प्रदेश १ मा ५ दिन प्रदेशसभा बैठक स्थगित, बाढी पीडितको उद्धारमा जुट्न सांसदलाई निर्देशन

अविरल वर्षासँगै मोरङको कटहरी गाउँपालिकामा डुवानमा परेका विभिन्न बस्ती ।


सत्तारुढ नेकपाको प्रदेश १ संसदीय दलले बाढी, पहिरो र डुवानबाट पीडितहरूको उद्धारमा तत्काल जुट्न सांसदहरूलाई निर्देशन दिएको छ ।

नेकपा प्रदेश १ संसदीय दलले सोमबार विज्ञप्ति जारी गर्दै असार ३१ देखि साउन ४ सम्म प्रदेशसभाको बैठक स्थगन गरेको छ। र, पीडितको उद्धारमा प्रभावकारी रुपमा खटिन निर्देशन दिएको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीद्धारा जारी विज्ञप्तिमा बाढी, पहिरो र डुवानबाट प्रभावित क्षेत्रमा पुगेर राहत, उद्धार र पुनःस्थापनाको कार्यमा जुट्न सांसदहरूलाई निर्देशन गरिएको छ ।

उद्धारमा जुट्न नेकपा संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री शेरधन राईको निर्देशन रहेको उल्लेख गर्दै जारी गरिएको विज्ञप्तिमा नेत्रृत्वदायी भूमिका खेल्न प्रदेश १ का नेकपा सांसदहरूलाई आह्वान गरिएको हो। 

नेकपाले प्रति मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने र घाइतेको उद्धार, उपचार र राहत तथा पुनःस्थापनका लागि भन्दै प्रदेश सरकारले गरेको निर्णयको स्वागत पनि गरेको छ। केही दिनदेखि अविरल परिरहेको वर्षाका कारण पुगेको जनधनको क्षतिप्रति नेकपाले दुःख पनि व्यक्त गरेको छ। नेकपाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेको शीर्घ स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसएसपी किशोर दाहालका अनुसार हालसम्म प्रदेशमा बाढी, पहिरो र डुबानमा परेर २१ जनाको मृत्यु भएको छ । १६ जना घाइते र ९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: : 2019-07-15 21:25:27

प्रतिकृया दिनुहोस्