सत्ताइस लागेकी फुलमाया काखभरिकी छोरीमाथि ममता पोखिरहेकी छिन्।
एक वर्षकी छोरी नितुको भविष्य अब एउटा सपना बनेर आएकाे छ, उनको जीवनमा। धेरै नबोल्ने तर श्रीमतीलाई जिस्क्याउँदै आफ्नो काममा रमाइरहने श्रीमान राजकुमारको ‘प्यार’ अझ प्यारो बनाउनु उनको अर्को सपना बनेको छ।
‘मनभित्रको घाउ जति छिपाए नि छिप्दैन। हुन त देखाउदिनँ भन्छु तर हृदय पोलिहाल्छ। एकसमय मेरो ज्यानले पाउनु दुःख पायो। भाग्य नै यस्तै रहेछ,’ फुलमायाले आफ्नो विगत सुनाइन्।
तीन वर्षअघि मुम्बईको एक कोठीमा भेटिएकी नेपाली चेली फुलमाया र पश्चिम–बंगाली राजकुमार डेढ वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएका हुन्। उनीहरूको जीवन संघर्ष फिल्मजस्तै छ, अनेक ‘सस्पेन्स’ अनि ‘थ्रिलर’हरूले भरिएको।
जिन्दगीको एक घुम्तीमा अनेकौं हन्डर खाँदै अन्ततः मुम्बईस्थित कल्याण रेल–स्टेशनको पूर्वतिर एउटा ढावा चलाइरहेका छन्।
कोरोना संकटले महाराष्ट्र थलियो, स्वाभाविकरूपमा उनीहरू पनि चपेटामा परे। तर, महामारी अलिक कम भएयता ढावाको आम्दानी बढ्दो छ। जसोतसो अक्करै–अक्करको ‘नयाँ जीवन’ बाँचिरहेका छन्, फुलमाया र राजकुमार।
‘राजकुमार मेरो जिन्दगीमा भगवान बनेर आएको छ। ऊ मलाई धेरै माया गर्छ। इमान्दार पनि छ। मसँग अहिले तीनवटा खुसी छन्– छोरी, श्रीमान र ढावा। छोरीले उर्जा थपेकी छे। राजकुमार सहयात्री बन्यो। ढावाले चारोपानी धानेको छ,’ उनी थप्छिन्, ‘कैयौं कहानीहरू रामकुमारलाई लुकाएर राखेकी छु। ताकि ऊ पनि मलाई छोडेर नहिँडोस्। ऊ छेउमा हुँदा म ती दिनहरू बिर्सिन्छु।’
०००
फुलमाया १७ वर्षको उमेरमा मुम्बई आइन्। उनी सानै छँदा बुवा बिते। आमाले अर्कोसँग विवाह गरिन्। दोस्राे बिहेपछि आमासँगै पल्लो गाउँ हिँडिन्।
सौतेलो ‘बा’ आफ्नै बुवाजस्तो लाग्थ्यो। पहिलेपहिले माया पनि गर्थे। सँगै रमाउँथे। हात समातेर गाउँभर डुलाउँथे। भाइ पनि जन्मियो। लगतै स्कूल जान थालिन्। पढाइमा चासो थियो। तर, सोचे जस्तो त्यहाँ पनि भएन। सौतेलो बुवाले पढाइ रोके। उनी क्रूर बन्दा आमाको माया पनि गुमाइन्।
‘बुवालाई सानै उमेरमा गुमाएँ। म त्यतिबेला तीन वर्षको थिएँ। आमाले अर्को मान्छेसंग विवाह गर्नुभयो। म पनि उहाँसँगै गएँ। चार कक्षासम्म पढेँ। स्कूल जाने अवस्था रहेन। मेरो कारण आमाले झन् दुःख पाउन थाल्नुभयो,’ आँशु पुछिरहेकी फुलमायाले भावुक हुँदै सुनाइन्, ‘कैयौंपटक बावुले आमालाई कुट्नुभयो। त्यो देखेर मैले घरै छोडेँ।’
दोस्रो परिवारबाट टाढिएपछि १६ वर्षको कलिलो उमेरमा विवाह गर्न बाध्य भइन्, उनी। गाउँ–समाजको घृणाले अपरिचित युवकसँग एकै झल्कोमा मोहित भएको बताउँछिन्। अन्ततः इँट्टा भट्टामा काम गर्ने एक युवकसँग विवाह गर्ने निधो गरिन्।
खाइलाग्दो युवक दावा इँट्टा भट्टामै भेटिएका थिए। फुर्तिलो केटो थकाइ नमानी काम गर्थ्यो। उनीहरूले धुलिखेलको एक इँट्टा उधोगमा झण्डै तीन महिना काम गरे। दावाले एकदिन नयाँ योजना र थप सपना बाँड्यो। फुलमाया पनि दंग परिन्। लगतै उनीहरू विवाह गरेर काठमाडौं लागे।
०००
राजधानी पुगेपछि गाउँले काकाको सहयोगमा दावाले बालाजुस्थित एक कपडा पसलमा काम थाले। खर्चिलो काठमाडाैँमा बस्न-खानै समस्या पर्यो। एक हप्ता पनि नबसी उनीहरू परदेश हिँडे।
दावाको मामा (साइनो) मुम्बई बस्दा रहेछन्। उनैको सल्लाहमा श्रीमान–श्रीमती गोखरपुरको छुकछुके रेल चढे। फुलमायाका लागि मुम्बई नौलो थियो। दावा त दुई वर्षअघि एकचोटी आइसकेका रहेछन्, उनले मुम्बई आएपछि मात्रै भने।
नयाँयात्रा, नयाँ ठाउँ र नयाँ सपना बोकेर उज्यालो नछिपिँदै रेलबाट मुम्बई ओर्लिए, फुलमाया–दावा। ‘रगतको नाताजस्तो भावनाको नाता नहुँदो रहेछ। दश वर्षअघि गाउँ–घर छोडेँ। काठमाण्डू नै छोडेँ। कष्ट भोग्न बम्बै आएछु,’ फुलमायाले भनिन्।
०००
रेल–स्टेशनबाट उनीहरू सिधै अटो चढेर मामाको कोठा पुगे। फुलमाया मुम्बईको कल्याण शहरका गगनचुम्बी महल र चम्किँदो भविष्य देखेर बेलाबेला रमाउँथिन्। फुरुङ्ग पर्थिन्। अनेकौं सपना बुनेर कल्पिन्थिन्। तर, भिवन्डीको कोठीमा बेचिएको यादै पाइनन्। फुलमायाले बल्ल थाहा पाइन्, मामा चेलिबेटी विचविखनमा संलग्न रहेछन्।
बिहेपछि ‘जुन–तारा’को सपना देखाएर मुम्बई ल्याएको दावाले क्रूर मामालाई सुम्पियो, फूलजस्ती फुलमाया। उनी दुई हप्तामै अमानवीय यातना भोग्न बाध्य भइन्, आफ्नो आवाज सुन्ने कोही नहुँदा।
यौन पिपासुहरू कालो पर्दाले छोपिएको कुनाभित्र छिर्थे– पालैपिलो अंगाल्थे, कुट्थे, टोक्थे र थकित पार्थे। उनी नर्कजस्तै जीवन बाँचिन्। ‘दुनियाँ निर्दयी छ। दुःखको बेला कसैले साथ दिँदैनन्। आफन्तले आफन्त देख्दैनन्। मान्छेले मान्छे चिन्दैनन्। आजभन्दा दश वर्षअघि मलाई मेरै श्रीमानले यही बम्बैमा बेच्यो। मप्रति कसैको दया–माया थिएन। धेरै पटक आत्महत्या गर्न लागिपरेँ तर मृत्युबाट बचेँ,’ फुलमायाले आफ्नो विगत सुनाइन्।
०००
भिवन्डी रेल–स्टेशन र बस बिसौनीबाट ओर्लिएर हनुमान गल्लीतिर लाग्दा मुख छोपेर हिँडिरहेका भेटिन्छन्, कैयौं युवा। उनीहरू त्यहाँबाट गल्ली पछ्याउँदै भित्र छिर्छन्। जहाँ युवा जमात रोकिने एउटा कर्कस स्थान पनि छ। भलै, यताउती हिँड्नेहरू कोरोनाअघि यसैगरी मुख छोपेर हिँड्थे। आजकल पनि त्यसैगरी हिँड्छन्।
भिवन्डीस्थित ‘रेड लाइट एरिया’को घुम्टोभित्र चल्छ ‘देहव्यापार’। मुटु हल्लाउने हृदय विदारक कथाहरू सुनाउँछन्– यौनकर्मी महिला। जो वर्षौँदेखि कालो–कोठीभित्र कहरलाग्दो जीवन बाँचिरहेका छन्।
कल्याण रेल–स्टेशनदेखि १२ किलोमिटरको दूरीमा पर्छ, भिवन्डी ‘रेड लाइट ऐरिया’।
फुलमायाले सात वर्षसम्म बिताएको नरकीय त्यो कोठी खासै टाढा छैन। कहिलेकाहीँ उनी पूरै मुख छोपेर तरकारी किन्ने बहानामा यौनगृहको बाटो हुँदै भिवन्डीको तरकारी बजार पुगेर फर्किन्छिन्।
०००
ठाणे जिल्लाको भिवन्डीस्थित हनुमान टोकडीको सडक छेउमा एउटा साँधुरो गल्ली छ। त्यही अँध्यारो खोचभित्र भेटिन्छन्, कैयौं बेदना र पीडाले भरिएका भिन्नभिन्नै पात्र। गरिबीसँग लुकामारी खेल्दाखेल्दै बाध्यता र परिबन्दले काठमाडाैँदेखि मुम्बईको भिवन्डीसम्म आइपुग्ने कलिला युवतीहरूका आ-आफ्नै छन्, कहानी।
आफ्नो घर काडमाडाैँ बताउने ३० वर्षीया एक युवती विनिता आजपनि भिवन्डीको कोठीभित्रै हराइरहेकी छन्। फुलमायाले त्यहाँबाट निकाल्न अनेकौं प्रयास गरिन्। तर उनले बाहिरी संसारबारे भेउ नै पाइनन्। बरू उल्टै सम्पर्कविहीन भइन्।
डेढ वर्ष अघिसम्म देहव्यापारमा रम्न बाध्य थिइन्, फुलमाया। जीवनको यात्रामा ठोकिँदै आइपुगेका कलिल मुनासँग सुख–दुःख साटासाट गर्थिन्। आज परिस्थिति फेरिएको छ, मुम्बईको मुटुमै बस्छिन्। तर राजकुमार र छोरीसँगै रमाउँछिन्। कारोना कहरपछि को–कहाँ छ, अत्तोपत्तो छैन। उनी ‘रेड लाइट एरिया’ वरपर गएकी पनि छैनन्। एक समय थियो, फुलमाया, विनिता, सुदूरपश्चिमेली राधा र बिहारी निलिमाया एकै ठाउँमा उस्तैउस्तै काम गर्थे।
तर डेढ वर्षअघि फुलमायाले राजकुमारसँग लगन गाँठाे कसिन्। राजकुमार हप्तामा एकचोटी कोठीमा आउँथे। त्योबेला फुलमाया कोठीको नाइकेजस्तै थिइन्। वर्षौँदेखि त्यहिँ बस्दा सञ्चालकको विश्वास जितिसकेकी थिइन्।
देह–कर्म बिसाएर नयाँ–नयाँ यौनकर्मीको रेखदेखमा बढी लाग्थिन्, उनी।
कहिलेकाहीँ त्यहाँ पुग्ने राजकुमारसँग उठबस बाक्लिन थाल्यो। पश्चिम बंगालका उनी गोदामघरको गाडी चलाउँथे। थकाइ मेट्न कोठीमा पुग्दापुग्दै ढोका छेउमा उभिएकी फुलमायाको प्रेममा बेरिन पुगे, राजकुमार। ‘मैले राजकुमारलाई कोठीभित्रै भेटेँ। ऊ केटी छानेरभित्र जान्थ्यो तर मलाई देखेर लजाउँथ्यो। राजकुमार भिवन्डी जाने दिन म पूर्णरूपमा सचेत बन्थेँ। ऊ प्राय आइतबार त्यहाँ पुगेको हुन्थ्यो।’
०००
यौन संसारको त्यति ठूलो बजार होइन– भिवन्डी। मुम्बईमा अन्यत्रै भीडभाडयुक्त थुप्रै ‘रेड लाइट एरिया’ छन्। जहाँ जो–कोही सजिलै पुग्न र यौनकर्मीको वास्तविक कथा टिप्न सक्दैनन्।
यौनकर्मीसँग गफिन र हिँड्डुल गर्न सरल मानिन्छ, भिवन्डी। त्यहाँ बेचिएका नेपाली महिलाहरुका अनुसार त्यहाँको कोठीमा करिब तीन सयभन्दा बढी यौनकर्मीहरू छन्। भलै, कोरोना संकटपछि ‘देहव्यापार’मा फर्किने महिलाको संख्यामा कमी आएको स्थानीय पत्रकार प्रवीण सिंह बताउँछन्।
मुम्बई कहिल्यै सुत्दैन। लाखौं युवा–युवतीहरू रहरलाग्दो सपना र आशा बोकेर दिनदिनै आउँछन्। त्यसो त काभ्रेकी फुलमाया पनि कान्तिपुरी शहरबाट एक दशकअघि ‘माया नगरी’ आइन्। फुलमाया आफ्नो भाग्य परिवर्तन गर्न कल्याण शहरमा उत्रिइन्। तर उल्टो जीवन बिताउन बाध्य भइन्।
नशामा मात्तिएको हिंसात्मक पुरुषबाट हजारौं पटक मनोरञ्जनको पात्र बनेकी उनी यौनकर्मबाट अवकाश लिएर बसेको ठट्यौली शैलीमा बताउँछिन्। उनी एकताका रोएरै बाँचेको भिवन्डी बजारमा हजार वर्ष पुराना भवनहरू छन्। तर ती अग्ला र पुराना घरभन्दा कैयौं गुणा ठूला बेदना र पीडाभित्र हराइरहेका छन्, यौनकर्मी।
०००
सन् २०१४ तिर सुदूरपश्चिमकी राधा (२५) श्रीमानको साथ लागेर कामको खोजीमा मुम्बई आइन्। उनी परिवारसँग विद्रोह गरेर अन्तरजातीय विवाहमा बाँधिएकी थिइन्। श्रीमानले भायन्दरको एक होटलमा काम गर्थे। पैसा पनि राम्रै कमाउँथे। मुम्बई आएको ६ महिनापछि एक छोरीले जन्म लिइन्।
दुर्भाग्यवशः छोरी जन्मिएको ६ महिनामै श्रीमानले ज्यान गुमाए। उनको मृत्यु मंगलमूर्ती अस्पतालमा भएको थियो। श्रीमानले कमाएको पैसा जति उपचारमै सकियो। राधालाई छोरीसित दैनिकी धान्नै मुस्किल पर्यो। छोरी पिठ्युँमा बोकेर मराठी साहुजनको घरमा काम गर्न थालिन्, राधा। घर–परिवारसँग सम्पर्क थिएन। नेपाल फर्किन पनि सकिनन्।
‘झन्डै ६ वर्षदेखि कुना–कुनासम्म पुगेकी छु। मलाई मुम्बई घरजस्तै लाग्छ। यो ठाउँले मेरो श्रीमान गुमाए पनि एउटा छोरी र बाँच्ने आधार दिएको छ,’ राधाले भनिन्।
मराठी एक युवतीको संगत लागेर उनी देहव्यापारमा लागिन्। छोरीसँगै ग्राहकको खोजीमा बजार धाउने उनी आजभोलि थकित छिन्। शरीर बेचेर हुर्काएकी छोरी अहिले ७ वर्षकी भइन्। उनी वसई पश्चिमको एक स्कूलमा जान्छिन्। राधाले रेल स्टेशनको छेउमा तरकारी बेच्छिन्।
‘हामी जहाँ छौं, खुसी छौं। सरकारले हाम्रो लागि केही गरोस्। हामीसँग रासन कार्ड छैन, मतदाता कार्ड छैन, आधार छैन। भोट माग्न पनि कोही आउँदैनन्,’ राधासँगै भेटिएकी बंगाली रोजिताको गुनासो।
०००
रौतहटबाट बेचिएकी पूजा (१८), सुनिता (२१) र गीता (१९) सन् २०१८ ताका कोठीमुक्त भइन्। उनीहरूको उद्दारका लागि मुम्बईमा रहेका सामाजिक संघ-संस्थासँगै दिनरात नभनी खटिएका थिए– नेपाली मूलका मराठी पत्रकार राज रोकाया।
तीन महिनासम्म कल्याणको एक कोठीमा देहव्यापार गर्न बाध्य ती नेपाली चेलीलाई मुम्बई प्रहरीको सहकार्यमा बाहिर निकालिएको थियो। त्यस बेला उनीहरूलाई रोजगारीको प्रलोभन देखाएर मुम्बई पुर्याइएको पत्रकार रोकाया बताउँछन्। उनी झण्डै १८ वर्षदेखि मुम्बईमा बसिरहेका छन्। व्यापारसँगै स्थानीय एक मराठी पत्रिकामा काम गर्छन्, रोकाया।
‘दुई दशकअघिको तुलनामा पछिल्लो समय मुम्बईका कोठीमा बेच्ने र बेचिने क्रम घट्दो छ। तरपनि कुनै न कुनै बहानामा नेपाली, बिहारी, बंगालीलगायत स्थानकी चेलीहरू बेचिएकै छिन्। भारत होस् या नेपाल जहाँ गरिबीले गिजोलेको छ, त्यहाँबाट देहव्यापारका लागि मुम्बई छिर्न बाध्य भएका घटना पनि छन्,’ पत्रकार रोकायाले भने।
०००
अछामकी २३ वर्षीया दीपा एक वर्षअघि रोजगारीको बहानामा मुम्बई आइन्। उनी राम्रोसँग हिन्दी पनि बोल्न जान्दिनन्।
‘म नेपालबाट आएकी हुँ। मेरो परिवार एकदमै गरिब छ। फेसबुकमा चिनेको एउटा दाइले मुम्बई बोलायो। हतार–हतारमा म भारत हिँडेँ। त्यो दाइले मलाई दादरमा भेट्यो। पहिलो दिन आफ्नो कोठामा राख्यो अनि भोलिपल्ट कोठीमा छाडिदियो। ६ महिना त्यतै बसेँ,’ उनी भन्छिन्, ‘अहिले स्वतन्त्र छु। तर घर जान मन लाग्दैन। बाध्यता धेरै छन्। यहाँ खाना पाउँछौं। रमाइलो छ। काम गरेपछि पैसा पनि पाइन्छ।’
दीपाको भाग्य बलियो रहेछ। कोरोना महामारीको आतंकले मानिसहरू त्रसित बनिरहेका बेला यौनगृहबाट भागिन्। उनी अहिले अम्मरनाथस्थित एक आफन्तको घरमा बस्छिन्। भिवन्डीको ‘रेड लाइट एरिया’मा नेपाली युवतीहरू अहिले नभएको उनी बताउँछिन्।
संकटबाट गुज्रिरहेका यौनकर्मीहरूले सुधारात्मक उपाय खोजिरहेको अधिकारकर्मी तथा पत्रकार प्रवीण सिंह बताउँछन्। यौन दुर्व्यवहारबाट थिचिएका चेलीहरू परिवर्तनको पक्षमा छन्। उनीहरू पातलो र कुपोषणबाट ग्रसित जस्तै देखिन्छन्।
भिवन्डीको कोठीमा यौनकर्मीहरूको बसाइ व्यवस्थित छैन। एउटा कोठामा १३ देखि १४ जना बस्छन्। धेरै आफ्नो इच्छाले देहव्यापार गरेता पनि कतिपय बाध्यतामा छन्। उनीहरू त्यहाँ निस्किन चाहन्छन्।
फुलमाया र रीमा दुई वर्षअघि भिवन्डीको ‘रेड लाइट एरिया’मा भेटिएकी थिइन्। मध्ये–प्रदेशबाट परिवारको यातना तोडेर मुम्बई आएकी हुन्, रीमा। घरमा हुँदा श्रीमानले कुटपिट गर्थे, परिवारले घृणा।
परिवारबाट दाइजोका कारण उनले अनेकौं पीडा भोगिन्। श्रीमानसँग बस्नै सकिनन्, बरू आफ्नो शरीर अरुलाई सुम्पिदिइन्। ‘सानातिनो काम गर्नुको साटो शरीर बेचेर जीवन बिताउन सजिलो लाग्यो। त्यसैले मैले यो काम रोजेँ। मेरो परिवार मध्य–प्रदेशमा बस्छ। मेरो कामबारे उनीहरूलाई थाहा छैन। पैसा कमाउँछु र माइतीमा बाआमालाई पठाउँछु। उनीहरू खुसी हुन्छन्,’ फुलमायाको आग्रहमा गोराइँ समुन्द्री तटमा भेटिएकी राधाले बताइन्।
‘कोठी’को कहालीलाग्दो जीवन छोडेर मुम्बईमा नयाँ अध्याय बाँचिरहेका नेपाली तथा भारतीय चेलीहरू गरिबी र पारिवारिक बाध्यताले बेचिएका हुन्। अन्तर्वार्ता गरिएका सबै पात्रकाे नाम र केही स्थान परिवर्तन गरिएकाे छ। कतिपय तस्विर सांकेतिक राखिएकाे छ। – सम्पादक