नेपालका विकल झा ओमानमा विमान चालकलाई पढाउँछन् (भिडियाे सहित)

तस्बिरः बिएल

जनकपुरका विकल झाले सन् २०१३ मा बेलायतमा विमान व्यवस्थापनको अध्ययन पुरा गरे। 

त्यतिबेला उनीसँग दुईवटा विकल्प थियो। देश फर्किने कि बेलायतमै बसेर काम गर्ने। पढाई राम्रो भएको हुनाले उनलाई बेलायतमै जागिरको प्रस्ताव आएको थियो। उनी उत्साही पनि थिए।
तर उनलाई लाग्यो, दोस्रो विकल्प रोज्नुभन्दा आफ्नै देशमा फर्किएर केही गर्छु। उनी अध्ययन पुरा गरेर नेपाल फर्किए पनि।
नेपालमा पहिले उनले निजी विमान कम्पनी सिम्रिक एयरलाइन्समा ‘सेफ्टी’ व्यवस्थापक पदमा रहेर काम गरे। काम राम्रो थियो। तर, काठमाडौंमा बाच्न उनलाई पैसाले थेगेन्।
यसैबीच अर्को निजी कम्पनी सौर्य एयरलाइन्सले आफ्नो सेवा सुरु गर्यो। उनी आर्थिक अभाव केही सुध्रिन्छ कि भन्दै नयाँ एयरलाइन्समा सरुवा भए। उनले सौर्यमा व्यवस्थापकको भूमिका पाए।
तर, यहाँ पनि उनलाई आर्थिक स्थितिले सतायो।
यसपछि उनलाई बाध्यता पर्यो, आफ्नो आर्थिक अवस्था बदलिन विदेशीने।
‘मलाई खान लगाउन नपुगेको होइन। तर, मेरो अध्ययनसँग तलबको तारतम्य नै कहिल्यै मिलेन। यसपछि मसँग अर्को उपाय रहेन,’ हाल ओमानको एक विश्वविधालयमा अध्यापन गराउने गरेका विकल भन्छन्।
विकल विगत ४ वर्षदेखि ओमानमा रहेको मोर्डन कलेज अफ बिजनेश एन्ड साइन्स विश्वविद्यालयमा कार्यरत छन्।
उनी यो विश्वविद्यालयमा विमान चालकहरूलाई ‘रिक्स म्यानेमेन्ट’ र ‘अपडेटिङ’ कोर्ष पढाउँछन्।
केही दिनअघि ओमनको मस्कटमा भेटिएका झाले विगत सम्झदैं भने, ‘देशको धेरै माया लाग्छ। तर के गर्नु, नेपालको हवाइ क्षेत्रको अवस्था हेर्दा रुन मन लाग्छ।’

उनी ओमानमै अध्यापन गराउने क्रममा दर्जनौं देशहरूमा हवाइसम्वन्धी सेमिनारमा सहभागी भइसकेका छन्। यी सेमिनारमा उनी नेपालको हवाइ क्षेत्रको समस्या उठाउन भुल्दैनन्।
‘नेपालको हवाइ क्षेत्रलाई कसरी सुधार गर्ने भन्ने बारेमा मैले धेरै रिसर्च गरेको छु,’ विकलले बीएल मिडियासँग भने।
उनी हाल यही विषयमा पिएचडी गर्ने तयारीमा छन्। आर्थिक अवस्था सुध्रिढ बनाउन ओमान आएपनि उनको मन नेपालमै छ। भन्छन्, ‘मलाई अझै नेपालमा केही गर्ने इच्छा छ। के गर्नु भनेको जस्तो नहुने रहेछ? दुःख गरेर पढियो, घरखर्च नै नचल्ने भएपछि विदेशीने बाहेक अर्को उपाय रहेन,’ विकलले दुःखेसो पोखे।

ओमानमा उनको मान छ, सम्मान छ। तर, नेपाल फर्किदा विमानस्थलमा हुने व्यवहारले भने उनको मन खिन्न हुँदो रहेछ।

खाडीबाट आउने व्यक्तिहरूलाई विमान कर्मचारीले तल्लो स्तरको व्यवहार गर्छन्। यसले विकलको मन कुडिने रहेछ। ‘बाहिर यति धेरै मानसम्मान छ। विमानस्थलमा उत्रिने वित्तिकै आफू हेपिएको महसुस गर्छु,’ उनले भने।

 

 

प्रकाशित मिति: : 2019-07-30 11:59:03

प्रतिकृया दिनुहोस्