नागढुंगा–नौबिसे सुरुङमार्गमा सल्टियो मुआब्जा विवाद

नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा मुआब्जा विवाद सुल्झेको छ। नागढुंगा–नौबिसे सुरुङमार्ग काठमाडौं र धादिङको सीमा क्षेत्रमा निर्माण हुँदै छ। काठमाडौंको मुआब्जा रकम यसअघि नै सल्टिए पनि धादिङतर्फ तय हुन सकेको थिएन।

मुआब्जा मूल्यांकन समितिले सोमबार धादिङतर्फ आयोजना प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम तय गरेको छ। सुरुङमार्ग निर्माण गर्न धादिङतर्फको एक सय नौ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ। तर सडक सिमांकनभित्रको जग्गाको भने मुआब्जा दिइने छैन। सिमांकनबाहिर परेको ४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्ने सहमति भएको हो।

यो पनि पढ्नुस्

डेढ वर्षदेखि ‘ए.एल.एस.’ रोगबाट थलिएका टेण्डी

धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले प्रतिआना ७ लाख रुपैयाँदेखि ९ लाख ७० हजार रुपैयाँको दरमा मुआब्जा रकम तय भएको जानकारी दिए। मुआब्जा वितरण गरिने जग्गामध्ये धेरै श्री ५ को वायु गुठीको नाममा छ। तर, त्यो कुन प्रकृतिको कार्यका लागि गठन गरिएको भन्ने पत्ता लाग्न सकेको छैन।

मोहीले परापूर्व कालदेखि जग्गा भोगचल गर्दै आएको दाबी गर्दै शतप्रतिशत मुआब्जा माग गर्दै आएका छन्। कतिपय जग्गाधनीको लालपूर्जा पनि छैन। तर आयोजना किताबमा नाम दर्ता भएका छन्। गुठीको नाममा रहेको जग्गा र लालपूर्जा नभएकाका लागि मुआब्जाको व्यवस्था गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइल पठाइएको छ।

यो पनि पढ्नुस्

जब तुरतुरे ताल फुट्यो, पहाडी लोकमार्ग बगायो
भिडियोः सामाजिक सञ्जालहरूबाट

बूढीगण्डकी जलविद्युत् परियोजनामा पनि मन्त्रिपरिषद्बाट निर्णय गरेर यस्ता प्रकृतिका जग्गाको मुआब्जा वितरण गरिएको थियो। त्यही नजिरको आधारमा मन्त्रिरिषद्बाट स्वीकृत गराउन खोजिएको हो। धादिङतर्फको मुआब्जा विवाद हल गर्न सोमबार छलफल राखिएको प्रमुख खरेलले बताए। मुआब्जा निर्धारण समितिमा धुनिबेसीका मेयर, मालपोत कार्यालयका प्रमुख र आयोजना प्रमुख श्यामप्रसाद खरेल रहनेछन्। धादिङका निर्वाचित सांसद पनि आमन्त्रण गरिएको छ।

प्रकाशित मिति: : 2019-08-05 23:10:37

प्रतिकृया दिनुहोस्