आलेखः बाचा मात्रै भए, भेल्छडाको पानी आएन

Agency

डोटी । पन्ध्र सालमा प्रथम आमनिर्वाचन हुँदा डोटी जिल्लाको जैनोली गाउँका नेता शिवराज पन्तले सिलगढीसँगै जोडिएको केलना गाउँको स्थानीय खोलाको पानी जिल्ला सदरमुकाम सिलगढी र डौड गाउँको भेल्छडा खोलाको पानी पश्चिम चौकी ल्याउने वाचा गरे।

उनी चुनाव जितेर मन्त्री पनि भए। उनले कलेनाको पानी जिल्ला सदरमुकाम ल्याउने वाचा त पूरा गर्नु भयो तर, भेल्छडाको पानी पश्चिम चौकी पुर्‍याउने वाचा भने बिर्सिए। त्यसपछिका निर्वाचनहरुमा भेल्छडाको पानी सबैका उम्मेदवारका लागि प्रमुख चुनावी मुद्दा बन्दै गयो तर, कहिल्यै मूर्त रुप लिएन ।

‘शिवराज पन्त मन्त्री हुँदा साबिकको डौड गाउँ तथा हालको सायल गाउँपालिका भेल्छडाको पानी पश्चिम चौकी ल्याउने भन्ने कुरा उठेको थियो, त्यतिबेलादेखि यहाँका बासिन्दाले भेल्छडाको पानीको आशा गर्दैआएका थिए तर, त्यो सपना मात्रै भयो’, डोटी आदर्श गाउँपालिका वडा नं ३ का समाजसेवी चन्द्रदेव पाठकले पुरानो कुरा सम्झिँदै भने, ‘हामीलाई भोट माग्दा सबैले पानी कै आश देखाए तर, वाचा कसैले पूरा गरेनन्।’

जिल्लाको आदर्श गाउँपालिकाको केन्द्र मौवा नगर दहमा अहिले पिउनलाई पनि पानी नभएको भन्दै स्थानीय बासिन्दा नेताहरुप्रति आक्रोशित बनेका छन् । उनीहरु भन्छन् – ‘विसं २०४८ यताका सबै चुनावमा भेल्छडा खानेपानी योजना चुनावी मुद्दा बन्दै आयो तर, कसैले पनि बनाएनन्।’ विसं २०४८ को निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार भक्तबहादुर बलाएरले भेल्छडा खानेपानीको विषय उठाएको सम्झँदै समाजसेवी चन्द्रदेव पाठकले भने–‘बलायरज्यूले तीन/तीन पटक चुनाव जित्नु भयो । मन्त्री पनि हुनु भयो तर पनि, पानी ल्याउने वाचा भने बिर्सिनुभयो।’

तत्कालीन एमालेका उम्मेदवार हर्कबहादुर सिंहले पनि २०६४ सालको निर्वाचनमा भेल्छडाकै नाममा भोट मागेको तर, जितिसकेपछि चार वर्षे कार्यकालमा उनले पनि योजना बनाउन नसकेको आरोप स्थानियवासीको छ। विसं २०७० मा काँग्रेसबाट चुनाव जितेका वीरबहादुर बलायर र २०७४ मा एमालेबाट जितेका प्रेमबहादुर आलेमगरको पनि चुनावी एजेण्डा भेल्छडा नै बन्यो । काम दुबैले नगरेको पाठकको आरोप छ ।

आदर्श गाउँपालिका वडा नं १ का स्थानीयवासी दीपकबहादुर खड्काले अहिले गाउँमा स्थानीय सरकार बनिसकेकाले उक्त खानेपानी योजना स्थानीय सरकारकै पहलमा निर्माण हुनुपर्ने बताए।  उनले भने, ‘अब स्थानीय सरकार बनेको छ । गाउँपालिकाले झिनामसिना योजना बनाउनु भन्दा पश्चिम चौकी क्षेत्रको खानेपानीको समस्या समाधानका लागि ठोस योजना बनाइदिए हुन्थ्यो।’ भेल्छडालाई चुनावी मुद्दा बनाउने पन्त र बलायर द्वय गरी तीन जना मन्त्री पनि भए। सिंह चार वर्षसम्म संविधानसभा सदस्य थिए भने आलेमगर अहिले सङ्घीय सांसद छन्। भेल्छडा योजना भने जहाँको तहीँ छ। 

आदर्श गाउँपालिका–१ का अर्का स्थानीयवासी कृष्णबहादुर खड्काले भने, ‘वर्षात्को समयमा यता उताको खोलामा पानी फुट्छ र अलि सजिलो हुन्छ तर, फागुनदेखि असारसम्म त निकै दुःख छ । हामीलाई अरु केही हैन खानलाई पानी भए पुग्छ।’

चुनावका बेला नेताहरुले पश्चिम चौकीको खानेपानी योजनालाई राजनीतिक मुद्दा मात्रै बनाउने गरेको उनको आरोप छ । पानी नभएकै कारण उद्यम गरी खान पनि समस्या भएको त्यहाँका स्थानीय होटल व्यवसायीहरु बताउँछन्।

मौवा नगर दह आदर्श गाउँपालिकाको केन्द्र भएपछि अहिले चहलपहल त बढेको छ तर, पानी नभएका कारण गाउँपालिकामा आउने सेवाग्राहीलाई समेत समस्या भइरहेको छ । स्थानीयवासी गणेश ऐरले भने– ‘गाउँपालिकाको केन्द्र भएकले मान्छेको चहलपहल बढी हुन्छ तर, पानी छैन । कस्तो बिडम्बना छ!’

खानेपानीको समस्या समाधानका लागि बृहत् खानेपानी योजना लागू गर्ने तयारी भइरहेको आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले भने। ‘हामी खानेपानीको सम्भावनाका विषयमा छलफल गर्दैछौं,’ अध्यक्ष रोकायाले भने,‘सायल गाउँपालिकासँग पनि भेल्छडाका लागि छलफल गर्छौं । अन्य सम्भावनाहरुको पनि खोजी गर्दैछौं।’

खानेपानी योजना निर्माणका विषयमा प्रदेश सरकार र अन्य सङ्घ संस्थाहरुसँग पनि छलफल चलिरहेको उनले जानकारी दिए।

भेल्छडाको पानी ल्याउन अब सम्भव नभएको बताए। आदर्श गाउँपालिकाका पूर्व सांसद लालबहादुर खड्का । आदर्श गाउँपालिका वडा नं १ मौवा घर भएका खड्काले भने, ‘अब सायली गाडबाट पानी तान्ने वा डिप बोरिङ्ग गर्ने योजना बनाउनु पर्छ । भेल्छडाको आश नगरे हुन्छ । त्यो सम्भव छैन।’

भेल्छडाको पानी नआउँदा मौवालगायत त्यस क्षेत्रका साविकका कालिकास्थान, खातिवाडा, महादेवस्थान, लामिखाल र बारवाटा गाउँपालिकाहरुमा खानेपानीको समस्या रहिरहेको स्थानीयवासी तथा सञ्चारकर्मी रामहसर ओझाले बताए। उनले भने, ‘भेल्छडाको पानी नआउँदा साबिकका पाँच गाविसका हजारौं नागरिकलाई समस्या भएको छ । नेताहरु चुनावको बेला आउँछन् । पानी ल्याउँछु भन्दै भोट माग्छन् र पछि बिर्सिन्छन् । कस्तो दुःखद कुरो छ!’, पानीको समस्यामा परेका नागरिकलाई अन्य विकासका योजना दिनुभन्दा भेल्छडा खानेपानी योजना निर्माण गरिदिन स्थानीयवासीले विभिन्न राजनीतिक दल तथा खानेपानीको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरुलाई आग्रह गर्दैआएका छन् । गाउँमा कुनै पनि राजनीतिक दलका ठूला नेता आउँदा त्यहाँका स्थानीय बासिन्दाले जहिले पनि त्यही भेल्छडा खानेपानी योजनाको विषय  उठाउने गरेका छन् ।

भेल्छडा बृहत् तथा राष्ट्रिय स्तरको खानेपानी योजना भएकाले आफूहरुले खासै सहयोग गर्न नसकेको खानेपानीको क्षेत्रमा डोटीमा काम गर्दैआएको संस्था नेवाले जनाएको छ। रासस

प्रकाशित मिति: : 2019-07-28 18:32:06

प्रतिकृया दिनुहोस्