एउटा पुस्तकले ल्याएको भुइँचालो, तर क्षतिको परिणाम आउन बाँकी नै छ

हिले एक जना भारतीय लेखकको पुस्तक ‘इन्साइड नेपाल’ ले नेपालको राजनीति तताएको छ। भारतको बाह्य जासुसी संस्था ‘रअ’ मा स्पेशल डाइरेक्टरको पदबाट सन् २००५ मा अवकाश पाप्त अमर भूषणले ‘द स्पाई क्याचर सिरिज’ अन्तर्गत लेखेको यो पुस्तक सत्य घटनाबाट प्रेरित भएको बताएका छन्।

९५ पृष्ठको पुस्तकमा २०४५/०४६ यता भारतले नेपालमा राजतन्त्र हटाउने दिशामा आफ्नो कूटनीति अघि बढाएको, पहिला राजतन्त्रलाई संवैधानिक दायरामा ल्याउने र त्यसपछि गणतन्त्रमा जाने नीति अख्तियार गर्दै नेपालका राजनीतिक शक्ति र पात्रलाई आर्थिक तथा अन्य सहयोग दिन थालेको, राजालाई झुकाउन आर्थिक नाकाबन्दीको हतियार रणनीतिक रुपमा प्रयोग गरेको प्रसंग उठाएका छन् उनले। 

त्यही क्रममा उनले २०४६ सालको आन्दोलनको तयारी अवस्थामा नै तत्कालीन भूमिगत माओवादी नेता ‘कमल अर्याल’लाई पहिला बिहारको जोगबनी र पछि विराटनगरको रानीमा भेटेको, केही किस्तामा आर्थिक सहयोग प्रदान गरेको तथा राजसंस्था उन्मूलनमा माओवादी र भारतको नीति मिल्ने हुँदा पहिला संवैधानिक हैसियतमा पुर्‍याई पछि गणतन्त्रमा जाने सहमति भएको पनि उल्लेख छ, किताबमा।

त्यसका लागि एउटा पत्रिका प्रकाशनमा लगानी भएको दाबी पनि छ त्यसमा। के ‘कमल अर्याल’ माओवादीका सर्वोच्च नेता नै हुन् त? एउटा काल्पनिक (फिक्सन) प्रस्तुतिलाई गणतन्त्रको समग्र उपलब्धिलाई अवमूल्यन गर्न प्रयोग गर्न मिल्छ? अहिले नेपालमा सामाजिक सञ्जालमा यो प्रश्न एउटा पक्षबाट र त्यसको प्रतिउत्तरले महत्वपूर्ण स्थान ओगटेको छ।

३० जुलाई २०१२ अर्थात् वर्तमान पुस्तक प्रकाशित हुनभन्दा ७ वर्षअघि अमर भूषणले लेखेको अर्को पुस्तकका सन्दर्भमा दिएको अन्तर्वार्ता (आउटलूक) मा उनी भन्छन्, ‘मेरो पुस्तकका मूख्य पात्रलाई सहजै चिन्न सकिन्छ।’ 

फ्रान्सेली राष्ट्रपति चाल्र्स डी गाल माथिको हत्या प्रयास र त्यसका पात्रको गिरफ्तारीको सेरोफेरोमा फ्रेडरिक फोरसिथले लेखेको पुस्तक ‘द डे अफ द ज्याकल’ मा पक्कै पनि काल्पनिकताको ठूलो अंश छ, प्रस्तुति र शैलीमा। तर त्यो पुस्तकलाई सन् १९६२ को त्यो हत्या प्रयासबारे विस्तृत विवरणका लागि सम्मान गरिन्छ।

प्रजातन्त्र र संवैधानिक राजतन्त्रको पक्षमा नेपालमा वैचारिक, असंगठित या संगठित आन्दोलन या चाहना सधैँ रहे, खासगरी भारतीय स्वतन्त्रता आन्दोलनका अन्तिम चरण सँगसँगै या नेपालमा प्रजा परिषदको स्थापनसँगै।

प्रकाशित मिति: : 2019-09-06 19:59:51

प्रतिकृया दिनुहोस्