भारतको बिहार राज्यको सारणपुर जिल्लामा विहिबार गाई चोरीको आरोपमा तीन युवाले ज्यान गुमाउनु परेको छ। यी तीन युवालाई गाउँलेहरूले कुटीकुटी मारेका थिए।
ज्यान गुमाएका युवाहरू माथि गाई चोरी गरेर एउटा पिकअप भ्यानमा लैजादै गर्दा पक्राउ परेको बताइएको छ।
अधिक कुटाइका कारण दुई जनाको घटनास्थलमै ज्यान गएको थियो। एक जनाले भने उपचारका क्रममा ज्यान गुमाएको बताइएको छ।
पोस्टमर्टममा पनि उनीहरूको निधन चोटका कारण भएको पुष्टी भएको छ। प्रहरीका अनुसार घटना बनियापुरको पिठोरी नन्दलाल गाउँमा भएको थियो। मृतकको नाम राजु नट, विदेशी नट र नौसाद कुरेशी रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरू छिमेकी गाउँमा बसोबास गर्थे।
शुक्रबार बिहानदेखि नै मृतकका परिवार र आफन्त प्रदर्शनमा उत्रिएका छन्। उनीहरूका अनुसार तीन जनै युवा चोर थिएनन्। उनीहरूलाई फसाइएको दावी गरेका छन्।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।