वीरगन्ज । पश्चिम नेपालबाट पूर्वको काँकरभिट्टातर्फ ६ ट्रक गाईगोरु लगिरहेको अवस्थामा बिहीबार राति पथलैया प्रहरीले पक्राउ गरी पशु क्वारेन्टाइन चेक पोष्टमा बुझाएको छ ।
गाईगोरु बोकेका ना ७ ख ३४०, ना ७ ख ३२३९, लु १ ख ९८९५, ना ६ ख ६६४१, ना ७ ख ९१४३ र अर्को एक गरी छ ठूला ट्रकमा ४३ गोरु र १३६ गाई पूर्वतर्फ लगिरहेका बेला बिहीबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैयामा जाँचका क्रममा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए।
पक्राउ परेका ट्रकसहित गाईगोरु क्वारेन्टाइन चेक पोष्ट पथलैयालाई बुझाएपछि चेकपोष्टले पशुसेवा ऐन २०५५ र पशु ढुवानी मापदण्डविपरीत भएको भनि दुई लाख ५० हजार जरिवाना गरी छाडिएको प्रहरीचौकी पथलैयाले जनाएको छ।
गाईगोरू चितवन सप्लायर्सले पश्चिम नेपालका विभिन्न ठाउँबाट सङ्कलन गरी काँकडभिट्टा नाका हुँदै भारतको बाटोबाट बङ्गलादेशतर्फ लान खोजेको प्रहरीको भनाइ छ। रासस