केराखेतीमा थोपा सिँचाइ

तस्बिरः एजेन्सी

व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ। खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पुर्‍याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो।

‘बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हुँदा चाहिनेभन्दा बढी पानी खर्च हुन्थ्यो’, रानाले भने, ‘एक बिघामा रोपिएको केराखेतीमा थोपा सिँचाइ जडान गरेपछि थोरै पानीले सिँचाइ गर्न सकिएको छ।’ थोपा सिँचाइका लागि राखिएको प्लाष्टिकको ड्रममा मलसमेत राखेर सिँचाइसँगै चाहिने मात्रामा मलसमेत आपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ। रोपिएका केराका प्रत्येक बिरुवामा पाइपमार्फत सिँचाइका लागि पानी पुर्‍याउने व्यवस्था गरिएको छ।

सो नगरपालिका क्षेत्रमा थोपा सिँचाइ प्रणालीमार्फत केराखेती यो नै पहिलो हो। थोपा सिँचाइका लागि नगरपालिको कृषि विकास शाखाको रु एक लाख ५० हजार अनुदान र किसानको रु एक लाख ५५ हजार ८२ गरी रु तीन लाख पाँच हजार ८२ लगानी गरिएको छ। थोपा सिँचाइ प्रविधिको प्रयोग गरी केराखेती गर्दा सिँचाइ र मलखादलाई सिस्टमबाटै दिन सकिने भएकाले पटक–पटक लाग्ने खर्चबाट किसान जोगिन गई उत्पादनमा वृद्धि हुने कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेटीले बताए।

राना यस क्षेत्रकै व्यावसायिक केराखेतीमा सफल किसान हुन्। उनले एक बिघा खेतमा रोपिएका केरामा थोपा सिँचाइ प्रणाली जडान गरेका छन्। अन्य चार बिघा जग्गा भाडामा लिएर केराखेतीलाई व्यावसायिकरूपमा अँगाल्दै आएका छन्। एक बिघा जग्गामा भर्खरै केरा रोपिएकाले बोटहरु हुर्कदै गएका छन्। चार बिघा जग्गामा लगाइएको केरा बजारमा बिक्री गर्न शुरु गरेका छन्।

यस वर्षको हालसम्म रु आठ लाख बढीका केरा उनले बिक्री गरिसकेका छन्। ‘वर्षमा रु २० लाखदेखि २५ लाखसम्मका केरा बिक्री हुने गरेका छन्’, रानाले भने, ‘वार्षिकरूपमा ज्यामी, मलखाद, बिरुवा खरीद, बिरुवा रोप्ने, सिँचाइ गर्नेलगायतको सबै रकम कटाई रु छ लाख जति रकम बचत हुने गरेको छ।’ केरा खेतबाटै बिक्री हुने गरेका छन्। डडेल्धुरा, अत्तरिया, भीमदत्तनगर, धनगढीलगायत क्षेत्रका व्यापारीले ढुवानीका साधनसहित केराबारीमै पुगेर खरीद गरेर लैजाने गरेका छन्। रानाले बढी प्रतिफल दिने जीनौ जातको केराखेती गरेका छन्। रासस

प्रकाशित मिति: : 2019-08-27 08:00:11

प्रतिकृया दिनुहोस्