आजदेखि तीन दिनसम्म मुलुकभर पानी पर्ने, सतर्क रहन आग्रह

तस्बिरः एजेन्सी

काठमाडौं । आजदेखि तीन दिनसम्म लगातार देशका विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तथा मध्य क्षेत्रमा अहिले पनि मेघ गर्जनसहित वर्षा भइरहेको र अधिकांस भू–भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य वदली भई १/२ स्थानमा पानी परिरहेको छ ।

मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको महाशाखाले जनाएको छ ।

देशका पूर्वी तथा मध्य क्षेत्र एवं पश्चिम क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

सोमबार दिउँसो देशको पूर्वी र मध्य भू–भागमा अधिकांश क्षेत्रमा वर्षा हुनेछ। यस्तै पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि मंगलबार पनि देशका पूर्व र मध्य क्षेत्रका अधिकांस स्थानमा नै पानी पर्ने सम्भावना छ। पश्चिमी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

यस्तै बुधबार देशैभर सामान्यदेखि पूर्ण बदलि भई अधिकांश स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ।

पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना देखिएकाले नदीको बहाब बढ्ने देखिएको छ। बाढी र पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

 

प्रकाशित मिति: : 2019-07-22 07:23:15

प्रतिकृया दिनुहोस्