भारतको व्यापारीक शहर मुम्बई एकपल्ट फेरि बर्षाका कारण प्रभावित भएको छ। शुक्रबारदेखि परिरहेको मुसलधारे बर्षाका कारण शनिबार मुम्बईको तल्लो सतहमा पानी भरिएको छ।
पानीका कारा रेलको धावनमार्गमा पानी भरिएको र शनिबार मात्र १४ वटा विमानलाई अन्यत्र डाइभर्ट गरिएको बताइएको छ। बर्षाका कारण हिंदमाता, सायन, मलाड, अंधेरीमा जलमग्न भएको र महानगरपालिकाका कर्मचारी उद्दार कार्यमा जुटेको बताइएको छ।
मुम्बईदेखि एक सय किलोमिटर टाढा बदलापुर–वांगनीको रेल धावनमार्गमा पानी जमेपछि महालक्ष्मी एक्सप्रेस लामो समय बीचैमा फसेको र रेलबाट यात्रा गरिरहेका ९ सय यात्रुलाई आर्मी र पुलिसको टिमले उद्दार गरेको भारतीय अखबारले बताएका छन्।
रक्षा मन्त्रालयले खराब मौसमका कारण मानिसहरूलाई विमानबाट उद्दार गर्न गाह्रो परिरहेको बताएको छ। भारतीय वायुसेनाको हेलिकोप्टरले हवाई सर्भेबाहेक उद्दारको अन्य कार्य गर्न नसकेको बताइएको छ।
सन् २००५ मा मुम्बई परेको बर्षाका कारण ४ सय जनालाई ज्यान गुमाएका थिए। त्यतिबेला ५ सय ५० करोडको क्षति भएको थियो।