श्रीमान–श्रीमतिको झगडामा मंगलबार ६ वर्षीय नाबालिका घाइते भएकी छन्।
विराटनगर महानगरपालिका–६ ब्रह्मपुराका किसन कामतले आफ्नी ६ वर्षीय छोरीलाई परिवारका सदस्य र गाउँलेको प्रयोग गर्दै प्रहरी कार्यालयको गेटबाटै लैजाने प्रयास गरेपछि यो घटना भएको हो।
सधैं कुटपिट गर्ने र यातना दिने भन्दै श्रीमति सुशीला मण्डल कामत घर छोडेर साउन २ मा इनरुवास्थित दिदीको घर पुगेकी थिइन।
किसनले श्रीमति हराएको भन्दै साउन ९ मा प्रहरीमा निवेदन दिएका थिए।
त्यही विषयमा छलफल गर्न मंगलबार दुवै पक्षलाई बोलाएर प्रहरीले महिला तथा बालबालिका सेलमा छलफल गराएको थियो। छलफलमा दुवै जना अलग्गै बस्ने सहमति भएको थियो। सुशीला आफ्ना बुवा श्रवण मण्डल, भाई वीरेन्द्र मण्डलसहित आफन्त लिएर प्रहरी कार्यालय गएकी थिइन। आफ्नी आमा रेखा कामत र हजुरआमा धनेश्वरी कामतसहित गएका किसनका साथमा भने ठूलै दलबल थियो। किसनको पक्षमा गाउँलेहरु पनि प्रहरी कार्यालय पुगेका थिए।
विराटनगर–६ रामपुर माइती भएकी सुशीलाले ८ वर्ष अघि किसनसँग प्रेम विवाह गरेकी हुन्। छलफलमा दुवै जना अदालतमा गएर कानुनी हिसावमै सम्बन्ध अन्त्य गर्ने सहमतिमा पुगेर प्रहरी कार्यालयबाट निस्किँदै थिए। तर छोरीलाई हातमा समाउँदै सुशीला गेटमा आइपुगेपछि भने त्यहाँ अर्के घटना हुन पुग्यो। किसनको पक्षमा प्रहरी कार्यालयमा पुगेको एउटा ठूलो भीडले ६ वर्षीय नाबालिका छोरीलाई तान्न थाल्यो।
श्रीमती आफूसँग नबसे पनि छोरी भने राख्न पाउनु पर्ने किसनको दाबी थियो। नाबालिका छोरी भने आमा सुशीलातिरै जान बल गरिरहेकी थिइन्। घटना जिल्ला प्रहरीको सीसी क्यामेरा फुटेजमा पनि कैद भएको छ।
सुशीला र किसन पक्षबीच तानातान हुँदा नाबालिक घाइते भएकी छन्। उनको देव्रे हातको नाडीमा गम्भीर चोट लागेकोे प्रहरीले जनाएको छ।
भीडमा रहेकाहरुले सुशीलाका बुवा श्रवण मण्डललाई मार्ने धम्की पनि दिएका छन्।
‘प्रहरी कार्यालयमा छलफलपछि अदालत गएर सम्बन्ध टुँग्याउने सहमति गरेर निस्किएका हामीलाई ठूलो दलबलसहित आएकाले बच्चा खोसेर लैजान्छन् भन्ने नै भएन,’ सुशीलाले भनिन्। सुशीलाले नाबालिका छोरीलाई जवरजस्ती तानेर हात खुस्काइदिएको भन्दै पति किसन, आमा रेखा, हजुरआमा धनेश्वरीसहित घटनामा संलग्नविरुद्ध मंगलबारै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन्।
नाबालिकाको विराटनगरमै उपचार भइरहेको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले नाबालक हुनजेल आमासँग बस्न पाउने भएका कारण बाल अधिकार हनन् गर्ने गरी तानेर नाबालिकालाई घाइते बनाएको विषयमा अनुसन्धान सुरु गरिएको बताए। ‘घटनाका विषयमा जाहेरी परेका कारण गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको छ,’ उनले भने।