सार्वजनिक शिक्षा-२
प्लस टुको शिक्षा सकिदा नसकिदै प्राबिधिक शिक्षाको भोकले उनीहरु गएका थिए - कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङमा अध्ययन गर्न। ३०७५ पुस २० गते शैक्षिक भ्रमणबाट फर्किदै गर्दा ऊ सँगै उसका साथी कुसुम र शैलेजाको पनि दाङमा भएको बस दुर्घटनामा ज्यान गयो। ती तीनजना नै मेरा विद्यार्थी थिए।
अघिसम्म सब हँसिला थिए। सबै आकर्षक पहिरनमा सजिएका थिए। मेरो छेउमा बसेकी थिइन् उनी। मैले गरेको थिएँ- एक प्रश्न। 'हामीलाई त बिर्सन्नौ नि?’ उनी एक शब्द पनि बोलिनन्। टाउको निउराएर बसिरहिन्। मैले फेरि उसैगरी प्रश्न गरें। बोलिनन्। अहँ! केही बोलिनन्। एकछिन पछि निहुरिरहेको उनको टाउको उठाउँछु- उनका आँखाबाट आँसु पो झरेका छन त ! न्यास्रो लाग्छ। किन प्रश्न गरे हुँ जस्तो हुन्छ।
२०७५ साल चैत महिना सकिन दुई दिन बाँकि थियो। स्कुलमा कक्षा ११ का विद्यार्थीले कक्षा १२ कालाई बिदाई गरिरहेका थिए। १२ कक्षाको तर्फबाट मञ्चमा हामीसँगै अतिथि भएर बसेकी थिइन् उनी पनि। बसिरहेको बेला हाँस्दाहाँस्दै बग्न थालेका हुन उनका आँसु।
२०७३ सालदेखि रत्नचुडेश्वर मावि बोहरागाउँमा कक्षा ११ को लेखा र अर्थशास्त्र पढाउन सुरु गरेको हुँ। म बितेका यी तीन वर्षमा यसरी नयाँलाई स्वागत र पुरानालाई बिदाई गर्ने भैरहेको छु। छोटो अवधिमा यस्ता केही दृश्य देखिए जसले जिन्दगीमा केही उमङ्ग भर्ने काम गरे, केहीले जिन्दगीलाई नमिठो बनाएर गए।
उनी नजिक बसेकी छिन्। उनको स्वाँकस्वाँकको आवाजले सूचित गर्छ बिदाइको उक्त क्षण उनको लागि पीडादायी बनिरहेको छ। रोइरहेकी उनी कक्षा १२ सकाएर बिदा हुन आँटेकी रिता हुन्। रिताको रुवाइले उनका सबै साथी र उनीभन्दा अगाडि आफूले पढाएका विद्यार्थीको सम्झना गरायो। दिमागमा बिगतका पुराना यादहरु एकाएक सल्बलाउन थाले- फिल्मको रिलझैं।
‘सरको मुस्कान चाँहि हो के।’ ‘सरको मुस्कान मलाई सबभन्दा मन पर्छ।’ ‘सरको मुस्कान देखेर म फिदा हुन्छु।’ ‘सरको यो चाहि हो के।’ ‘ऊ चाहिँ हो के।’ भन्दै जिस्काउने ऋतेन हामीमाझ छैन। जब जब उसलाई सम्झन्छु यी वाक्यले बेचैनी बनाउँछन्। मन भक्कानिन्छ। लाग्छ मैले पनि सोचेको थिएँ। उसलाई पनि - तिम्रो पनि पढाइ त हो के, उमेर अनि केही गरौं भन्ने जोशले मलाई फिदा बनाउँछ भनेर तर मैले त्यस्तो केही भन्नै पाइँन, ऊ एउटा बस दुर्घटनामा परेर कहिलै नफर्कने गरी गयो।
प्लस टुको शिक्षा सकिदा नसकिदै प्राबिधिक शिक्षाको भोकले उनीहरु गएका थिए - कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङमा अध्ययन गर्न। ३०७५ पुस २० गते शैक्षिक भ्रमणबाट फर्किदै गर्दा ऊ सँगै उसका साथी कुसुम र शैलेजाको पनि दाङमा भएको बस दुर्घटनामा ज्यान गयो। ती तीनजना नै मेरा विद्यार्थी थिए।
गर्नलाई त हामीले बिदाइको दिन बाचा गरेका थियौं- सम्पर्कमा रहिरहने भनेर। तर, कहिले सम्पर्कमा नरहने गरी उनीहरुसँगको सामिप्यता टुटेको छ। जसले मनलाई पटकपटक अशान्त तलाउ जस्तो बनाउँछ। उथलपुथल हुन्छु। समय समयमा आँखा अगाडि आउने ती तीन अनुहारले पूरै नौ रेक्टरको भूकम्प गएझैं बनाउँछन्। मन पूरै उजाड हुन्छ। भूकम्पपछि भत्किएको बस्तीजस्तै। मेरा लागि जिन्दगीको नमिठो दृश्य बनेर बसेको छ यो।
अर्को एउटा प्यारो मान्छे हो- किरण। उसले ११ मात्रै पढ्यो। उसलाई पनि साधारण शिक्षामा खास रुचि भएन। ऊ अमिन पढ्न भनेर गोर्खा गयो। अमिन पढेर जमिन नाप्छु भन्छ। ऊ पनि सम्पर्कमै छ। प्रायश: बिहानतिर म्यासेज गरिरहन्छ। ‘हेलो सर।’ ‘मर्निङ सर’ भनी आएका मेसेज उसैका हुन्छन्। उसले मलाई स्कुल सुरु गरेको दुई तीन दिनमै प्रपोज गरेको थियो 'आई लभ यू’ भनेर। लगातार प्रपोज गरिरहयो। दुई-चार दिनसम्म त 'चुप लाग' भनेर टारें। अर्को दिन फेरि केटोले भन्यो ‘आइ लभ यू।' मेरो पालो ‘आइ लभ यू टु’ भनिदिए। त्यो दिनबाट हाम्रो लभ पर्यो। उसले ‘आई लभ यू’ भन्न छोडेको छैन।
नरेशले छुट्टै छाप छोड्यो। ऊ १२ को पूरै पढाइ सकेर गयो। मेहनती र लगनशील पहिचान बनाउन सफल नरेश कक्षा ११ को नतिजामा कर्णाली अञ्चल टपर भयो। आफू त परिचित बन्यो बन्यो आफ्नो स्कुललाई पनि सिङ्गो कर्णालीको टपर स्कुलको नामले परिचित बनायो। जति पढ्यो, त्यसमा अब्बल भयो। फेल हुने केटाकेटी पनि उसले आफ्नो प्लस टू स्कूलको इज्जत राख्यो भनेर रमाए। उनीहरुले भने ‘अञ्चल टपर हाम्रो स्कुल भयो। हाम्रो नरेश भयो।’ उसले आफ्नो प्रतिष्ठा कक्षा १२ मा पनि कायम राख्यो फेरि पनि ऊ अञ्चल टपर भयो। त्योबेला पूरै स्कुल रमायो। उसले स्कुलको इज्जत बढायो। स्कुलले ख्याति कमायो। उसको रिजल्ट स्कुलको ठुलो अदृश्य सम्पत्ति बन्यो।
पुर्णिमा र सरस्वतिको नाम अलग अलग लियो भने अन्याय हुन्छ जस्तो लाग्छ। उनीहरुले त्यस्तो संगत गरे जुन देख्ने सबैले डाहा गरे। उनीहरु दुबैले रत्नचुडेश्वरमा पूरै दुई वर्ष बिताए। दुई वर्षमा प्लस टु सके। त्यसपछि भने दुबैजना छुट्टिए। अहिले पुर्णिमा जुम्ला र सरस्वती काठमाडौंमा स्नातक प्रथम वर्षमा अध्ययन गरिरहेका छन्। उनीहरु दुबैजनाको दुबै वर्षको राम्रो नतिजाले स्कुलको ख्याति बढाउने काम गर्यो। पुर्णिमासँग लगभग हरेक दिन क्याम्पसमा भेट हुन्छ। सरस्वती टाढा भए पनि सम्पर्क टुटेको छैन।
क्षितिज, दिल, नरेन्द्र, जीवनले दिएको असिम मायाले आफू शिक्षण पेशामा हुँदा गर्व लाग्छ। मेरो अध्यापन यात्राको छोटो अवधिमा पहिलो ब्याजका विद्यार्थी सबै सँधैभरि प्यारा छन्। उनीहरुले ममा कुनै न कुनै रुपमा अमिट छाप छोडेका छन्।
११ मात्रै पढेर पनि मनमा बसेकी एउटी शान्ति हो। आधा पढेर गइन् तर पूरै जीवनको एउटा प्रिय मान्छे भइरहिन्। अर्थात् घरकी बहिनीभन्दा प्यारी। अहिले पनि हाम्रो सम्पर्क भैरहन्छ। उनले फोनमा वाचन गर्ने र मेसेन्जरमा पठाउने पहिलो वाक्य हुन्छ ‘महेश दाइ’। हुन त म सर थिए। तर हाम्रो चिनजान पहिलेदेखिको हुनाले उनले सँधै दाइ नै भनिन्। फोनमा आउने उनको मिठो आवाज मेसेजेन्जरमा पनि उस्तरी आएर मानमा गुन्जिरहन्छ। उनको एक वाक्यले मात्र मन फुरुङ्ग भएको आभास हुन्छ।
स्मृतिबाट यथार्थ धरातलमा आइपुग्दा नजिकै रिता बलिन्द्र आँसुका धार बगाइरहेकी हुन्छिन्। उनलाई सम्झाउन अनेक उपाय लगाउँछु। अनेक तरहले फकाउँछु। नमाने रिसाउछु। बल्लबल्ल मधुरो अनुहारलाई उज्यालो बनाउन एक धर्सो मुस्कान फुस्काएकी उनलाई गाउँन लगाउछु। उनले ठाडिभाका गाउँछिन्- ‘२०७६ सालको, शुभकामना छ।
विद्यालय राम्रो गर्ने, मनमा भावना छ।’
‘स्कुल छोड्न मन थिएन, छोड्नै पर्यो मैले।
राम्रो मान्छे बनेपछि, फर्की आउला कहिले?’
निकै सुमधुर लयमा गाएको ठाडी भाका वियोगले भरिएकोले बिक्षिप्त मनलाई लामो समय गाउन दिएन। उनी मञ्चबाट बिदा भइन्। फेरि हाँस्दाहाँस्दै आँसु बगाइन्। अब हामीलाई असहज भएन।
पूरै दिन केटाकेटीहरुको प्रतिभाको प्रसंसा गर्दैमा जान्छ। कहिले नाटक मञ्चन गर्छन् त कहिले माया प्रेमका गीत गाउँछन्। कहिले आइटम डान्स गर्छन् त कहिले र्याप-पप। कहिले भाबुक हुन्छन् अनि कहिले उत्तेजित।
यत्तिकैमा मञ्चमा उक्लिन्छ पदम। उसले गाउँछ एक भावुक गीत। माहोल नै पूरै भावुक बन्छ।
आमाले घाँस काट्दै गर्दा, भीरमा जन्मेको मान्छे म।
बुढेसकालको सहारा भई, पिरमा जन्मेको मान्छे म.......!!
लाग्छ- यो गीत शिशिर योगीले होइन, पदमको आफ्नै हो। पदमकै नाममा रेकर्डेड छ।
सात कक्षा ६ जना केटाकेटी मञ्चमा पुग्दा तालिको पर्रा नै छुट्छ। छमछम नाच्छन्। उनीहरुको गीत र नाचमा प्रेम झल्किन्छ। मन रमाउन थाल्छ। बसन्तको चरीझैं सबैका मुहार उज्याला हुन्छन्। गीत यस्तो छ-
तीन वर्षमा एक महिना नी गाउँमा नआउने
क्यारि होला यस्तासँग माया पलाउने
भैगो भैगो पिरिम नलाउने।
एक दिन मन पगाल्दिन्छु फकाइ फकाइ
लिन आउँछु बाजा बजाइ,
नमानेमा लान्छु भगाइ।
साना केटाकेटीको मनमा माया पलाउन थालेपछि कस्को के लाग्दो रहेछ र बरै ? उनीहरूले त्यस्तै आभाष गराए हामीलाई।
बिदाइ मन्तव्य दिन विनिता रावल जब मञ्चमा उक्लिइन्, वातावरण नै बदलियो। उनका प्रत्येक शब्द ओझिला र तर्कपूर्ण थिए शब्दहरुको ताँती नै लाग्यो। यस्तो लाग्छ उनले शब्दलाई जिब्रो तौलेर बोलिरहेकी छिन्।
'बसन्तको आगमनसँगै फुलेका फूलहरुले पलाएका पालुवाहरुले एकातिर हर्ष छ त अर्कोतिर निराशा बढेको छ।'
सबैको ध्यान खिचेकी उनी भावनामा मात्र बगिनन्। वास्तविकताको गहिराइमा पनि पुगिन्। अध्ययनको विषयमा पनि बोलिन्। आमा-बाको सपनाबारे पनि बोलिन्। अध्ययन र आनीबानीले समाजमा पार्ने असरको विषयमा बेलिबिस्तार लगाइन्। समाजले गर्न सक्ने सम्भावित प्रश्नबारे बोलिन्। मनमनै लाग्यो 'वाह! यस्तो पो मन्तव्य।' मन्त्री र नेताभै टोपलेकाहरु समेत हचुवामा बोल्छन्। आफ्नो उचाइलाई ख्याल गर्दैनन्।
उनको मन्तव्यले सोचमग्न बनायो। आफूले पढाएको कम र उनीहरुको बुझाइ बढी जस्तो लाग्न थाल्यो। उनीहरुमा बढेको समयचेत र भविष्य प्रतिको चासो र चिन्ताले मन हर्षित बनायो।
उनीहरुमा विकास हुँदै गएको चिन्तनले भन्थ्यो- उनीहरु प्रश्न गर्न सक्ने हुदैँछन्। चाँडै नै समाजले चलाउँदै आएका खराब बेथिति र विभेदमा प्रश्न उठाउने छन्। समस्याको मूल जरोमा गएर अध्ययन गर्नेछन्।
यो खालको अध्ययन, तर्कशक्तिको विकासले वर्तमानको सत्ता र सरकारमा मौलाउदै गएको निरंकुशता, स्वेच्छाचारी प्रवृत्ति, आफू र आफ्ना आसेपासेको मात्र हित गर्ने शैलीमाथि प्रश्न गर्ने पुस्ता तयार हुनेछ।
वातावरणले बताइरहेको थियो- यदि विद्यार्थीको प्रतिभा र सीपलाई अध्ययनसँग मिलायो भने अध्ययन व्यावहारिक र उत्पादनमुलक हुनेछ। यसो गरेमा वर्तमान सरकारको नीतिअनुरूप पनि हुनेछ भने बुर्जुवा शिक्षाको विरोध पनि। त्यसका लागि मानविकी शिक्षा महत्त्वपूर्ण मानिने छ। मानविकी शिक्षाले प्रश्न गर्ने जनशक्ति तयार गर्छ। यसरी तयार भएको जनशक्तिले विविधता र बहुलतालाई स्वीकार गर्न सक्छ। यस्तो सम्भावनाले मनमा उमंग भर्छ।
तर, आज काम चाँडो पाइने, कमाइ राम्रो हुने आदि कारण देखाएर थोरै अध्ययन गराएर ज्ञानको दायरालाई सिमीत पारिदैछ। साधारण शिक्षाभन्दा प्राविधिक शिक्षा राम्रो भन्ने पारिएको छ। यस्तो शिक्षाले मान्छेमा प्रश्न गर्ने चेतना भुत्ते बनाउने र आलोचनात्मक चेत हराउने कुराले चिमोटिरह्यो। लाग्यो, देशले यस्तो शिक्षा दिन सकोस् जसले प्रश्न गर्ने पुस्ताको जन्म होस्।
सम्झनास्वरुप केही थान फोटो र सम्पर्कमा रहिरहने वाचा गर्दै बिदाइका हात हल्लायौं। दिन सकियो।
यो पनि हेर्नुहोस्