भारतमा प्रहरीले चिट काटेपछि बिजुली कर्मचारीले चौकीकै लाइन काटिदिए

Agency

भारतको उत्तर प्रदेशमा अनौठो घटना हुनुलाई नौलो मानिदैन्। तर पनि गत मंगलबार सबैलाई रमाइलो लाग्ने एउटा घटना भएको छ। जसले उत्तर प्रदेशको सरकारी सयन्त्रको पोल खोलेको छ।

मंगलबार बिजुली अफिसमा कार्यरत एक कर्मचारीले चलान काटेको निहुँमा पुलिस चौकीको लाइन नै काटिदिएका छन्।

चौकीले यसअघि ६ लाख बराबरको बिल भुत्तान गर्न बाँकी थियो। सोशल मिडियामा यो विषय सार्वजनिक भएपछि राज्य सरकार सक्रिय भएको थियो। केही घण्टा अध्यारोमा बसेका प्रहरीहरूले राती कनेक्सन जोडिएपछि राहत महसुस गरेका थिए।

मंगलबार दिउँसो लगभग ३ बजे फिरोजाबादको लेबर कोलोनीबाट मोटरसाइकलमा गइरहेका बिजुली अफिसका लाइनम्यानलाई प्रहरीले चेकिङमा रोकेको थियो। उनी हेलमेट नलगाइ मोटरसाइकल कुदाइरहेका थिए। चौकी इन्चार्जले उनलाई ५ सय रुपैयाँ जरिवाना गरेर छोडेका थिए।

यो घटनाबाट क्रोधित लाइनम्यानले अफिस पुगेर आफ्नो हाकिमलाई जानकारी गराएका थिए। हाकिमकै सहमति अनुसार साँझ ५ बजे पुलिस चौकीको लाइन काटिदिएको थियो।

घटनाको अभियुक्त मानिएका श्रीनिवासले बिल भुत्तान नगरेको कारण हाकिमको आदेशमा लाइन काटिएको बताएका छन्।

लाइनम्यानले ४ महिनादेखि तलब नपाएको र आर्थिक अवस्था कमजोर भइरहेको बेला चलान काटेकोमा प्रहरीलाई प्रत्युत्तर दिएको बताइएको छ।

 

प्रकाशित मिति: : 2019-08-01 15:55:39

प्रतिकृया दिनुहोस्