नेपालमा प्रदेश नम्बर १ सरकारले विद्यार्थीलाई लक्षित गर्दे मंगलबारबाट विशेष कार्यक्रम सुरु गर्ने भएको छ।
‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ‘म अघि बढ्छु’ भन्ने कार्यक्रम सुरु गर्न लागेको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार विराटनगरमा यसको सबै तयारी पूरा भएको जानकारी दियो ।
प्रदेशका १४ वटै जिल्लामा एकै साथ सुरु हुने कार्यक्रम विराटनगरमा मंगलबार बिहान ११ बजे मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
प्रदेशको सामाजिक तथा सांस्कृतिक पक्षलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिइने मन्त्रालयका सचिव भरतमणि रिजालले जानकारी दिए।
उनका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई सक्षम, सवल, जिम्मेवार, चरित्रवान, नैतिकवान, सकारात्मक, सुसंस्कृति तथा उत्तरदायी बनाएर क्षमतामूलक समाज निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले यो कार्यक्रम प्रदेश सरकारको महत्वपूर्ण भएको बताए । यसले खास गरेर किशोर किशोरीलाई कूलत र दुव्र्यसन मुक्त बनाई सकारात्मक र सृजनशिल बनाउने उनको भनाइ छ ।
‘२०७५ मंसिरदेखि नै यसको तयारी गरिएको हो,’ उनले भने, ‘तयारी गर्दै गर्दा कार्यक्रमको सुरुवात गर्न केही ढिला भयो ।’ कार्कीले १३ देखि १९ वर्ष उमेर समूहकामा लागुऔषध दुव्र्यसनको डर लाग्दो अवस्था रहेको पनि बताए ।
२०६८ को जनगणना अनुसार प्रदेश १ को जनसंख्याको करिब ११ प्रतिशत १३–१९ वर्ष उमेर समूहका छन् । यो उमेर समूहकाले कूल लागुऔषध प्रयोगकर्ताको २० प्रतिशत हिस्सा ओगटेको सरकारको तथ्याँक छ ।
प्रदेश १ मा यस कार्यक्रमबाट दुई हजार विद्यालयका दुई लाख विद्यार्थी लाभान्वित हुने अपेक्षा सरकारको छ । सरकारले यस कार्यक्रमलाई आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रममै समावेश गरेर बजेट छुट्याएको थियो । यस कार्यक्रमका लागि पहिलो चरणमा २ करोड ५० लाख रुपैयाँ खर्च गर्ने सरकारको तयारी छ ।