मुलुककै सबैभन्दा लामो समयसम्म चल्ने वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार सकिएको छ।
ललितपुरको जावलाखेलमा आइतबार विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हो।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी थिइन्।
राष्ट्रपति भण्डारीलाई नेपाली सेना, नेपाल प्रहरी र स्काउटको टोलीले सलामी अर्पण गरेको थियो। समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्ण वहादुर महरा लगायत सुरक्षा निकायका प्रमुख, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा हजारौँ सर्वसाधारणको सहभागिता थियो।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै पाटनकी जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गरेकी थिइन्।
मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पुर्याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा भएको हो।
मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ।