न्याय नपाएपछि 'गोरखा' हैन, 'रामशाहपथ' पुगे क्याप्टेन विजय लामा

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा : अन्तत: रामशाहपथमा । तस्बिर : विजय लामाको फेसबुक ।

नेपालमा एउटा भनाइ छ- न्याय नपाए गोरखा जानू । तर,नेपालमा राजसंस्था नै सकिएको अवस्थामा त्यहाँ गएर अब केही हुनेवाला छैन । त्यसैले नेपालीहरू न्याय नपाउँदा गोरखा हैन, रामशाहपथ जान थालेका छन् । 

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा पनि यसपटक रामथाहपथ पुगेका छन् । त्यही पथमा रहेको सर्वाेच्च अदालतमा उनले नेपाल नागरिक उड्डयन प्राधिकरणविरूद्ध मुद्दा दायर गरेका छन् ।

उनको जिकिर छ - प्राधिकरणले नेपाल एयरलाइन्स व्यवस्थापनलाई दबाब दिएर उनलाई प्रवक्ता पदबाट हटाएको हो ।उनले प्राधिकरणका वरिष्ठ क्याप्टेन डिआर निरौलालगायत विरूद्ध मुद्दा दायर गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले 'लामालाई पाइलट र प्रवक्तामध्ये एकमा मात्रै भूमिका दिनु' भन्दै नेपाल एयरलाइन्सलाई भदौको दोस्रो साता पत्र काटेपछि उनलाई प्रवक्ताबाट हटाइएको थियो । प्राधिकरणले यदि त्यस्तो नहुने हो भने लामाको पाइलट लाइसेन्ससमेत सस्पेन्ड गर्ने' उल्लेख थियो। 

यही पत्रका आधारमा लामाको लाइसेन्स एकदिन निलम्बन पनि भएको थियो । तर, चौतर्फी दबाब आएपछि उनलाई प्रवक्ताबाट हटाएर रातारात उनको निलम्बन फुकुवा गरिएको थियो । 

नेपाल एयरलाइन्सको विमान उडानमा रोक लगाउँदै ड्रागन एयरको विमानलाई विमानस्थल कार्यालयले उडान अनुमति दिएको विषयमा पाइलट लामाले मिडियामा दिएको अभिव्यक्तिलाई लिएर प्राधिकरण उनीसँग रूष्ट थियो । 

प्रकाशित मिति: : 2019-07-20 06:32:18

प्रतिकृया दिनुहोस्