‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा,
कहिले भेट होला है दाजै यो जिन्दगानीमा...’
काठमाडौंको सुन्धारामा गीत गाएर आफ्नो प्रतिभा प्रस्तुत गरीरहेकी थिइन्, पोखराकी ३५ वर्षीय हरि माया गुरूङ। उनी दृष्टिविहिन हुन्। आफ्नो पेट पाल्नको लागि सडकमा गीत गाउँछिन् उनी।
जन्मजात दृष्टिविहिन उनले यसरी सडकमा गीत गाउँदै हिँडेको दशक बित्यो। तर, उनीभित्र भएको प्रतिभा झन् तिखारिँदै गएको छ। ‘मसँग गीत गाउने कला छ, त्यसैले गाउँछु चोरेर, ठगेर खादिनँ,’ उनले भनिन्, ‘यसरी पनि पेट पाल्न सकिन्छ भन्ने अहिले थाहा पाएकी छु।’
उनको श्रीमान पनि दृष्टिविहिन हुन् उनी पनि सडकमा यसरी नै गीत गाएर बस्छन्।
‘के गर्ने यो पापी पेट जसरी पनि पाल्नुपर्ने रहेछ, सरकारले हामीजस्तालाई कुनै रोजगारर दिँदैन,’ उनले भनिन्।
दिनमा ३-४ सय जति कमाइ हुने उनी बताउँछिन्। ‘यति पैसाले त मेरो केही पुग्दैन घर भाडा पनि तिर्नुपर्छ,’ उनले भनिन्, ‘यो महङ्गो शहरमा यति पैसाले के हुन्छ र? तर, जसरि भए-पनि पुर्याउनैपर्छ।’
सरकारले दृष्टिविहीनहरूलाई प्रदान गर्दै आएको भत्तामा पनि विभिन्न कारण देखाई नपाएको गुनासो गरिन्। ‘अरु केही सरकारले दिन नसके पनि मेरो भत्ता दिए हुन्थ्यो,’ उनले गुनासो गरिन्।
बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म कहिले रत्नपार्क त कहिले सुन्धारा र बौद्ध हुँदै आफ्नो बासस्थान कपनसम्म पुग्छिन्।
काठमाडौंका सडक किनारमा एउटा सानो साउन्ड सिस्टम र कचौरालाई साथी बनाएर गीत गाउने उनी बिहानको खाना बाहिरै खान्छिन्। कमाएको केही रकमबाट ६ वर्षको छोरालाई खानेकुरा लिएर जान्छिन्।
उनी र श्रीमान यसरीनै सडकमा गीत गाउँदै दयालु पैदल यात्रुले दिएको २-५ रूपैयाँ संकलन गरेर गुजारा चलाइरहेका छन्।
एक दशक लामो यो सडक गीत गाउने क्रममा दिन फेरिएँ, पात्रो फेरियो, सरकार फेरिए। तर, उनको दैनिकी फेरिएन। ‘श्रीमान र मैले कमाएको पैसाले कोठा भाँडा तिर्नै ठिक्क हुन्छ,’ उनले भनिन्, ‘आफूहरूले भोट दिएर जिताएका नेताहरू मन्त्री भए। उनीहरूका छोराछोरी सम्पन्न देशमा पठ्न जान्छन्। तर, मैले छोरालाई अझै पनि सामान्य स्कुलमासमेत भर्ना गर्न सकेकी छैन।’
***
‘म यो संसारमा नजन्मिएको भए, यो दु:ख भोग्नुपर्ने थिएन।
मलाई यो स्वार्थी संसारमा बाँच्नु त मन छैन, तर मेरो लागि नै यो संसारको निर्दयी भइदियो।’
सुन्धाराको सडक किनारमा यसरी गीत गाउँदै थिए- ललितपुरका ४२ वर्षिय बिशाल धामी।
असार साउनको उखरमाउलो गर्मीमा उनले लगाएको इस्टकोट भिजिसकेको थियो।
‘कहिले हावाहुरि आउँछ। कहिले पानी पर्छ, गीत गाउने साउन्ड सिस्टम लिएर सुरक्षित ठाउँमा भाग्न सक्दिनँ,’ उनले स्तम्भकारसँग गुनासो गरे।
उनको हेरविचार गर्ने छोरीको बिहे भएपछि अहिले उनले कसैले हेर्दैनन्। पापी पेट पाल्नकै लागि काठमाडौं र ललितपुरका सडक आजभोलि उनको साथी बनेका छन्।
‘नगरपालिकाले बेला-बेलामा दुःख दिन्छ,उनीहरूले आएर धम्की दिन्छन्, सडकको पेटिबाट तँ आफ्नो बजाउने भाँडो हँटाउछस कि, फुटाइदिऊ भन्छन्। त्यस्तो भन्दा मन साह्रै कुडिन्छ,’ लामो स्वास फेर्द उनले भने,‘कुनै-कुनै बेला त दिनभरि घाममा बसेर गीत गायो। अलि-अलि जम्मा भएको पैसा पनि लुटिदिन्छन्।’
उनले गुनासो गर्दै अगाडि भन्छन्,‘सरकाले हामीजस्ता दृष्टिविहिनलाई कुनै रोजगारी दिएर आत्मनिर्भर बनाउन सक्दैन त्यसैले हाम्रो साहरा भनेकैं सडक हो।’
***
२६ वर्षका दिृष्टिविहिन वुद्ध लामा किर्तिपुरमा डेरा बस्छन्। उनका ५ वर्षको छोरा र २ वर्षकी छोरी छन्।
उनी सधै श्रीमतीको सहारा लिएर रत्नपार्क आउँछन् र दिनभरी गीत गाएर पैसा जम्मा गर्छन्। त्यही पैसाले आफ्नो परिवार पाल्छन्।
रत्नपार्कमा उनलाई भेट्न जादा उनी गीत गाउनमै मस्त थिए भने उनकी श्रीमति अरूले दिएको पैसा बटुल्दै थिईन्।
काखको २ वर्षकि छोरीलाई दिनभरी सडकको धुलो र धुवा खुवाउँदै उनीहरु दुवै जना गीत गाएरै पालिन बाध्य छन्। ‘मैले काम गर्न पनि काखमा सानो बच्चा छ, त्यसैले सडकमा गीत गाउनुबाहेक पालिने विकल्प छैन।’
बुद्ध जन्मदै दृष्टिविहिन थिएनन्। सुरूमा आँखा रातो भएर दुखेछ। उपचार गर्दा गर्दै डाक्टरले ‘नसा सुकिसक्यो अब देख्न सक्दैनन्’ भनेपछि बुद्धको संसार हेरेर वाच्ने रहर विचमै तुहिएछ।
बुद्धकी श्रीमति अहिले २४ वर्षकी भईन् भने वुद्ध २६ वर्षका मात्र भएछन्। १२,१३ वर्षको उमेरमा दृष्टिविहिन भएका बुद्धको विवाह भएको ८ वर्ष भएछ।
वुद्धकि श्रीमती भन्छिन्,‘किर्तिपुरबाट सधै आउन सम्भव हुँदैन फेरि छोरालाई २ बजे स्कुल लिन पुग्नुपर्छ त्यसैले दिनमा २-५ सय जति जम्मा हुने भए पनि सधै आउन पाईदैन त्यसैले जीवन धान्न गाह्रो छ।’
यी माथिका केही प्रतिनिधि पात्र मात्र हुन्। काठमाडौंसहित मुलुकका प्रमुख सहरहरूमा सयौंको संख्यामा दृष्टिविहिनहरू सडकमा भोकभोकै कला प्रस्तुत गरेर नै आफ्नो परिवार पाल्दै आइरहेका छन्।
सरकारले यस्ता दृष्टिविहिनहरूका लागि ६ सय रूपैया मासिक भत्ता छुट्टाएपनि कतिपयले पाउन सकिरहेका छैनन्।
सार्वजनिक ठाउँमा गीत गाएर आगन्तुलाई मनोरञ्जन दिए पनि कुनै कुनै मान्छेहरुले पैसा नदिएको दुखेसो उनीहरूले गर्छन्। दृष्टिविहीनहरूका लागि विभिन्न मागहरू उठाए पनि सरकारले नसुन्ने जस्तो गरेको उनीहरूको गुनासो छ।
हामीलाई पनि सरकारले कुनै बिकल्प दिने हो भने हामी यसरी भोक तिर्खा घाम पानी नभनी सडकमा भौतारिनुपर्ने थिएन होला।