काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ। पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिए।
पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया विक र उनका छोरा १५ वर्षीय बबी विक तथा लिम्घा भिरकुनाका छ वर्षीय सुमन विकको शव बुधबार फेला परेको थियो। लिम्घामा मङ्गलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिलकुमारी तरामुमगर र उनका छोरा दर्शन तरामुमगर तथा दुर्गाबहादुर सिञ्जालीको शव फेला परेको थियो ।
पहिरोमा पुरिएर घाइते भएका ठूलो लुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको टाउकामा चोट लागेकाले थप उपचारका लागि काठमाडौँ पठाउनु परेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।
पहिरोका कारण घरबारविहीन भएकालाई सामुदायिक विद्यालयमा राखिएको उनले बताए। ‘झण्डै साढे ३०० घर प्रभावित छन् । एक गाउँबाट अर्को गाउँमा जाने अवस्था छैन’, उनले भने।
वडा नं ३ सिङ्दी गाउँ नै जोखिममा परेपछि गाउँलेलाई श्री राम माविमा राखिएको छ । उनीहरुलाई विद्यालयमा खाने बस्ने व्यवस्था मिलाइएको शिक्षक लक्ष्मी पाण्डले जानकारी दिए। सत्यवती गाउँपालिका वडा नं १ का ४ घरमा पहिरोले क्षति पुर्याएको उनले बताए।
पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण बुधबार साँझ हेलिकप्टरमार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलो लुम्पेकमा पुर्याइएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छन् । कच्ची सडक भएका कारण राहतका सामग्री पु¥याउन कठिनाइ भएको छ । रासस