अभियुक्तको बयानः साहुनीले तलव दिइनन्, अनि हत्या गरेँ (भिडियो सहित)

तस्बिरः बिएल

१९ वर्षअघिको कटुन्जे हत्याकाण्डका अभियुक्त यसरी पक्राउ परे

करिब २ दशकअघि भक्तपुरको कटुन्जेमा भएको चर्चित विजयश्वरी हत्याकाण्डको प्रहरीले सफल अनुसन्धान गरेको छ।

१९ वर्षअघि भएको विजयश्वरी प्रतापति हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले प्रजापतिको हत्या गर्ने पर्सा सुवर्णपुरका ४४ वर्षीय देवी रमन अधिकारीलाई भारतीय प्रहरीको सहकार्यमा भारतबाट पक्राउ गरेर नेपाल ल्याएको हो।

अधिकारीले २०५७ साल असार ८ गते प्रजापतिलाई घरमै धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

हत्यापछि घरमा रहेको ६ हजार नगद र ८ तोला सुन लिएर उनी भारत भागेका थिए।

प्रहरीको अनुसन्धानमा उनी हत्या गरेकै दिन अधिकारी बनारस पुगे। त्यहाँ केही दिन बसेर उनी फेरि महाराष्ट्रको पुणे पुगे।

तर, पक्राउ पर्ने डरले उनी धेरै दिन पुणेमा पनि बसेनन्, केही दिन बसेपछि उनी मुम्बई गए।

मुम्बईमा उनले प्रकाश अधिकारीको नाममा काजगपत्रसमेत बनाए र भारतीय आधार कार्डदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाए। त्यसपछि उनी भारतमै बस्न थाले।

सीआईबीका निर्देशक डीआईजी निरज साहीका अनुसार अधिकारीले भारतमै बिवाहसमेत गरे।

यसबीच ४ पटक नेपाल आए पनि प्रहरीलाई सजिलै छल्दै आएका उनलाई आइतबार भने नेपाल भारत सीमा नजिकैकै बेलहियाबाट प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। पक्राउ परेका अधिकारीलाई महानगरीय प्रहरी वृत्त जगातीलाई कानुनी कारवाही अगाडि बढाउन जिम्मा दिइएको छ।

किन गरे हत्या?

मृतक प्रजापतिका श्रीमान तत्कालीन डिएफओ, तुलसी भक्त प्रजापति जिल्ला बन कार्यालय पर्सामा कार्यरत थिए।

उक्त समयमा अधिकारी उनका सहयोगीका रूपमा करारमा काम गर्दै आएका थिए।

प्रजापतिको हेटौंडा जिल्ला बन कार्यालयमा सरूवा भयो। त्यसपछि प्रजापतिले अधिकारीलाई आफ्नो घरमा कामदारका रूपमा भक्तपुर ल्याए।

करिब ७ महिना काम गरेपछि अधिकारीले प्रजापति पत्नीसँग पारिश्रमिक मागे। तर, विजयश्वरीले अधिकारीलाई रकम दिइनन्। उनको रकम नदिनुनै हत्या निम्त्याउनु भयो।

धेरै पटक तलव माग्दा पनि नदिएपछि अधिकारीले बिहान छोराछोरीलाई स्कुल पुर्‍याएर घर फर्केपछि घरमा कोही नभएको मौका छोपी धारीलो हतियार प्रहार गरी विजयश्वरीको हत्या गरे।

पक्राउ परेका अधिकारीले पारिश्रमिक माग्दा नदिएपछि आवेसमा आएर हत्या गरेको प्रहरीमा बयान दिएका छन्।

पक्राउ परेका अधिकारीलाई प्रहरीले आवश्यक कारबाही गर्न भक्तपुर प्रहरीको जिम्मा लगाएको छ।

प्रकाशित मिति: : 2019-06-10 17:31:03

प्रतिकृया दिनुहोस्