विराटनगर डुबानमा

एजेन्सी

विराटनगर । पाँच दिनदेखि परेको वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका छन् । विराटनगर महानगरपालिका–१, ६, ७, ८, ११, १२, १५, १५, १८ र १९ वडा सबैभन्दा बढी डुबानमा परेका छन् ।

बाढी बस्तीमा पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । विराटनगर–१२ बखरीमा मात्र ८० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिए। “घरभित्रै सम्म बाढी पसेको छ, खाद्यान्न, लत्ताकपडालगायत सामग्री नष्ट भएको छ”, उनले भने। बाढीबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका अनुसार बाढीपीडितलाई स्थानीय सामुदायिक विद्यालय, अग्लो स्थान तथा समुदायिक भवनमा सुरक्षित रुपमा राखिएको छ। महानगरले खानेबस्नेसमेत व्यवस्था मिलाएको उनले बताए। प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री, खाद्यान्न्न र स्वच्छ पानी वितरण गरेको छ ।

“बाढीपीडितको तथ्याङ्क तथा क्षतिको विवरण सङ्कलन भइरहेको छ, सँगसँगै राहत सामग्री वितरण गरिरहेका छौँ”, प्रमुख पराजुलीले भने। बाढीपीडितको उद्धार तथा राहत वितरणमा महानगरपालिका, स्थानीय सङ्घसंस्था, नेपाल रेडक्रस, स्थानीयवासीलगायत जुटेका छन् ।

प्रजिअ रमेश केसीका अनुसार जिल्लामा बाढीबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट पाँच हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । रासस

प्रकाशित मिति: : 2019-07-14 19:32:10

प्रतिकृया दिनुहोस्