स्पेनमा राेजगारीको प्रलोभन दिएर एकै परिवारका ६ जनासँग २० लाख ठगी

ठगिकाे आराेपी रोशन श्रेष्ठ गैली। बीएल

आकर्षक कमाईको प्रलोभनमा पारेर स्पेन पठाउने नाममा एकै परिवारका ६ जनासँग २० लाख १८ हजार ५ सय रुपैयाँ असुलेर एक युवा फरार भएका छन्।

विराटनगर पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैलीले वैदेशीक रोजगारीका नाममा स्पेन पठाइदिने प्रलोभन देखाएर फरार भएका हुन्। उनी विगत १ वर्षदेखि फरार छन्।

गैलीविरूद्ध सोमबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको हो। ठगिको पुष्टि भएपछि कार्यालयले पक्राउ पूर्जी जारी गर्दै प्रहरी र अन्य सरकारी निकायलाई परिपत्र गरेको छ।

गैलीले झापा बुद्धशान्ति गाउँपालिका–३ का हेमबहादुर माझी, टेकबहादुर माझी, विनोद माझी, अरुण माझी, झापा भद्रपुर नगरपालिका–३ की सीमा तामाङ र इलाम करफोकका अदित तामाङसँग रकम उठाएका थिए।

पीडितहरूले ठगि गरेको पर्याप्त प्रमाणसहित उजुरी दिएको बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बीएल मिडियालाई जानकारी दिए।

उनले भने,‘हामीले उनीविरूद्ध पक्राउ पूर्जी जारी गर्दै देश भरीका प्रहरी कार्यालय र विभिन्न सरकारी निकायमा पठाइसकेका छौं।’

झापा बुद्धशान्तिका लोकबहादुर माझीले पीडितहरु सबै आफ्ना भतिज, नाति र नातिनी पर्ने बताए। श्रम कार्यालयमा भेटिएका उनले आफू धेरै वर्ष स्पेन बसेको र त्यहाँबाट ६ जनाका लागि भिषा लिएर आएको भन्दै प्रलोभनमा पारेर गैलीले ठगि गरेको बताए।

‘सबैलाई बैंक र आईएमईमार्फत रकम जम्मा गर्न लगाइएयो’, ठगिमा परेका लोकबहादुरले भने, ‘दुई महिना भित्रमा विदेश पठाउने भन्दै २०७५ साउनमा सबैसँग पैसा लिए।’

आधा पैसा नेपालमै दिने र आधा स्पेन पुगेर काममा लागेपछि दिनु भन्दै एक जनासँग लगभग साढे तीन लाख रुपैयाँ उठाएको लोकबहादुरको भनाइ छ।

लोकबहादुरले स्पेनको प्रलोभनमा परेर ठगिएका ६ जनानै कोरिया भाषाको परीक्षा दिने तयारीमा थिए।

 

प्रकाशित मिति: : 2019-07-30 00:09:30

प्रतिकृया दिनुहोस्