योपटक विराटनगर उत्रँदा असारको पहिलो साता थियो। केही दिन कोशी प्रदेशलाई झकझोर्ने मनशायमा छु।
हरेकपल्ट विराटनगरको विमानस्थलमा अवतरण गर्दा मलाई 'गिरिजाबाबुको' सम्झना आउँछ। गिरिजाप्रसाद कोइराला विराटनगर यात्रामा आउँदा अखबारमा समाचारका 'हेडलाइन' चर्चामा हुन्थे।
काठमाडौँमा राजनीतिक खिचातानी बढ्दा 'गिरिजाबाबु' अकस्मात विराटनगर झर्ने एकप्रकारको परम्पराजस्तै थियो। अर्थात् कोइराला विराटनगर पुगेपछि केही नयाँ सन्देश पक्कै आउँथ्यो।
एयरपोर्ट झरेलगत्तै ५५५ ब्राण्डको चुरोट सल्काएर विश्राम गर्ने बानी थियो। विमानस्थलमा भेला भएका पत्रकारहरूलाई समाचारको खुराक दिने कोइरालाको विश्वास प्रेसप्रति अनौठो र अपत्यारिलो थियो।
देशमा दोस्रो जनआन्दोलनको सफलतापछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीका रूपमा भारतको भ्रमणमा गए।
भारतीय समकक्षी डा. मनमोहन सिंहले कोइरालालाई नयाँ दिल्ली विमानस्थल पुगेरै न्यानो स्वागत गरेका थिए। स्वागत गर्दा भारतीय प्रधानमन्त्री सिंहले भनेका थिए, 'कोइराला लोकतन्त्रको लागि संघर्ष र उपलब्धिका हकदार हुन्।'
कोइरालाको प्रशंसा गर्दै सिंहले भनेका थिए, 'तपाईं दक्षिण एसियाका महानतम नेता हुनुहुन्छ, हामी तपाईंको सम्मान गर्छौं र तपाईंमाथि गर्व गर्दछौं।'
जुन ७ सन् २००७ को यो सन्दर्भ आज स्व.कोइरालाको जन्म दिवसका दिन सम्झँदैछु।
त्यसअघि भारतीय प्रधानमन्त्री डा. सिंहले शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसलाई विमानस्थलमा स्वागत गरेका थिए।
नेपालमा लोकतन्त्र वहाली भएपछि भारतले गरेको त्यस्तो सम्मान विरलै हुन्छ। जो कोइरालाका नाममा छचल्किएको थियो।
त्यसैगरी बंगलादेश सरकारले देशको स्वतन्त्रताका लागि योगदान पुर्याएको भनेर 'लिबरेशन वार अनर' नामक सम्मान दिएर गिरिजाप्रसाद कोइरालाको सम्मान गरेको छ।
वि.सं. १९८१ असार १८ मा भारत बिहारको टेढी जिल्ला सहर्सामा कोइराला जन्मिएका थिए। यो वर्ष कोइरालाको जन्म शताब्दी पनि हो। पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइराला त्यतिबेला सपरिवार भारत निर्वासनमा थिए।
देशमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक दलहरू संघर्षरत थिए। २००७ सालमा प्रजातन्त्र आयो। सत्ताको साँचोसहित कोइराला परिवार पनि विरानगर र काठमाडौँमा सक्रिय भयो। त्यही कोइराला परिवारबाट मातृकाप्रसाद कोइराला र विपी कोइराला प्रधानमन्त्रीसमेत भइसकेका थिए। तर राजा महेन्द्र र वीपी कोइरालाको टकरावसँगै अन्तर्राष्ट्रिय राजनीतिको बदलिँदो परिवेशको शिकार फेरि नेपाल भयो। कोइराला परिवारले त्यसको सामना गर्नुपर्यो।
२०१७ सालमा कोइराला परिवार फेरि वनारसको निर्वासनमा जानुपर्यो। त्यही परिवारका एक सदस्य थिए, गिरिजाप्रसाद कोइराला।
प्रजातन्त्र स्थापनाका लागि विराटनगर आसपासमा कोइराला सक्रिय भएसँगै उनको राजनीतिक यात्रा सुरु हुन्छ।
सुरुवातमा गिरिजाले विराटनगर जुटमिलमा मजदुरहरूकाे नेतृत्व गरे। वि.सं. २००४ सालताका कोइराला मजदुर नेताका रुपमा लोकप्रिय भएर उदाएका थिए।
३० वर्षे पञ्चायती शासनकालमा कोइरालाले देशभरि यात्रा गरेर प्रजातन्त्रका पक्षमा जनमत बटुले। २०४२ सालको सत्याग्रहमा पूर्वका कोइराला पश्चिमतर्फ खासगरी उनी दाङ, सल्यान, बाँके बर्दियातर्फ समेत केन्द्रित भएका थिए।
०४२ मा उनी दाङमा गिरफ्तार भए। ०४६ को आन्दोलनबाट प्रजातन्त्र स्थापना गराउन कोइरालाको भूमिका महत्वपूर्ण थियो। प्रजातन्त्र स्थापनापछि कोइरालाको सत्तारोहण भयो।
२०४६ सालको जनआन्दोलनताका पनि कोइराला कम्युनिष्टहरूसँग सहकार्य गरेर अघि बढेका थए। २०४८ सालको निर्वाचनपछि बहुमतको सरकारसहित कोइराला शक्तिशाली प्रधानमन्त्री भए। तर कोइरालाले पार्टीमा आन्तरिक व्यवस्थापन गर्न सकेनन्। २७ असार २०५१ मा संसद भङ्ग गर्दै २९ कात्तिक ०५२ मा मध्यावधि निर्वाचन घोषणा गरे। त्यहीँबाट संसदीय राजनीतिमा कोइराला फेरि कम्युनिष्ट विरोधीको छवि लिएर राजनीतिमा सक्रिय भए।
तर एकमनाको सरकार चलाइरहेका कोइरालले संसद भङ्ग गर्ने अपरिपक्व निर्णयसमेत लिए। देशमा विद्रोहको माहोल भयो। मसालको एउटा पङ्ति, जो पछि माओवादको सिद्धान्त पकडेर सरकारका विरुद्ध आन्दोलित भयो।
२०५२ साल फागुन १ गते ४० बुँदे मागसहित माओवादीले विद्रोह सुरु गर्यो। यता संसदीय राजनीतिको अभ्यासमा त्रुटी र कमजोरी बढ्दै थिए। नेताहरूका महत्वकांक्षा र सत्ताको दुरुपयोग बढ्दो थियो। त्यसबीच नेकपा एमालेको नेतृत्वमा समेत सरकार बन्यो। देशमा पहिलो पटक कम्युनिष्ट प्रधानमन्त्री भए मनमोहन अधिकारी।
१९ जेठ २०५८ तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी भएको ‘दरबार हत्याकाण्ड’ पछि माओवादीले समेत आफ्नो रणनीतिमा बदलाव गरेको थियो। अन्य राजनीतिक दलहरूसमेत दिग्भ्रमित भएको अवस्था थियो।
२२ जेठ २०५८ मा नयाँ राजा ज्ञानेन्द्र शाहले हनुमान ढोका, काठमाडौँमा राज्याभिषेकसहित श्रीपेच पहिरिएका थिए। दरबारसँग पहिलेदेखि नै कोइरालाको उति राम्रो सम्बन्ध त थिएन नै। कोइरालाले त्यो घटनालाई नयाँ राजनीतिक शक्ति सञ्चयका रुपमा स्विकारेका थिए।
राजा ज्ञानेन्द्र शाह राजगद्दीमा थिए। उनी आफ्ना बाबु महेन्द्रझैँ सक्रिय राजतन्त्रको अभ्यास गर्ने पूर्ण तयारीमा थिए। प्रधानमन्त्रीका रुपमा कोइरालालाई रुचाइरहेका थिएनन्। अप्रत्यक्ष ढङ्गबाट पिएमको राजनीनामा मागिरहेका थिए राजाले।
२०५८ असार २८ गते तत्कालीन नेकपा माओवादीको आह्वानमा नेपाल बन्द भएको थियो। रोल्पाको होलेरीमा माओवादी र सेना आमने-सामने भए। तर रोल्पामा माओवादीविरुद्धको संघर्षमा सेनाले सरकारलाई असहयोग गरेको थियो।
सेनाका परमाधिपति राजा थिए। कोइरालाले त्यो बुझे। त्यो घटना 'होलेरी काण्ड'का रुपमा चर्चित छ। घटनालगत्तै गृहमन्त्री रामचन्द्र पौडेलले पहिले राजीनामा दिएका थिए। घटना बुझेका प्रधानमन्त्री कोइरालाले पनि ४ साउन २०५८ मा राजीनामा दिए। ६ साउन ०५८ मा कांग्रेसकै नेता शेरबहादुर देउवा प्रधानमन्त्री भए। १८ असोज ०५९ मा देउवालाई असक्षम भनेर राजाले सत्ताबाट हुत्याइदिए। पूर्व पञ्चहरूलाई मन्त्रिपरिषद्को जिम्मा दिए पनि राजाले आफैँ शासन सुरु गरिसकेका थिए।
२१ जेठ २०६१ मा राजाले उनै देउवाको नेतृत्वमा फेरि नयाँ सरकार गठन गरे। उक्त सरकारमा नेकपा (एमाले) पनि सहभागी भयो। तर फेरि १९ माघ ०६१ मा राजाले आफैँले शासन सत्ता हातमा लिएर प्रधानमन्त्री देउवालाई बर्खास्त गरिदिए।
त्यो घटना १ पुस ०१७ सालमा वीपीलाई अपदस्त गरी राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरे भन्दा कम थिएन।
त्यसपछि कोइरालाको राजनीतिक जीवनमा ठूलो परिवर्तन आयो। विद्रोही माओवादीसँग छलफल र वार्ताको मार्ग तय गरे। विभिन्न आरोह र अवरोहबीच कोइराला देश दौडाहमा निस्किए।
एकातिर पार्टी फुटेर २ फ्याक भयो। अर्कातर्फ कोइराला देशभित्र अन्य ६ राजनीतिक दललाई विश्वासमा लिएर आन्दोलनका लागि माहोल बनाउँदै थिए भने कुटनीतिक रुपमा अन्तर्राष्ट्रिय समुदायलाई देशमा लोकतन्त्र संकटमा रहेको विश्वास दिलाउँदै थिए।
राजाले शासनसत्ता हातमा लिएपछि लोकतन्त्रका लागि त्योबेलाका सात दलहरू एकै ठाउँमा उभिए। यद्यपि एमाले र काँग्रेस प्रजातान्त्रिक फेरि सरकार बनाउनेतर्फ लागे। तर कोइराला राजाको नियत सफा नभएको भन्दै सडकमा उत्रिए।
कम्युनिष्टसँग दूरीमा रहने कोइराला सहमति र सहकार्यको अभियान लिएर लोकतन्त्र जोगाउन भन्दै सडकमा थिए। राजा ज्ञानेन्द्रले संसद भङ्ग गराउने बाटोमा प्रजातान्त्रिक काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रयोग गरे। लगत्तै देउवालाई असक्षम घोषणा गरेर कार्यकारी अधिकार आफैँमा केन्द्रित गराएका थिए।
राजा ज्ञानेन्द्रले अधिकांश राजनीतिक दलका नेताहरूलाई जेल हाले अनि नजर बन्द गरे। तर सडक संघर्ष निरन्तर थियो।
२०६२ चैत ६ गते सात दल र माओवादीबीच राजतन्त्रविरुद्ध आन्दोलन चर्काउने सहमति भयो। २५ वैशाख २०६२ मा सात राजनीतिक दलको बैठक बसेर ‘पूर्ण प्रजातन्त्र र शान्ति स्थापनाका निम्ति प्रतिनिधिसभा पुनःस्थापना, सर्वदलीय सरकार र माओवादीसँग वार्ता गरी संविधान सभासम्म जान सकिने’ प्रतिबद्धता सार्वजनिक गर्यो। यी राजनीतिक गतिविधिलाई कोइरालाले आफैँ नेतृत्व गरिरहेका थिए।
५ मंसिर २०६३ मा तत्कालीन नेकपा (माओवादी) र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो।
आन्दोलन उत्कर्षमा पुगेका बेला ज्ञानेन्द्रले वैशाख ८ मा सम्बोधन गरे, जसलाई दलहरूले अस्वीकार गरे। वैशाख ११ मा राजा ज्ञानेन्द्र अर्को सम्बोधन गर्न बाध्य भएका थिए। राजनीतिक दलहरूले लोकन्त्र स्थापना भयो भन्ने ठम्याए।
आन्दोलनको जगमा २०६३ वैशाख १४ मा गिरिजाप्रसाद कोइराला सर्वसम्मत प्रधानमन्त्री चुनिए। त्यो अन्तरिम सरकार थियो। जेठ ४ मा पुन:स्थापित प्रतिनिधिसभाले राजाका थुप्रै अधिकार कटौतीको घोषणासमेत गर्यो। राष्ट्राध्यक्ष र सरकार प्रमुखको कार्यभार कोइराललाले सम्हालेका थिए।
वि.सं. २०६४ सालमा संविधानसभाको निर्वाचनसमेत कोइराला नेतृत्वको सरकारले गरायो। तर संविधानसभाबाट पहिलो दल बनेको माओवादी कोइरालाको प्रभावबाट शसंकित हुन थाल्यो। राष्ट्रपति निर्वाचनसम्म पुग्दा माओवादी र काँग्रेसको सम्बन्धमा चिसोपन थपिएको थियो। राष्ट्रपतिमा डा.रामवरण यादव चुनिएसँगै कोइरालाको राजनीतिक जीवन टुङ्गिएको थियो। तर संसद पुन:स्थापना गराउने उनको एकल अठोटले देशमा प्रजातन्त्र वहालीको मूल फुटाएको थियो।
कोइराला २०६६ चैत ७ गते भौतिक रुपमासमेत बिदा भए। नेपाली राजनीतिमा सात दशकभन्दा लामो समय सक्रिय रहनु चानचुने विषय होइन। नेपालमा मात्रै नभई भारतको स्वतन्त्रता आन्दोलनमा समेत कोइरालाको सक्रिय उपस्थिति थियो। भारतका कतिपय नेताहरू खासगरी समाजवादी धारका नेताहरू श्रद्धाका साथ पाउ छुन्थे, शीर झुकाउँथे र सम्मानपुर्वक 'कोइरालाजी' भन्दथे।
पार्टीमा महामन्त्री र सभापति अनि संसदीय दलका नेता भएका कोइरालाको संगठनमा मजबुत पकड थियो।
कोइरालाको जीवनको र राजनीतिको उत्तरार्द्ध एक साथ भयो। कोइराला दिवङ्गत हुँदा आफ्नो पार्टी नेपाली काँग्रेसका सभापति नै थिए। काँग्रेसमा कोइरालालाई 'गिरिजाबाबु' भनेर समेत सम्बोधन हुन्थ्यो। जो बिहानीको सुरुवातसँगै चुरोट सल्काउँदै दौरा र कोटमा कार्यकर्ता भेट्न एउटा मेच अगाडि उपस्थित हुन्थे। जो विराटनगर र काठमाडौँमा महारगञ्जस्थित कोइराला निवासको शान थिए। स्वास्थ्यमा समस्या बढ्न थालेपछि कोइरालाले चुरोट छाडेका थिए।