मोरङको बेलबारी नगरपालिकामा डेंगुको परीक्षण निःशुल्क

बेलबारी स्वास्थ्य चौकी

मोरङको बेलबारी नगरपालिकाले डेंगुको परीक्षण निःशुल्क गरेको छ।

निजी स्वास्थ्य संस्थाले महँगो शुल्क लिएको जनगुनासो आइरहेको बेला नगरपालिकाले आइतबारदेखि परीक्षण निःशुल्क गरेको हो।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यसको संक्रमण हुने गर्छ। नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारी–१ को बेलबारी, ९ को डाँगीहाट र ७ को बाहुनी स्वास्थ्य चौकीमा आइतबारदेखि डेंगु परीक्षण निःशुल्क गरिएको जानकारी दिए। ‘विभिन्न स्वास्थ्य संस्थाले ल्याब परीक्षणका नाममा महँगो शुल्क असुलेको गुनासो आयो। सरकारी स्वास्थ्य संस्थाले पनि निश्चित रकम लिने गरेका थिए,’ उनले भने, ‘अब सर्वसाधारण जनताका लागि नगरभरी डेंगु परीक्षणमा रकम लिइने छैन।’

नगरपालिकाले संक्रमण फैलन नदिन गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको मेयर सुवेदीले जानकारी दिए। ‘दु्रत गति टोली (आरआर टिम) गठन गरेर भाउन्ने, लक्ष्मीमार्ग, बेलबारी, लालभित्ती र थापा चोक लगायतका स्थानका मोटरसाइकल ग्यारेज, पसल, होटल तथा सार्वजनिक स्थलमा सरसफाई कार्यक्रम तीव्र पारिएको छ,’ उनले भने, ‘संक्रमणबाट बच्ने उपायका बारेमा माइकिङ गर्दै प्रचारप्रसार गर्ने काम भइरहेको छ।’

नगरपालिकाले डेंगुको लार्भा खोजी तथा नष्ट गर्ने, औषधि छर्कनेदेखि विभिन्न जनचेतनामुलक कार्यक्रम समेत गरिसकेको नगरपालिकाले बताएको छ।

निजी स्वास्थ्य संस्थाले डेंगु परीक्षण गर्दा एक हजार पाँच सय रुपैयाँ भन्दा बढी शुल्क लिने गरेको गुनासो छ। किट महँगो पर्ने भन्दै सरकारी स्वास्थ्य संस्थाले पनि प्रति संक्रमित ६ सय रुपैयाँसम्म लिने गरेका छन्।

प्रदेश १ का सुनसरी, मोरङ र झापामा डेंगुको संक्रमण दिनप्रति दिन बढ्दो छ। नियन्त्रण र संक्रमितको उपचारमा समस्या भइरहेको छ।

प्रदेश १ सरकारले भने जुनसुकै स्वास्थ्य संस्थाले पनि डेंगु परीक्षणमा ६ सयभन्दा बढी शुल्क लिन नपाउने नियम लागु गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। उनले बढी रकम लिनेलाई कारबाही हुने बताए।

मोरङमा हालसम्म ६८ जनामा डेंगुको संक्रमण फेला परेको छ। ‘डेंगुको संक्रमण दिनप्रति दिन बढ्दो छ,’ जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले भने, ‘नियन्त्रणका लागि स्वास्थ्यकर्मीको विशेष टोली परिचालित छ ।’

 

प्रकाशित मिति: : 2019-07-28 23:43:55

प्रतिकृया दिनुहोस्