काठमाडौं । लागूऔषध एम्फेटामाइन (आइस) लिन काठमाडौं आएका एक विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरको टोलीले त्रिभुवन विमानस्थलबाट पोर्चुगलका नागरिक २५ वर्षिय मेन्डिज पेरिरा टिआगोलाई नियन्त्रणमा लिएको हो।
व्यूरोले आइतबार पत्रकार सम्मेलन गर्दै ४ किलो २ सय ग्राम आइससहित मेन्डिजलाई सार्बजनिक गरेको छ। पक्राउ गरेका मेन्डिज तस्करीको भरिया मात्र भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको व्यूरोका एसपी कृष्ण प्रसाईले जानकारी दिए।
एयर इण्डियाको एआइ २१६ नम्वरको विमानबाट दिल्ली हुँदै जापानको टोकियो जान लागेका उनले बोकेको मेन्डिले नर्थफेस लेखेको आफैंले भिरेको कालो, खैरो र निलो रंगको पछाडि भिर्ने झोलामा प्रहरीले आइस फेला पारेको थियो।
विमानस्थलको ‘बि’ साइडको १ नम्वर एक्सरे मेसिनमा चेक गर्दा लागूऔषध भेटिएको थियो।
मेन्डिजले टाई र रुमालको बट्टामा फल्स बटम बनाइ आइस राखेर काठमाडौंबाट दिल्लीहुँदै जापान लग्ने योजना बनाएका थिए। ‘प्रहरीलाई झुक्काउने गरि फल्स वटममा आइस राखेको भेटिएको हो,’ एसपी प्रसाइले भने।
लागूऔषध तस्करीको योजना अनुसार नेपाल आएका उनले काठमाडौंमा नै अन्य व्यक्तिले आइस लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।
उनी गत बुधबार बार्सिलोना, कतार हुँदै नेपाल आइपुगेका थिए। प्रहरीले बरामद गरेको आइसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ४ करोड रूपैयाँभन्दा बढी हुने आउँछ।
आर्थिक वर्ष २०७३\७४ मा व्यूरोले ४ किलो आइस बरामद गरेको प्रहरी तथ्याङकमा छ।