आमाबाबुको एउटै सपना थियो छोराको नामको अगाडि डाक्टरको लेखेको देख्ने र उसलाई डाक्टर शिशिर भनेर बोलाउने । त्यो सपना विपना नभई उनका बाबुआमा सडक दुर्घटना मारिए, त्यो दृश्य शिशिरको आँखै अगाडि घटेको थियो । त्यो दृश्यले उनको दिमाखमा एउटा यस्तो अमिट छाप छोड्यो कि उनी बिस्तारै डिप्रेसनमा गए ।
उनकी एक सहपाठी विनिता आचार्य भन्छिन् - उनी कहिलेकाँही भन्थे मेरो नामको अगाडि डाक्टर नै लेखिए पनि कसले देख्छ र ? त्यो हेर्ने सपना देख्नुभएका आमाबाबा नै यो संसारमा छैनन् ।
हामी भरसक उनलाई एक्लै छोड्दैनौ थियौ, भनिरहेका हुन्थ्यौ- 'हामी छौ नि । त्यसपछि ऊ फिस्स हाँसेर भन्थ्यो - ए त्यो त हो नि, मैले त भुसुक्कै बिर्सेछु पो त ।'
पछिल्लोचोटि उसले भनेको थियो- सपनामा आमाबाबु देखें । उहाँहरू भन्दै हुनुहुन्थ्यो- ' आइज बाबु हामी एक्लै भयौं । बुढाबुढी पनि भयौं । त्यसपछि म ब्युझिएँ ।'
बिनिता भन्छिन्- उसले सपना देखेको अर्को दिनदेखि नै ऊ हरायो । हामी सबै उसको लागि प्रार्थना गरिरहेका थियौ । तर, दिन बित्दै जाँदा पनि ऊ नभेटिएपछि हामी जुन कुराले डराइरहेका थियौ, त्यही भयो । ऊ हामीलाई छोडेर आमाबाबुको हेरचाह गर्न गयो ।'
सुन्दा नै आङ जिरिङ हुने यो पीडादायी जीवन चित्रण हो शिशिर खनालको । २०५८ सालमा आफ्नै आँखा अगाडि सडक दुर्घटनामा आमाबुबा र दिदी गुमाएपछि सानैदेखि मानसिक तनावमा रहँदै आएका शिशिरले अन्तत: त्यो तनाव झेल्न सकेनन् र कीर्तिपुरको पुष्पलालपार्कमा सदाका लागि विदा भए ।
प्रहरीले शनिबार कीर्तिपुरमा उनको शवसँगै हेलमेट र आल्मुनियम फोस्फेट बिषादीको खाली बोतल फेला पार्यो । खनालले विष पिएर आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। जेठ १७ गते हराउनुअघि कोटेश्वरकै एक एग्रोभेटबाट उनले आल्मुनियम फोस्फेट नामक बिषादी खरिद गरेको अनुसन्धानबाट खुलेको थियो ।
उनले ल्यापटपमा अन्तिमपटक आत्महत्या कसरी गर्ने भनेर गुगल सर्च गरिएको पनि अनुसन्धानका क्रममा भेटिएको छ ।
शिशिरको थातथलो अर्घाखाँची भए पनि बुबाआमा र दिदी सडक दुर्घटनामा बितेपछि उनी कोटेश्वरमा भाइसँग बस्दै आएका थिए । मेधावी विद्यार्थी शिशिर कक्षामा शीर्ष पाँचमा रहँदै आएका थिए ।
बालकैमा आमाबुबा गुमाएका उनको दिमाखमा त्यो सडक दुर्घटना कति गहिरोसँग गढेको रहेछ भन्ने प्रमाण हो यो । आत्महत्या गरेर ठीक गरे त कसैले भन्नु हुदैन र हैन पनि । तर, उनको मनस्थितिलाई नजिकबाट नियाल्दा यति भन्न सकिन्छ- एउटा नीलो पीडाको अन्त भयो जो आफ्ना आमाबाबुको लागि बाँच्यो र मर्यो पनि । अलविदा - शिशिर ।