांक्षीले ‘म्याच फिक्सिङ’को आरोप लगाएका छन्।

आकांक्षीहरू मात्रै होइन, नेताहरू तोसिमा कार्की, गणेश कार्की, पुकार बमलगायत नेताहरूले नै यसबारे प्रश्न उठाएको नेताहरू बताउँछन्। ‘जसले प्रश्नपत्र बनायो उही परीक्षामा?’ भन्दै नेताहरूले असन्तुष्टि जाहेर गरिरहेका छन्।

प्रश्न उठेपछि विपिनले उम्मेदवार छनोट संयोजकबाट राजीनामा दिन्छन्, र आफैं प्रतिस्पर्धाका लागि मैदानमा उत्रिन्छन्। सामान्य नैतिकता देखाउँदै प्रतिस्पर्धाबाट ब्याक हुन अन्य आकांक्षीहरूले गरेको आग्रहलाई उनले बेवास्ता गरिरहेका नेताहरू बताउँछन्।

प्रतिस्पर्धीहरू विपिन रविका विश्वासपात्र भएकोले खुलेरै विरोध गर्न नसकेपछि भित्रभित्रै चर्को रुपमा असन्तुष्ट छन्। यसले उम्मेदवार छनोटको विश्वसनीयतामै उनीहरूको आशंका छ।

रास्वपा नेताहरूका अनुसार रास्वपामा विपिनको स्थान हिजो मुकुलकै स्थानमा छ भलै उनी सहमहामन्त्री मात्रै हुन्। रास्वपाको पुरै सिस्टम उनको नियन्त्रणमा छ। उम्मेदवार छनोटको प्राविधिक पक्ष सबै उनकै नियन्त्रणमा छ।

अझ यतिबेला भोटिङ एप नै नचलेपछि उम्मेदवारहरूमा अर्को आशंका जन्मिएको छ कतै विपिनको म्याच फिक्सिङ त होइन? एक आकांक्षी भन्छन्, ‘यो सिस्टम जान्नेलाई छान्ने होइन जो तिकडम गर्न सक्छ उसैलाई छान्ने पो रहेछ।’

रास्वपमामा विपिनको रजगज बढेपछि असन्तुष्ट नेताहरू उनी मुकुल ढकाल भन्दा पनि तिव्र महत्वाकांक्षी देखिएको बताउँछन्। मुकुल शक्ति केन्द्रीत गर्न तिव्र महत्वाकांक्षी देखिए पनि संगठन विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको नेताहरू बताउँछन्। तर, रविका आर्थिक साझेदार विपिनसँग स्रोत व्यवस्थापन र परिचालन बाहेक पार्टी चलाउने योग्यता नभएको उनीहरूको दाबी छ।

‘रवि लामिछानेलाई बदनाम गर्न जति मुकुलको योगदान छ भोलि मुकुलको स्थानमा विपिन देखिन्छन्। हामीले बेलैमा सचेत हुन भनिसकेका छौं तर पार्टी नेतृत्वले महत्व दिएको छैन। विपिनको महत्वाकांक्षामा बेलैमा लगाम लगाउन सकिएन भने पार्टीलाई पतनको दिशामा पुर्‍याउने निश्चित छ,’ एक नेता भन्छन्।

ती नेता थप्छन्, ‘बरु मुकुल हर्ताकर्ता हुँदा पनि आफू सांसद बन्न चाहेनन् तर उनमा स्वार्थ नदेखिएको भने होइन। सांसद छनोटमा प्रश्न उठेकै हो। तर, विपिन त अझै बढी महत्वाकांक्षी देखिए। अहिले आफू स्वयं र प्रेमिकालाई अघि सारेर मैदामा उत्रिएका छन्।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!