मौसम पूर्वानुमान शाखा प्रमुख राजेन्द्र शर्माले राजधानी काठमाडौंमा अव्यवस्थित रुपमा बनेको बस्तीका कारण बाढीले सर्वाधिक क्षति पुर्याएको बताएका छन्।
उनले अव पनि दीर्घकालिन योजनासहित शहरलाई व्यवस्थित गर्न नसकिएको खण्डमा काठमाडौंमा ठूलो दुर्घटना निम्तिने दावी गरे।
राजधानीमा ८–१० वर्षअघि एकै दिन २ सय मिलिमिटर पानी पर्दा पनि क्षति हुँदैनथ्यो। यसपालि १ सय १० मिलिमिटर पानीले दुर्घटना निम्त्यायो।
‘अव पनि हामी नसच्चिने हो भने यो भन्दा पनि कम पानीले शहर डुवानमा पर्नेछ,’ पूर्वानुमान शाखा प्रमुख शर्माले ब्रेक एन लिंक्स (बीएल मिडिया) लाई अन्तर्वार्ता दिने क्रममा दुःखेसो पोखे। उनी काठमाडौंको नदीनाला मिचेर बसाँलिएको बस्ती नै विनासको प्रमुख कारण भएको बताउँछन्।
‘पानीको राम्रो निकास बनाउन सकिएन् भने अर्को वर्ष यो भन्दा जोखिम बढ्ने छ।’
विश्व मानचित्रमा नेपाल जलवायु परिवर्तनजन्य विपद् जोखिममा चौथो नम्बरमा पर्छ। यस्तै, बाढी पहिरोजन्य विपद् जोखिमको दृष्टिकोणले ३० औं स्थानमा छ।
सरकारले आर्थिक बर्षका लागि विपद् व्यवस्थापनमा ५ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । यस्तै जोखिमयूक्त बस्तीका सबै परिवारलाई सुरक्षित तवरले एकीकृत बस्तीमा सार्न ५० करोड रुपैयाँ छुट्टयाएको छ।
बाढी पहिरोको जोखिममा परेका देशवासीको उद्दारका लागि सरकारले जति नै रकम छुट्टयाएपनि जोखिम न्युनिकरणका लागि दिगो उपायको खोजी नभएसम्म यी सबै कामहरू देखावटीमै सिमित हुनेछन्।
शाखा प्रमुख शर्मा जल तथा मौसम विज्ञान विभागले बाढीको सूचना पहिले नै दिएका कारण देशको तराई क्षेत्रमा मानवीय क्षति कम भएको दावी गर्छन।
सरकारले तराईको डुवान हुने क्षेत्र सर्लाही र रौतहटका २ लाख वासिन्दालाई जेठ २६ मा एसएमएसबाट सूचना प्रसारित गरिसकेको थियो।
यस्तै खोलाले सतर्कता तह पारगर्ने वित्तिकै कमला नदीमा ७५ हजार कोशीमा ६० हजार, पश्चिम राप्तिको बाँके जिल्लामा ५० हजार एसएमएस पठाएको जानकारी उनले दिए।
‘एसएमएस सूचनाकै कारण बाढीबाट हुने मानवीय जोखिम कम भएको हो। सरकारले तराईको जहाँ एसएमएस पठाएको छ। त्यो क्षेत्रमा डुवान मात्र भएको छ। मानवीय क्षति एकदमै न्युन छ,’ उनले भने।
सरकारले वर्षामापन गर्ने यन्त्र सयभन्दा बढि ठाउँमा राखेको पनि उनले जानकारी दिए। शर्मा खोलामा पानीको वहाव मापन गर्न ८५ ठाउँमा यन्त्र जडान गरेको बताउँछन्।
‘हामीले नदीमा पानीको वहाव खतराको घण्टीभन्दा माथि जाने वित्तिकै तत्काल एसएमएस पठाएका थियौं,’ उनले भने।
तराई क्षेत्रमा मौसम विभागको कार्य प्रभावकारी देखिएपनि राजधानी काठमाडौंमा फितलो देखिएको थियो। राजधानीवासीले बाढीको पूर्वानुमानसहितको एसएमएस पनि पाएनन्।
उनी राजधानीमा जोखिमको अनुमान लगाउन नसक्दा गल्ती भएको स्विकार गर्छन। ‘पहिले योभन्दा बढी पानीले त्यति ठूलो प्रभाव पारेको थिएन। तर, यसपालि कम पानी पर्दा पनि राजधानीका धेरै ठाउँ डुवानमा परे’, उनले भने, ‘यसको कारण पनि अव्यवस्थित शहरीकरण हो।’
उनी अवको २–३ दिन बाढीको जोखिम नरहेको बताउँछन्।