जात्रा मनाउने चोक पनि हडपियाे

काठमाडौं - ठमेलमा रहेको छायादेवी कम्प्लेक्सले जात्रा आयोजना हुने चोक पनि हडपेको छ। कम्प्लेक्ससँगै रहेको डबलीसहितको चोक अतिक्रमण गरी व्यक्तिको नाममा दर्ता गरेपछि ऐतिहासिक चकँ द्यः जात्रा अहिले संकटमा परेको छ।
भूमाफियाको चलखेलले व्यक्तिको नाममा उक्त जग्गा दर्ता भइसकेपछि सम्पदा र जात्राप्रेमीले आपत्ति जनाएका छन्। डिल्लीबजार मालपोत कार्यालयको नापी शाखामा रहेको २०३३ सालको फिल्डबुकमा उक्त जग्गालाई पोखरी र सार्वजनिक चोक भनेर उल्लेख छ।

ऐतिहासिक जात्रालाई मास्न नपाउने माग स्थानीयले गरेका छन्। सार्वजनिक चोकलाई व्यक्तिको नाममा दर्ता गरेकाले तुरुन्त सार्वजनिक जग्गामै कायम हुनुपर्ने पुनस्र्थापना अभियानका अध्यक्ष एवं सम्पदाप्रेमी भागवत प्रधानले नागरिकलाई बताए। उनले भने, ‘हजारौं वर्षदेखि जात्रा मनाउँदै आएको जग्गालाई भूमाफियाले अम्बिका राणाको नाममा दर्ता गराएका छन्। अहिले जात्रा मनाउन दिए पनि पछि जात्रा मनाउन रोकिने देखिएको छ। यसरी हाम्रो ऐतिहासिक जात्रालाई मास्न पाइँदैन।’ 

उनका अनुसार फागुपूर्णिमाको दिन र भोलिपल्ट चकँ द्यः जात्रा मनाउने परम्परा छ। फागुपूर्णिमाको दिन विहारका भगवान् चकँ द्यः लाई झिकेर विहारको दक्षिणको चोकमा विराजमान गराइन्छ। विभिन्न परम्परागत पूजा तथा जात्रा मनाई भोलिपल्ट विहारको पूर्वतिर हाल कमलपोहरी अतिक्रमण गरी बनाइएको विवादित छायादेवी कम्प्लेक्सको गेटतिरको डबलीसहितको चोकमा विराजमान गराई परापूर्वकालदेखिको परम्परागत पूजाआजा गरी बाजागाजासहित भगवान चकँ द्यःलाई सहर परिक्रमा गराउने परम्परा छ। ‘उक्त परम्परा हालसम्म पनि कायम छ,’ उनले भने,‘ जात्राको बेला नाच देखाउने परम्परा पनि थियो।’

प्रकाशित मिति: : 2019-09-06 14:56:47

प्रतिकृया दिनुहोस्