काठमाडौंसहित विभिन्न ठाउँमा गर्मी बढी सकेको छ। दिउँसो प्रचण्ड घाम चर्किने र बिहान बेलुका चिसो हुने। बिहान बेलुका चिसो भए पनि दिउँसोको गर्मी छल्न मानिसहरु विभिन्न उपाय अपनाउँछन्।
विभिन्न ठाउँमा घुम्छन्। काठमाडौंसँग जोडिएको जिल्ला भक्तपुरका विभिन्न स्थानमा कुल्फी पाइन्छ। चाहे किराना पसल हो या अन्य केही नै। स्वादिलो चिसो वरफ नै हो कुल्फी हो।
यस्तै भक्तपुर दरवार स्क्वायर नजिकै एउटा कुल्फी पसल छ। जहाँ स्वदेशी र विदेशी पर्यटकहरुको दैनिक चहलपहल हुन्छ। पसलको माथि लेखिएको छ- कुल्फी संसार। सँगै चाइनिजभाषामा पनि कुल्फी संसार लेखिएको छ। दही र आइसक्रीमको स्टोरमा यो समय कुल्फी नै बढी जान्छ। पसलमा थिए - सुरेश बावु हाडा र उनका भतिजा।
सुरेश पसलमा आएका पर्यटकसँग उनीहरुको भाषामा बोल्दै कुल्फीका बारेमा बताइरहेका थिए। सुरेश मज्जाले चाइनिज भाषामा यो पिङ पाङ हो। यसको नेपाली ५० रूपैयाँ पर्छ। यसको स्वाद यस्तो छ भनेर बताइरहेका थिए।
‘पिङपाङ’ अर्थात कुल्फी। चाइनिजहरुले कुल्फीलाई पिङ पाङ र पिङ्कोर भनेर बुझ्दारहेछन्। केही पर्यटकहरू कुल्फी किनेर खाँदै त्यसको स्वादमा रमाइरहेका थिए।
सुरेशको पसलमा चाइनिजहरु धेरै आउने भएकोले पनि उनले ६ महिना चाइनिज भाषा सिकेका रहेछन्। उनी भन्छन्, ‘मेरो पसलमा आवश्यकता पर्ने जति चाइनिज भाषा म बोल्न सक्छु।’
उनको यो पुस्तेनी व्यापार हो। पहिले आमाले कुल्फी बेचिन्। अहिले छोरा र नातीले पनि बेच्दैछन्। सुरेश बाबुहाडा, सुरेशका दाजु दिनेशबाबु हाडा र सुरेशका भतिजा।
भक्तपुरमा उनीहरूको परिवारले पसल थापेको ३० वर्ष भयो। पहिले तितौरा, पुष्टकारी बिक्री गर्ने हाडा परिवार २५ वर्ष देखि कुल्फी र दही बिक्री गर्दै आएको छ।
हाडा परिवारले कुल्फी आफैं घरमा बनाउने गर्छन्। संयुक्त परिवारमा बसिरहेको हाडा परिवार मिलेर कुल्फी घरमै बनाउँछन्।
सिजनमा दिनको ४ सय वटासम् कुल्फी बिक्री हुन्छ। चिसो मौसममा पनि दैनिक एकदेखि डेड सय कुल्फी बिक्री हुन्छ।
कुल्फी बनाउन निकै मेहनत लाग्छ। एउटा कुल्फीको त्यसबेला ५० पैसामा विक्री गरिन्थ्यो भने अहिले त्यही एउटा कुल्फीको ५० रुपियाँ सम्म पर्छ। कुल्फी खानको लागि सधैं आउने ग्राहकहरु त छदैछ त्यसमा पनि भक्तपुर घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक पनि यस कुल्फीको पारखी नै बनेका छन्।
उनकी आमाले पचास पैसामा एउटा कुल्फी बिक्री गरेको अहिले पनि उनलाई सम्झना छ। आमा बुवाको मृत्युपछि अहिले दाजुभाई र भतिजाले व्यवसाय सम्हालेका छन्।
क्ल्फीमा उनीहरूले खुया, दुध, चिनी मुख्य र ड्राइफुड्स चोकोचिप्सको मिश्रण गर्ने गरेका छन्।
ज्ञानीमैया हाडा सुरेशकी श्रीमती हुन्। विवाह गरेर हाडा परिवारमा प्रवेश गरेदेखि उनले पनि कुल्फी बनाउन थालिन्। उनलाई कुल्फी बनाउन जेठानीले सिकाइन्।
कुल्फी बनाउँदा बनाउँदा अब कुल्फी मास्टर नै भइसकेकी छिन्। बच्चाको स्याहार सुसार गरेर बिहान १० बजेदेखि देखि साँझको ६-७ बजेसम्म उनी कुल्फीमै व्यस्त हुन्छिन्।
ज्ञानी मैयाले कुल्फी बनाउन थालेको २० वर्ष भइसकेको छ। आफ्नो आम्दानीबाट सन्तुष्ट रहेका सुरेश लोडसेडिङ हुँदा सबै कुल्फी पग्लेर व्यापार नै बन्द गर्नपर्ने अवस्था आएको सम्झना गरे।
उनलाई अब त्यो दिन कहिलै नफर्कियोस जस्तो लाग्छ।