कांग्रेस कार्यकर्ताको प्रशिक्षणमा शीर्ष नेताबीच नै वाकयुद्ध : कसको निसानामा को?

भक्तपुर : एक अर्काप्रति आरोप र प्रतिवाद नगर्ने भद्र सहमतिलाई नेपाली कांग्रेसका शीर्ष नेताहरु भक्तपुरको बोडेमा भने बिर्सिएका छन्। पार्टीका कार्यकर्ताको प्रशिक्षण उद्घाटन सत्रमा शीर्ष नेताहरु एक अर्काप्रति खनिन् छाडेनन्।

प्रशिक्षणमा सहभागी हुन आएका सिन्धुपाल्चोकका कांग्रेस महाधिवेशन प्रतिनिधि चित्र मिजार भन्दै थिए - 'आफू आफै झगडा गर्छन्। के तालिम दिने हो यस्ताले?'

नेपाली कांग्रेसले आजबाट प्रदेश ३ अन्तर्गत सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिन थालेको छ। दुई दिने प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिहरु भेला भएका छन्।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा प्रशिक्षण शुरु हुँदा शीर्ष नेताका कटाक्षपूर्ण अभिव्यक्तिले केही उत्साही देखिन्थे भने केही निरास। शीर्ष नेताजस्तै यहाँ भेला हुन आएका प्रतिनिधि पनि उनीहरुकै कुनै एक गुटआवद्ध छन्। गुटमै आवद्ध भए पनि सबैलाई ठूला नेताको घोचपेच मन परेको छैन। आफ्नो गुटको नेताले अर्को गुटको नेतालाई कटाक्ष गर्दा सहभागीहरु खुशी र दु:खी भइरहेको देखिन्थ्यो।

दुई दिनसम्म चल्ने प्रशिक्षणको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले द्वोबु प्राङ्गणमा गरे।

कार्यकर्तामा राम्रो सन्देश नजाने भन्दै शीर्ष नेताहरुले आरोप प्रत्यारोपमा नउत्रने बताएका थिए। प्रशिक्षण र जागरण अभियानहरुमा नेतृत्वमै रहेकाले आरोप प्रत्यारोप गर्न थालेपछि कार्याकर्ताले सुझाव दिएका थिए - पहिला आफै मिलेर आउनुस्।

दोस्रो चरणको जागरणमा बृहत तयारीका साथ एकताको सन्देश लिएर जाने कांग्रेसले जनाएको थियो। तर, कांग्रेस शीर्ष नेता जागरण अभियान शुरु हुनु अघि नै आरोप प्रत्यारोपबाट बाहिरिन सकिरहेका छैनन्।

उद्घाटनमा सभापति देउवाले कांग्रेसमा एकता नभएको कुरा सहजै स्वीकारे। देउवाले झै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पनि उचित एकताको पर्खाइमा नेता कार्यकर्ता रहेको भन्दै घुमाउरो पाराले असन्तुष्टि पोखे। पौडेलले उपसभापति विमलेन्द्र निधिलाई पाठ पठाउन भ्याए भने देउवालाई सदनमा प्रतिपक्षीको भूमिका निभाउन नसकेको आरोप लगाए। पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले हुकुमी शैलीमा एकता हुन नसक्ने उल्लेख गरे।

प्रकाशित मिति: : 2019-09-06 19:05:44

प्रतिकृया दिनुहोस्