भैंसी पालनले बनाएकाे उज्यालो मुहार

उद्यमीकाे कथा शृङ्खला -१

हाेण्डा बाइककाे भटटट.... आवाज। त्यसमाथि अधबैंसे पुरुष। पछाडि ठूलाे झाेला। त्यसभित्र ग्यालेन र जम्बाे काेककाे बाेतल। ती सबै दुधले टनाटन भरिएका।

बजारका डेरी र चिया पसल अगाडि बाइक राेक्दै बाेतल र ग्यालेन रित्याउँदै अघि बढ्दै गरेकाे दृश्य  जुम्ला खलंगाबासीले निरन्तर देखिरहेका छन्। दृश्यका बाइक चालक  हुन् गोठीचौर गाउँपालिकाका भैंसी पालक कृषक विष्णु धिताल।

सुरुसुरुमा एउटा झाेलामा पाँच सात माना दुध बेच्न लुखुरलुखुर हिड्दै खलंगा बजार आउने तीनै विष्णु हिजाेआज बाइक चडेर दुध बिक्री गर्ने भएका छन्। उनकाे कथा जाे काेहिका लागि प्रेरणाकाे स्राेत बन्न सक्छ। उनकाे मेहनत र लगनशिलताले पाएको सफलताले धेरैकाे मन तान्नसक्छ।

आजभन्दा २१ वर्ष अगाडि विष्णु एक सामान्य जीवन निर्वाह गरिरहेका किसान र मजदुर थिए। उनकाे मजदुरी र खेतीपाती निर्वाहमुखी थियाे। थप आम्दानीकाे स्राेत थिएन। बचत सुक्काे नहुने भएपछि मन खिन्न थियाे। सम्भावना खाेजिरहेका थिए तर लागानीकाे जाेहाे भैसकेको थिएन। बैंक तथा वित्तीय संस्थाले सितिमिति नपत्याउने। अहिलेकाे जस्ताे गाउँगाउँमा बैंक पुगिसकेका पनि थिएनन्। बजारका बैंकमा सजिलै पहुँच नपुग्ने। त्यसैले रकम जुट्न सकिरहेको थिएन।

साेचभैसीं पालन गर्ने थियाे तर जुम्लामा व्यावसायिक रुपमा सम्भव छैन भन्ने मानिसहरुकाे संख्या कम थिएन। हुनपनि गाेरस(दुध) गुजारामुखि मात्र भैरहेकाे सबैले देख्दै आएकाे हाे। तर उनी भने माैका कुरेर बसेका थिए। एकदिन गुठिचाैर गाउँपालिकामा गरिबी निवारण काेषका कर्मचारी समूह बनाउन आए। उनी समूहकाे सदस्य बने। पछि उनलाई गरिबी निवारण काेषले लगानी गर्ने भयाे।

बैंकले नपत्याउने विष्णु धितालजस्ता सामान्य किसानहरुले सहुलियत व्याजदरमा ऋण पाए। कतिपय ठाउँमा गरिबी निवारण काेषकाे रकम दुरुपयोग भयाे। तर विष्णुले यसलाई सुनाैलाे अवसरमा परिणत गरे।

जिवनमा ठूलाे रकम कसैले पत्यायाे। त्यसबेला उनका आँखा रसाएका थिए । उनले ढिलाे नगरी भैंसी किन्ने याेजना बनाए। त्यसमा केही रकम थपथाप गरेपछि एउटा भैंसी किने। अब उनकाे यात्रा निर्वाहमुखीबाट व्यावसायिकता उन्मुख भयाे।

गोठीचौर गाउँपालिकाकास्थित धिता गाउँको आफ्नै घरमा व्यवसायीक भैंसी पालनकाे यात्रासुरु भयाे। याे यात्राले नै हाे उनलाई उनले झाेला भिर्ने बनाएकाे। अर्थात भैंसीले गराएकाे झाेले यात्रा।

गाउँकाे दुधले बजार पाउन थालेपछि विष्णु र उनकाे परिवार खुसी थियाे। मेहेनत बढिरहेको थियाे। थाेरैथाेरै बचत पनि भैरहेकाे थियाे। एकाएक मालामाल हुने कुरा भएन। उनकाे व्यवसाय अहिलेकाे राजनीति र सरकारी सेवा जस्ताे पनि थिएन। तर मेहेनतले बिस्तारै फल दिन थालेकाे थियाे । उत्साह बढिरहेको थियाे । जाँगर चलिरहेकाे थियाे।

दशैमा आशिर्वाद दिनेहरु 'एका एक्काइस भयस(एकबाट बढेर एक्काईस)' भन्छन् । याे उक्ति विशेषगरी छाेराेछाेरी धेरै हुनुपर्छ भन्ने पुरानाे मान्यतामा आधारित भएपनि विष्णुकाे भैंसीपालनमा याे अनिवार्य थियाे । उनले मेहेनत गरेर आशिर्वादमा सन्तान बढाउने उक्ति झैं एकबाट एक्काईस भैंसी बनाउने थियाे। उनी अहिले एक्काईस बनाउन सफल नभएपनि १४ वटा भैंसी बनाउन सफल भएका छन् ।

हाल विष्णुकाे फार्म जिल्लाकै उत्कृष्ट व्यावसायिक फार्मका रुपमा स्थापित भैसकेको छ। आत्मविश्वास, लगनशिलता र मेहनतले अघि बढ्न सकियो भने सानो सहयोगबाट पनि ठुलो काम गर्न सकिन्छ भन्ने उदाहरण उनले पस्किरहेका छन्।

‘परिवारको खर्च धान्नकै लागि थुप्रै दुख कष्ट सहे, ती कामले मलाई खासै आम्दानी दिएनन्,’ धिताल भन्छन् ‘अनि अरुको भन्दा नयाँ काम गर्ने सोच बनाए । तर त्यो कसरी गर्ने भन्ने सोचीरहेको थिए । समयले सब सिकायाे ।'

कामसँगै अनुभुति संगालिने रहेछ। सुरक्षा र जनमुखि व्यवस्थापनकाे चिन्ता बढ्दाे रेहेछ । उपाया खाेजिने रहेछ । उपाया खाेज्दा खाेज्दा भेटियाे जाेखिम हस्तान्तरण गर्ने। उनले सबै भैंसीकाे विमा गरी सुरक्षित हुने बाटाे अपनाएका छन्। भन्छन् 'ढुक्क छु।'

त्यसै भनिएकाे रहेनछ समय बलवान् छ भनेर । समयसँगै हिड्याे भने सबै कुरा सिकिने रहेछ। समयले अनुकुल हुन सिकाउँदाे रहेछ। सुरुमा झाेलामा राखेर एक घण्टा पैदल हिडेर दुध बेच्न बजार पुग्ने विष्णु अहिले बाइक चढेर सररर १५ मिनेटमा बजार पुग्छन्। यसले उनकाे व्यवसाय विस्तारमा टेवा पुर्‍याएकाे उनले अनुभूत गरेका छन्।

'१० ओटा भैंसीबाट दैनिक ४० लिटर दुध प्रति लिटर ७० का दरले विक्रि गर्छु,' उनी सुनाउँछन्  ‘सुरुमा धेरै आम्दानी लिन सकिएन तर मेहनत गर्न छोडिएन पनि।'

व्यवसाय प्रारम्भका दिन सम्झिदा विष्णु नाेस्टाल्जिक हुन्छन्। ती दिन समेझिदै भन्छन्, ‘विस्तारै परिवारका सदस्यहरुले साथ  दिए। आम्दानी बढ्दै गयो।’ उनकाे मुहार उज्यालो हुन्छ। मुसुक्क मुस्कुराउँछन्।

सानाठूला गरेर १४ वटा भैंसी भएकाे फर्मामा अहिले केही भैंसीकाे लागि एक लाखसम्म पनि लगानी गरिएकाे छ। उनलाई लगानी गर्दा कुनै पछुताे छैन। जति बढी लगानी उति बढी आम्दानी भन्ने मनमा परेकाे छ।  

उनकाे भैंसी पालन व्यवसायमा सम्भावना मात्र हाेइन चुनाैति पनि उत्तिकै छन्। हुनत सम्भावना र चुनाैति एक सिक्काका दुइ पाटा हुन् । उनकाे व्यवसायकाे ठूलाे चुनाैति घाँस हाे। वर्षामा जुम्लामा घाँसकाे लागि कुनै समस्या हुँदैन। तर हिउँदमा सुख्खा हुने हुनाले हरियाे घाँस पाइदैन। जसकाे असर दुधकाे मात्रामा पर्न जान्छ । तुलनात्मक रुपमा हिउँदमा दुध उत्पादन घट्छ। तर आँट गरिसकेपछि पछि हट्ने कुरा आउँदैन। वर्षामा खुकाएर राखेकाे सुकाे घाँस र दाना प्रयाेग गरि व्यवस्थापन चुस्त बनाउने काममा उनी सफल छन्।

हाल उनी सहित सात जनाकाे परिवार छ । परिवारकाे प्रमुख आम्दानी भनेकै त्यही भैंसी पालन व्यवसाय हो। भैंसीलाई दैनिक दानापानी, उपचार खर्च, गोठ सुधार लगायत अन्य घरायसी खर्च कटाएरपनि उनले मासिक ३० हजार भन्दाबढी आम्दानी गर्ने गरेका छन्। यो कमाई हाल विदेशीने आैसत नेपालीकाे भन्दा राम्रो हो ।

सामान्य कृषकबाट व्यावसायिक फार्म संचालक बनेका सफल किसान विष्णुलाई यतिबेला विभिन्न सघं संस्था तथा भेटेनरीले पनि सहयाेग गरेका छन्। आफ्नाे मेहेनत र सबैकाे सहयोगबाट अहिले ३० लाख बढी लगानीमा व्यवस्थित फार्म बनेकाे छ।

उत्कृष्ट भैसीपालक कृषकका रुपमा हेटौंडा लगायत स्थानका व्यवसाय अवलोकन गर्ने अवसर पाएका विष्णुलाई अहिले जिल्ला पशु सेवा कार्यालय जुम्लाले गोठ सुधारका लागि अनुदान र अन्य प्रविधिक सहयोग उपलब्ध गराएको छ। स्थानीयस्तरमै प्राविधिक सहयोग पाएपनि उन्नत जातका भैसी र तीनलाई आवश्यक घाँस पर्याप्त नहुँदा भने उनलाई व्यवसाय संचालनमा केही कठिनाई छ। 

उनी भन्छन्'विदेश गएर किन दुख गर्ने ? जुन सुकै व्यवसाय अपनाएपनि जुम्लामा राम्रो पैसा कमाउने वातावरण देख्छु । जुम्लामा नहुने केही छैन स्याउ, तरकारी, दूध, जडीबुटी आदी सब छ।' त्यसैले उनी सबैलाई सुझाव दिन्छन् 'प्रचुर सम्भावना भएकाे हाम्राे देशमा स्थानीय स्राेत साधनसँग सम्बन्धित कुनै एउटा पेशा अंगालेर आफ्नो काम गर्न सकियाे भने राम्राे आम्दानी लिन सकिन्छ। हाम्राे स्वाभिमान जाेगिन्छ। देश विकास हुन्छ।'

प्रकाशित मिति: : 2019-07-15 12:31:04

प्रतिकृया दिनुहोस्