मन्त्री साहले दिए तिलाठी कोइलाडी गाउँपालिकामा तीन थान डुङ्गा

तस्बिरः बिएल

जनकपुर । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थान डुङ्गा उपलब्ध गराएका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराएका हुन्।

मन्त्री साहले बाढी प्रभावित क्षेत्रमा पुगेर तिलाठी कोइलाडी गाउँपालिका वडा नं ४ बनरझुला र टिकुलियामा एक, एक र वडा नं ५ चट्टीटोलमा एउटा डुङ्गा स्थानीय बासिन्दालाई हस्तान्तरण गरे।

वर्षा र बाढीका कारण सप्तरी जिल्लाको अति बिकट मानिएको तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका बस्ती प्रत्येक वर्ष सामान्य वर्षा भएका बेलामा पनि डुबानमा पर्दै आएको छ ।

वर्षा हुनेबित्तिकै खाँडौखोला, कोशी नदीको सिपेजको पानी र जिता नदीको बाढीका कारण स्थानीय बासिन्दा डुबानमा पर्दै आएका छन् ।  स्थानीयवासीले आवतजावत गर्न सास्ती खेप्नु परेकाले सहज र सुरक्षित रहनको लागि सो गाउँपालिकामा डुङ्गा प्रदान गरेको मन्त्री साहले बताए।

करीब दुई साता अगाडि वर्षासँगै आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालय डुबाउनुको साथै सो गाउँपालिकाका अधिकांश वडाका घर डुबानमा परेका थिए ।

प्रकाशित मिति: : 2019-07-31 11:09:38

प्रतिकृया दिनुहोस्