काठमाडौं । कीर्तिपुरस्थित भत्केकोपाटीबाट २ सय मिटर अगाडि बढ्ने क्रममा देब्रे पट्टि एउटा ठूलो फाँट देखिन्छ।
त्यो फाँटमा टन्टलापुर घाम होस् वा बर्षाको झरी। बाह्रै महिना एकजोडी बुढाबुढी कुटो र कोदालो बोकेर तरकारी बारीमा गोडमेल गरिरहेको भेटिन्छन्।
उनीहरू मौसमे खेतीमा रमाएका छन् र उब्जनी भएको तरकारी कीर्तिपुर बजारमा लगेर बेच्छन्।
पैसा कमाउन वैदेशीक रोजगारीमा जाने युवाहरूको लर्को हिजोआज पनि घटेको छैन। नेपालमा केही गर्न सकिन्न भनेर विदेशीने युवाहरूका लागि यी बृद्ध जोडी गतिलो उदाहरण हो।
रुकुम पूर्व सेरा घर भएका कर्म कुमारी बुढा र मोनिकर्म बुढा, दुबैको उमेर ६० नाघिसेको छ। तर, उनीहरूको जागर देख्दा २०–२५ वर्षका युवाहरू पनि लोभिने गर्छन्।
उनीहरू गाउँका पुराना कुरा सम्झेर कहिले ठट्टा गर्छन् त कहिले ठाकठूक पनि पर्छ । तर, बारीमा खट्टिने उनीहरूको जोशमा कुनै कमी आएको छैन।
२०५२ सालमा गाउँमा माओवादीको बिगबिगी बढेपछि मोनिकर्म साढे ५ लाख खर्चेर ताइवान पुगेका थिए। तर, उनलाई गैरकानुनी रूपमा बसेको भन्दै ताइवानी सरकारले १४ महिनामै देश फिर्ता पठायो।
यसपछि उनको दुःखका दिन सुरु भए। द्धन्दको समय गाउँमा बस्न नसकेपछि उनी आफ्ना ४ लालाबाला सन्तान बोकेर काठमाडौं छिरे।
‘द्धन्दको समय गाउँमा बसिसक्नु थिएन। छोराछोरी स्कुल पठायो, घर आउलान कि नआउलान भन्ने पीरले मुटु कट्कट् खान्थ्यो,’ ५६ सालतिर काठमाडौं प्रवेश गर्दाको घटना सम्झदैँ कर्मकुमारी बुढा भन्छिन्, ‘दिउँसो पुलिस आएर केरकार गर्ने। राति माओवादी आएर धम्क्याउने।’
गाउँमा अहिले उनीहरूको जग्गा जमिन अरुले सित्तैमा कमाएर खाइरहेका छन्।
बिडम्बना! कीर्तिपुरमा उनीहरू भाडाको जग्गामा टहरा थापेर बस्न बाध्य छन्।
प्रेम विवाह गरेका यी जोडी तरकारी खेतीबाट राम्रै कमाइभएकाले खुसी नै छन्।
पहिलो पल्ट काठमाडौं आउँदा उनीहरूले कुखुरा र बंगुरपालन गरेका थिए। घाटा लाग्यो।
यसपछि उनीहरूले ४ रोपनी जग्गा महिनाको ४० हजार भाडामा लिएर तरकारी खेती गरे।
‘भाडा तिरेर महिनामा ४० हजार बचत हुन्छ। यसमा सन्तुष्ट छौं,’ मोनिकर्म भन्छन् ।
यिनीहरूका ४ जनै छोराछोरी अहिले युरोप, जापान र दुबईमा रोजगारीका लागि गएका छन्। उनीहरू आफ्नै दुनियाँमा मस्त छन्। पौरखी यो बृद्धलाई छोराछोरीको कमाइ खानुपरेको छैन।
‘४ जना छोराछोरी हुर्काइयो। आफ्नै खुट्टामा उभिएका छन्,’ कर्मकुमारीले भनिन्।
यो जोडीले छोरा–छोरीलाई नेपालमै जागिर ख्वाउने प्रयास नगरेका होइनन्। तर, जागिरबापत घुँस मागिएपछि नेपाल बस्न मानेनन्। हामी जस्तै खेती गर्न के सक्थे र?’ उनले भनिन्।
उनी वैदेशीक रोजगारीमा जाने नेपाली युवायुवतीको कथाबाट पनि परिचित छिन्। भन्छिन्, ‘आजभोलि विदेशमा पैसा फल्छ जस्तो गरी टन्न ऋण खोजेर जान्छन्। पछि त्यही ऋणको बोझले आत्महत्या गर्छन्।’
उनीहरू काम ठूलो र सानो नहुने बताउँछन्। र, गरियो भने आफ्नै देशमा पैसा फलाउन सकिने तर्क गर्छन्।