रामेछापका सुख्खा क्षेत्रलाई हरियाली बनाउने अभियान स्वरुप वृक्षारोपण अभियानको थालनी गरिएको छ । वातावरण संरक्षण परियोजनाको अगुवाइमा मन्थलीको आकाशे, बसपार्क र कुनौरीका नाङ्गो पाखा तथा सडक किनारामा वृक्षारोपण गरिएको हो ।
रामेछाप नगरपालिकाको ७, ८ र ९ नम्बर वडामा साउन १५ गतेसम्म ३ लाख रुखका बिरुवा रोप्ने र तीन वर्षमा ९ लाख बिरुवा हुर्काउने अपेक्षा लिइएको छ ।
वृक्षारोपण अभियान अन्तर्गत मन्थली–सेलेघाट सडकखण्ड, मन्थली–रामेछाप सडकखण्ड र मन्थली–सुनारपानी हुँदै सालु सडकखण्डलाई हरियाली क्षेत्रको रुपमा विकास गरिने भएको छ । रोपिएका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्थानीय सरकारले समेत ध्यान दिनुपर्ने राजनीतिक दलको भनाइ छ ।
रामेछापमा अवस्थित नाङ्गा डाँडाहरुलाई हरियाली बनाउन स्थानीय सरकारले पहल गरे आफूहरु पनि सक्रिय बन्ने स्थानीय बासिन्दाको भनाइ छ ।