चार्ज गरेको मोबाइल चलाउँदा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु

मोरङको लेटाङ नगरपालिका–३ त्रिशूली चोकमा मोबाइल चार्जमा राखेर गेम खेलने क्रममा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु भएको छ।
बिहीबार बिहान सवा १ बजेतिर पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको करेन्ट लागेर मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवै जना एउटै खाटमा सुतेको बेला शौजनलाई चार्ज गर्दै मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।

खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्कासी छटपटाउन थालेपछि बुवा–आमालाई बोलाएका थिए।

चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ। करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो।

घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ।

प्रहरीले कुन गेम खेल्दा घटना भएको हो भन्ने बारेमा नखुलेको र घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

 

प्रकाशित मिति: : 2019-08-01 22:08:22

प्रतिकृया दिनुहोस्