लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

बीएल

विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकबाट ठूलो परिमाणमा लागु औषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरी धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेका हुन्। मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार उनी सशस्त्रको सुनसरी अमडुवास्थित बिओपी पोस्टमा कार्यरत छन्।

भारतबाट साइकलमा नाइलनको झोला झुन्ड्याएर आउँदै गर्दा शंका लागेर लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

झोला चेकजाँच गर्दा चिनी र चनामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा लागुऔषध फेला परेको थियो । डीएसपी खिउजुका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा तीन सय नौ एम्पुल लागुऔषध बरामद भएको छ ।

पक्राउ परेका थापा मगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको जानकारी उनले दिए ।

उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ । यस विषयमा अनुसन्धान गरिरहेका एक प्रहरीले भारतको जोगवनीस्थित लागुऔषध खरिद बिक्री हुने डिलरको सम्पर्कमा रहेका नेपाली व्यापारीसम्म लागुऔषध ओसारपसारको काम गर्ने गरेको खुलेको बताए।

‘भारतीय डिलरसँग सम्पर्कमा रहेर नेपालमा लागुऔषधको कारोबार गरिरहेका व्यक्तिसम्म जोगवनीबाट लागुऔषध ल्याउने गरेको पाइयो,’ उनले भने, ‘सशस्त्रमा कार्यरत रहेका परिचय पत्रको दुरुपयोग गर्दै गलत धन्दामा संलगन रहेको खुलेको छ ।’

अमडुवास्थित बिओपीका इन्चार्ज सशस्त्रका इन्सपेक्टर डम्बर नेपालीले लागुऔषधसहित पक्राउ परेका सहायक हवल्दार थापामगर कार्यालयमा कुनै जानकारी नदिइकन मंगलबार दिउँसो बाहिर गएको बताए ।

 

प्रकाशित मिति: : 2019-07-17 15:41:45

प्रतिकृया दिनुहोस्