स्वाभलम्वी पुस्ता: ५

नशाको लतबाट बाहिरिए घर परिवारका लागि काम गरिरहेका नरेश थिङ

नरेश थिङको जीवन कुनै फिल्मी कहानीभन्दा कम छैन। पेशाले मजदुर, उनी २३ वर्ष मात्र टेकेका छन्। तर, उनी जीवनको सबै दुःखकस्टबाट परिचित भइसकेका छन्। जीवनमा उनले भोग्ने कुरा सायदै केही होला!  

१६ वर्ष पुग्दा उनी यति बिग्रिए कि परिवार पनि उनको व्यवहारले आजित भइसकेको थियो। तर, अहिले उनी घरमा सबैको दुलारा बनेका छन्।  वास्तवमा उनको घर नुवाकोटको दुक्चेश्वर हो।

बुवा माइला र आमा पुतलीको तेस्रो सन्तान अर्थात दुई छोरा पछिका कान्छा।

उनीपछि दुई बहिनीको जन्म भएको थियो। माथि दुई दाजुहरू छन्। हाम्रो समाजमा कान्छो छोरा अरुभन्दा पुलपुलिने बानी नै हो। दाजुहरूले पनि खुब माया गर्थे। 

गाउँमा हुँदा आमा–बुवा खेतीपाती गर्थे। यसले परिवार पाल्न थिङ परिवारलाई खासै समस्या थिएन। तर, बच्चाहरूको अध्ययनमा गाह्रो पर्न थालेपछि थिङ परिवारले राजधानी काठमाडौ सर्ने निर्णय गर्‍यो। 

२०६३ सालमा काठमाडौं आउँदा उनीहरूको भरोसा थियो, नरेशकी फुपूको परिवार। जो लामो समयदेखि राजधानीमा बसोबास गर्दै आइरहेको थियो।  

नरेशका आमाबुवाले काठमाडौंमा इट्टा र बालुवा बोक्ने काम गरे। घामपानी नभनी एकहोरो काम गर्दा उनीहरूलाई घर भाडादेखि बालबच्चाको स्यहारसुसार गरेर छोराछोरी पढाउन २ सय रुपैयाँ बच्थ्यो। 

८ वर्षको उमेरमा गाउँमा दुई कक्षासम्म पढेका नरेश काठमाडौंको अत्तरखेलमा निम्न माध्यमिक विधालयमा भर्ना भए। उनको पढाई राम्रो थियो। लगनशील पनि थिए।

तर, १६ वर्ष पुग्दा नपुग्दै उनको जीवनले कोल्टे फेर्‍यो। उनी पहिले भर्ना भएको स्कुलमा ७ कक्षासम्म मात्र पढाई थियो। अर्थात ८ कक्षापछि उनी श्री सहयोगी उच्च माध्यमिक विधालय भर्ना भए। 

यहीबाट उनको बिग्रिने दिन सुरु भयो। नयाँ विधालयमा नयाँ साथीको संगतले उनको व्यवहारमै परिवर्तन देखियो। पहिले उनी कम बोल्ने, हल्ला नगर्ने र अध्ययन गर्न रुचाउने स्वभावका थिए। तर, अब उनको ध्यान अन्यत्र मोडियो।  

संगत गरेका साथीहरू सानै उमेरदेखि काम गरेर पैसा कमाउँथे। त्यसैले उनलाई पैसा कमाउने चस्का चढ्यो। उनी पनि साथीहरूसँगै पार्टी प्यालेस धाउन थाले। शिक्षालाई पछाडि छोडेर उनले कामलाई प्राथमिकता दिए। 

बसुन्धराको सिमा पार्टी प्यालेसमा वेटरको काम गर्दा दैनिक ३ सय रुपैयाँ कमाउँथे। बिहानदेखि बेलुकासम्म काम गरेर कमाएको पैसा उनी आफू र साथीहरूमा मात्र खर्च गर्थे।

उनलाई अनावश्यक कुरामा खर्च गर्दा रमाइलो लाग्थ्यो। मधपान, धुम्रपान र गाँजामा पैसा उडाउनु उनको दैनिकी नै बनिसकेको थियो। 

यसपछि उनलाई पढाईप्रति वितृष्णा जागेर आयो, कुलतमा चुर्लुम्म डुबे।

उनलाई स्कुल जानु निशासिनु झैं लाग्न थाल्यो। घरबाट विधालय जान्छु भनेर त हिँड्थे तर साथीहरू कहाँ पुगेर नशा उडाउँथे। नरेशलाई घर परिवार त टाढाको कुरा, आफ्नै भविस्यप्रति पनि चिन्ता थिएन। 

तर, ‘दसा बाजा बजाएर आउँदैन’ भन्ने एउटा उखान छ नि! उनको जीवनमा पनि यस्तै घटना भयो। १७ वर्षको हुँदा उनी जेनतेन ९ कक्षामा पढ्दै थिए।

अध्ययनभन्दा अन्य कुरामै उनको रुची थियो। एकदिन कामबाट राती १२ बजे फर्किने क्रममा मधपानले टिल्ल थिए। होस् मै नभएको अवस्थामा उनी साथीहरूको लयलयमा गाडीको छतमाथि बस्न पुगे। 

घर नजिक पुगेपछि उन्मुक्त हाँसोसहित नसाको सुरमा गाडीको छतबााट हाम्फाल्दा टाउको  जमिनमा बजारिएपछि एक्कासी उनको होस् हरायो। साथीहरूले हतारहतार नेपाल मेडिकल कलेज पुर्‍याए। 

नाजुक अवस्थामा रहेका नरेशलाई अस्पतालमा भर्ना गर्ने पैसासमेत थिएन। मोबाइल बन्धकी राखेर उनलाई भर्ना गराउनु पर्‍यो।

‘गाडीको छतबाट हाम्फाल्दा कहाँ बजारिए मलाई थाहा नै भएनँ। एक्कासी बेहोस भएछु। पछि साथीहरूले भनेपछि पो थाहा पाएँ,’ २३ दिनपछि होस् खुलेका नरेशले बिएल नेपाली सेवासँग भने।

उनी ३२ दिनपछि मात्र अस्पतालबाट डिस्चार्ज भए। ‘मेरो हालत देखेर परिवारका सबै सदस्य अतालिएका थिए। धेरैलाई बाच्छु जस्तो पनि लागेको थिएन,’ उनले भने। 

यो घटनाले भने उनको जीवनमा आमुल परिवर्तन ल्यायो। उनी अब नशाको जीवनबाट बाहिरिए। तीन साता कोमामा बस्दा उनको मानसिक अवस्था पनि कमजोर भइसकेको थियो। सुरुमा उनी कसैलाई चिन्दैन्थे। 

‘मेरो सम्झिने शक्ति यति कमजोर भइसकेको थियो, मैले आमाबुवालाई पनि राम्रोसँग चिन्न सकिन, अङ्कल र आन्टी भनेर सम्बोधन गरेको रहेछु’, उनले विगत सुनाए, ‘केही दिन सँगै बस्न थालेपछि उहाँहरू आफन्त रहेको पत्ता पाएँ।’ 

अस्पतालबाट डिस्चार्ज भएपनि नरेशले लामो समय घरकै खाटमा सुतेर जिन्दगी बिताउनु पर्‍यो। उनलाई राम्रोसँग हिँड्न २ महिना लाग्यो।  

यो घटनापछि स्कुल नजान विभिन्न बहाना बनाउने नरेश पुनः विधालय धाउन थाले। अध्ययनमा विस्तारै रुची बढ्न थाल्यो। तर, जति नै मन लगाएर पढेपनि दुर्घटनाका कारण उनको मस्तिष्कले साथ दिदैन्थ्यो। उनी दस कक्षाको परीक्षामा अनुत्तिर्ण भए। 

यसपछि उनको मन अध्ययनबाट पूर्ण रूपले हट्यो। उनले घरकै छेउछाउमा दैनिक ८ सय पाउने गरि ज्यामीको काम थाले। यतिबेला भने उनी कमाएको पैसा घरमा दिन्थे। ‘मलाई घरको लागि केही गर्नुपर्छ भन्ने चेत आयो,’ उनी विगत सुनाउँछन्। 

काम गर्ने सिलसिलामा उनलाई पैसा कमाएर परिवार पाल्ने सोच पलायो। उनले ग्रिल उधोगमा काम थाले। नेपालमा जति नै खट्टिए पनि राम्रो आम्दानी हुन सकेन। यसपछि हार मानेर उनले वैदेशिक रोजगारीका लागि ओमान जाने निधो गरे। 

६ महिनामा उनको भिषा पनि लाग्यो, मेडिकल पनि पास गरे। २०७५ सालमा त उनी ९० हजार खर्चेर ओमान पनि उडिसकेका थिए।  

ओमानमा उनको काम थियो, ‘क्लिन टेक कम्पनी’ मा सरसफाईको काम गर्ने। घरमा सबैको मायाले पुलपुलेका उनले विदेशमा धेरैको गाली खाए। सबैभन्दा कान्छो कामदार भएका कारण पनि सबैले उनलाई हेप्थे। 

‘अरु त होइन। नेपालीले नै हेपेको देखेर चित्त दुख्यो, रुन मन लाग्यो। घरको निकै याद आउँथ्यो,’ उनले भने, ‘घर जस्तो नहुँदो रहेछ विदेश। स्वदेश फर्किन मन भए पनि थामेर बसे।’

ओमानमा उनको मासिक कमाई ३० हजार हुन्थ्यो। उनी ४–४ महिनामा घरमा एक लाख पठाउँथे। उनले ८ महिनासम्म घरमा तलब पठाउन पाएको किस्सा सुनाए।

‘म गएको केही महिनापछि नै कोभिड–१९ को संक्रमण फैलियो। कोठामै थुनिनु पर्‍यो। यसरी बस्दा न काम पाइयो, न दाम,’ उनले विदेशमा पाएको दुःख सुनाए। 

एक वर्ष लकडाउनको क्रासमा बसेका नरेशको हाल भिषाको समयअवधि समाप्त भइसकेको छ। उनी यही कारण नेपाल पनि फर्किसकेका छन्। ‘कमाउनेस्थिति भएको भए भिषा थपेर उतै बस्थे तर केहि काम थिएन। त्यसैले घर फर्किए,’ उनले सुनाए। 

गत असोजमा नेपाल फर्किएका उनले नेपाल फर्किएर काम गर्न पनि सुरु गरिसकेका छन्।

हाल उनी बिहान ९ बजे काममा निस्किन्छन् र ५ बजेसम्म व्यस्त रहन्छन्। नेपालमा उनको नयाँ काम हो, मजदुरी। उनी घर बनाउन आवश्यक इट्टा र मसला मिस्त्रीलाई उपलब्ध गराउँछन्। 

उनको बासस्थान गोकर्णेश्वरस्थित अत्तरखेल भए पनि कामको शिलशिलामा भक्तपुर बस्छन्। घर चलाउन उनलाई दैनिकी काम गर्नुपर्ने विवशता छ। उनलाई सानो भएपनि कटेरो बनाउन मन छ।

तर, नेपालमा बसेर पैसा कमाउन सकिन्न भन्ने हेक्का पनि छ। कोभिड–१९ को चेपुवामा परेका नरेश कहिले वैदेशिक रोजगारी खुल्ला र ठूलो उड्ने चिलमा चढेर विदेश पलायन हुँला भन्ने सोचमा छन्।

उनलाई लाग्छ– देशमा बसेर खासै उन्नति गर्न सकिन्न। किनभने देशको अवस्था उनले राम्रोसँग बुझेका छन्। 

 

प्रकाशित मिति: : 2021-01-06 21:04:00

प्रतिकृया दिनुहोस्