अब सडकमा कोही पनि सुतेको देख्न पाइदैन: प्रधानमन्त्री ओली (भिडियोसहित)

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन् ।

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङ मार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ। त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले अव मुलुकमा बिकासले तिव्रता आउने बताए। उनले नेपालका कुनै पनि सडकका पेटीमा ’सडक मानिस’ देख्न नपर्ने बताए।

यस्तै उनले सरकारले सडक बालकालिकाहरुलाई भएसम्म आफ्नै घरका व्यक्तिलाई जिम्मा लगाउने र घरबार नै नभएकालाई सरकारले जिम्मा लिने बताए।

प्रवेश मार्गसहित ५.५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। करीब रु ६ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ। सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो। सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ। सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-21 16:18:28

प्रतिकृया दिनुहोस्