अमेरिकी युवती लेक्सी अल्फोर्ड ३१ मे २०१९ मा उत्तर कोरिया पुग्दा उनले विश्व कीर्तिमान बनाइन्।
उनको कीर्तिमानले गिनिज बुक वर्ल्ड रेकर्डमा नयाँ फेरबदल ल्याइदिएको छ। यसअघि यो कीर्तिमान वेलायतका २४ वर्षे जेम्स आस्किवथको थियो। अब उनी पछि परेका छन्। २७ वर्षमै सबै देश घुम्ने पहिलो महिला क्यासी डी पेकोललाई पनि उनले पछाडि छोडिदिइन्।
विश्वका एस सय ९६ सार्वभौम देशको भ्रमण गर्नु आफैँमा सहज काम होइन। हुन त उनी सानैदेखि यात्रा र भ्रमणको पारखी थिइन्। अमेरिकाको क्यालिफोर्नियामा हुर्किएकी उनको परिवार पर्यटन व्यवसायसँग आबद्ध छ। उनीहरुको एउटा ट्राभल एजेन्सी छ ।
‘मैले सम्झिन सक्ने हुनु अघिदेखि नै यात्रा मेरो जीवनको एक भाग बन्दै आएको छ’, आफूलाई इन्स्टाग्राममा लेक्सीलिमिटलेस भन्न रुचाउने उनी भन्छिन्, ‘मेरो परिवारले मलाई स्कुलबाट तानेर स्वतन्त्र अध्ययनका लागि हरेक वर्ष केही हप्ता वा महिना यात्रामा लैजाने गरेको थियो।’
हुर्किंदै गर्दा उनी कम्बोडियोका गाउँहरुदेखि दुवईको बर्ज खालिफासम्म, अर्जेन्टिनाको उशुइयादेखि इजिप्टको विशाल पिरामिडसम्मको यात्रा गरिसकेकी थिइन्। त्यतिबेला उनी परिवारसँग यात्रामा हुन्थिन्।
उनको कीर्तिमानमा परिवारको सहयोग महत्वपूर्ण छ। परिवारले नै उनलाई सुरूमा विभिन्न किसिमका जीवनशैलीसँग भेटघाट गराइदियो। त्यसो त उनी आफैँ अरु मानिसका जीवनशैली र उनीहरुले खुसी पाउन गरिरहेको प्रयासबारे धैर्यपूर्वक जान्ने रुचि राख्छिन्।
त्यतिबेला उनी यस्तो कीर्तिमान राख्न देशहरु घुम्ने भन्ने सोचमै थिइनन्। मनचाह स्थानको भ्रमण गरिरहेकी थिइन्। पछि उनले आफैँभित्र आफूलाई निकै प्रेरणादायी महसुस गर्न थालिन्। उनी भन्छिन्, ‘म सबैलाई देखाउन चाहन्थेँ– संसार मिडियाले चित्रण गरेजस्तो डरलाग्दो पनि छैन। बरु यसको उल्टो जहाँसुकै दया र मायाले भरिएको छ।’
कीर्तिमानतिर मोडियो यात्रा
गिनिजमा रेकर्ड राख्ने अभिलाषा लेक्सीमा सन् २०१६ मा आएको हो। सोही बेलादेखि उनी संसारका १ सय ९६ सार्वभौम देशहरुमा पुग्ने र गिनिजमा रेकर्ड राख्न गम्भीर बन्न थालिन्। बेलायती जेम्सले सन् २०१३ मा २४ वर्षको उमेरमा कम उमेरमा सबै देश घुम्ने यस्तो रेकर्ड राखेका थिए। त्यतिबेला लेक्सी १८ वर्षकी थिइन्। उनले संसारका ७२ वटा देश घुमिसकेकी थिइन्। हो, यही अनौठो यथार्थले उनलाई कीर्तिमानी बन्ने लालसा जगायो। उनले सन् २०१६ को अक्टोबरमा रेकर्ड कायम गर्नेबारे सोचेको फोर्ब्सलाई बताइन्।
त्यतिबेला उनी हाईस्कुलबाट ग्रेजुएट भइसकेकी थिइन्। स्थानीय कलेजबाट एसोसिएट डिग्री पनि लिइसकेकी थिइन्।
लेक्सीका अनुसार सबै यात्रा व्यक्तिगत खर्चमै सम्भव भएको हो। केही ब्रान्ड सम्झौता र क्याम्पिनसँग भने उनको सहकार्य भएको थियो, जसले उनलाई केही सहयोग गरे। यद्यपि कुनै आधिकारिक प्रायोजन भने हात नपरेको उनी बताउँछिन्। ‘म जहिल्यै आफ्नो यात्राबारे सोचिरहेको हुन्थेँ, त्यस कारण १२ वर्षको उमेरदेखि जे जे काम पाएँ, सबै गरेँ र पैसा जुटाइरहेँ’, लेक्सी भन्छिन्।
उनले १ वर्षसम्म गरेको बचतले उनको पूरा यात्रा भ्रमणको आधा हिस्सा सम्भव भयो। त्यसपछि उनी आफ्नै परिवारको ट्राभल एजेन्सी जुन क्यालिफोर्नियाको नेवादा सहरमा छ, त्यहाँ ट्राभल कन्सल्ट्यान्टको रुपमा काम गरिरहेकी छिन्। उनी भ्रमणमा हुँदा पनि केही न केही गरी नै रहेकी हुन्छिन्। फोटोग्राफी, ब्लगिङ उनको यात्राको दौरान गरिने काम हुन्।
उनी यात्राको लागि पहिले नै आवश्यक खोज र तयारी गरिसक्छिन्। सकेसम्म सस्तो होटलमा बस्छिन्। सम्भव भएसम्म कम खर्च गर्छिन्। घरमा हुँदा परिवारसँगै ज्यादा समय बिताउँछिन्। ‘म आफ्नो पैसा अनावश्यक क्षेत्रमा खर्च गर्दिनँ’, उनी भन्छिन्, ‘मलाई कारको पैसा तिर्नु पनि छैन र विद्यार्थी ऋण पनि तिर्नु छैन।’
इन्स्टाग्राममा पनि उनी केही कुरासँग नजोडिएर पनि जोडिने उपायको खोजी गरिरहेकी हुन्छिन्। ‘केहीलाई आश्चर्य लाग्न सक्ला तर मैले आजसम्म विदेशी सिमकार्ड लिएको छैन’, उनी भन्छिन्, ‘यदि मलाई केही आवश्यक पर्यो भने म सोझै मानिसहरुलाई भन्छु, जो मसँग नजिकै छन्।’
जीवनमै नसोचिएका र धेरै डरलाग्दो अवस्था भएका देशहरुमा पनि उनी पुगिन्। यतिबेला उनलाई यात्रा भ्रमणका सम्झनालायक क्षण नै त्यही रहेको महसुस भइरहेको छ। ‘त्यस्ता देश जहाँका मानिस धेरै डराउँछन्, ती देशमा घुम्न मलाई अति नै कौतूहल हुन्थ्यो’, उनी भन्छिन्, ‘पाकिस्तान, भेनेजुएलाजस्ता देशहरुमा सधैँ गइरहने पर्यटकीय गन्तव्यभन्दा बढी प्राकृतिक सुन्दरता र लोकप्रिय वातावरण अनुभव गरेँ।’
कुनै पनि आशा नगरी गएको स्थानमा पाइने सन्तुष्टि ठूलो कुरा हुने उनको भनाइ छ।
यात्राको क्रममा उनले पश्चिम र मध्य अफ्रिकी देशमा भने कमजोर पर्यटन पूर्वाधार र भिसाको समस्याका कारण संघर्ष गर्नुपर्यो। भाषाको समस्या र सुरक्षित यात्राको लागि महँगो मूल्यले यसो हुन गएको उनको अनुभव छ। ‘त्यहाँ धेरै उडानहरु उपलब्ध हुँदैनन्, न त होटल र अंग्रेजी बोल्नसक्ने गाइडहरु नै भेटिन्छन्’, उनी सुनाउँछिन्, ‘उनीहरु आफूले चाहेजति मूल्य असुल्न खोज्छन्, किनकि त्यहाँ आम्दानीको धेरै अन्य स्रोतहरु छैनन्।’
लेक्सी यात्राको सबैभन्दा ठूलो चुनौती भने उत्तर कोरिया भ्रमणको क्रममा रहेको थियो। उक्त देश पुग्न उनले अमेरिकाले लगाएको यात्रा प्रतिबन्धको कारण महिनौँ प्रयास गर्नुपर्यो। त्यसकै प्रतिफलस्वरुप उनले मे महिनामा त्यहाँ जाने अनुमति पाइन्। तर कोरियाको खुलेर भ्रमण गर्न भने पाइनन्। विश्वमा चर्किरहेको राजनीतिक अप्ठ्यारोको कारण उनी गैरसैनिक क्षेत्रमा बस्नुपर्यो। जुन गिनिजको गाइडलाइनमा पर्छ। उनी भन्छिन्, ‘अमेरिकाले भ्रमण प्रतिबन्ध खुल्ला गर्नेबित्तिकै फेरि कोरिया भ्रमणमा जान्छु।’
६ महिनाको मिहिनेत
आफ्नो कीर्तिमानको प्रमाण गिनिजका लागि जुटाइरहेकी उनी १० हजार वटा छुट्टाछुट्टै कागजी प्रमाण संकलन गरिरहेकी छिन्। जब उनी १ सय ९६औँ देशमा पुगिन्, उनको रेकर्डको घडीको सुई टक्क रोकियो। यसपछि उनले लामो श्वास फेरिन्।किनकि उनी यसकै लागि विगत ६ महिनाभन्दा अघिबाटै यो सफलताको चुनौती पन्छाउन थालेकी थिइन्।
केही मानिसले सबैभन्दा छिटो विश्व घुम्ने क्यासी डी पेकोलले हरेक देशलाई राम्ररी नबुझी कीर्तिमानको पछि मात्रै लागेको भन्दै आलोचना गर्ने गरेका छन्। उनले सो क्रममा थोरैमा एउटा देशमा दुई दिन मात्रै बिताएकी थिइन्। सोही कारण लेक्सीलाई पनि आलोचना गर्नेहरु नभएका होइनन्। तर यसमा उनलाई कुनै चिन्ता छैन। लेक्सीले भ्रमणका क्रममा जहाँ जहाँ पुगिन्, त्यो देशको राजधानी सहरभन्दा अन्य स्थान नै रोजिन्।
किनकि स्थानीय स्वादका परिकार, संस्कृति र प्रकृतिका तस्बिरहरु लिन पनि पाइने हुनाले यसो गरेको उनी बताउँछिन्। हप्तौँ बिताउने गरी आफूले रकम जुटाउन पनि गाह्रो हुने उनको भनाइ छ। कुनै देशमा उनले एउटा देशमा २ देखि ३ दिनसम्म मात्रै बिताइन्। दक्षिण सुडान, सोमालिया, माली, चाड र पपुवा न्युगिनीजस्ता देशमा उनी धेरै बसिनन्। सुरक्षाको कारण पनि यस्तो सम्भव नभएको उनको भनाइ छ।
१ सय ९६ देश घुमिसकेकी लेक्सीको अबको दिन कसरी बित्छ त? भन्छिन्, ‘म अहिले हरेक देशमा आफूले गरेको अनुभव समेटेर किताब लेख्दै छु।’ त्यसबाहेक शारीरिक आराम र मानसिक स्वास्थ्यलाई बलियो बनाएर मात्र अन्य योजना बनाउनेउनको योजना छ।
लेक्सीले के पाइन् विश्व घुमेर?
उनले विश्व भ्रमण गरिसकेपछि त्यसबाट बटुलेका महत्वपूर्ण कुराहरु अझै छुट्याइसकेकी छैनन्। यद्यपि उनले केही महत्वपूर्ण पाठहरु भने यात्राको सिलसिलामा सिकेकी छिन्। तीमध्ये बुँदागत रुपमा केही यस्ता छन्:
हरेक कुरा सम्भव छ
आफ्नो मिहिनेतले आर्जित रकम अनावश्यक वस्तुमा खर्च नगर्नुहोस्, जति सक्दो बचाउनुहोस् र आफ्नो परिवारमै फर्किनुहोस्। यात्राको लागि केही बलिदानी पनि गर्नुपर्ने हुन्छ, तयार हुनुहोस्।
जतिपटक म वाइफाइबाट अलग्गिएँ, त्यति नै पटक म आफ्नै वरिपरि भइरहेका कुराहरुसँग जोडिएँ, जुन निकै दुर्लभ कुरा हो।
भर्खरका मानिसलाई मेरो सल्लाह छः दिमागमा सोचिने सबै कुरा तपाईं गर्न सक्नुहुन्छ। यदि तपाईं जीवनको सबै पक्षभन्दा यात्रालाई रोज्नुहुन्छ भने मुख्य कुरा समय नै हो, तपाईं यसलाई यथार्थमा बदल्न सक्नुहुन्छ।
(फोर्ब्स म्यागेजिनबाट नेपाल खबरले गरेको अनुवाद)