एटीएम ह्याकिङ प्रकरणः भारतबाट मात्रै ह्याकरले नेपाली बैंकको एक करोड पाँच लाख भारु निकाले

गत १४ गतेको एटीएम ह्याकिङ घटना नेपालमा मात्र नभई भारतमा समेत भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र संयोजकत्वको अध्ययन समितिले बुझाएको प्रतिवेदनमा नेपाली वाणिज्य बैंकहरु प्रयोग गरी भारतमा पनि रकम निकालिएको उल्लेख छ।

राष्ट्र बैंकले गरेको अध्ययनअनुसार भारतमा नेपाली बैंकका एटीएम प्रयोग गरी २४ वटा बैंकका १ सय ३२ एटीएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारु निकालिएको छ। कार्यकारी निर्देशक मिश्रको टोलीले गरेको अध्ययनले नेपालमा भने ७ वटा बैंकको विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंकका ६८ वटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालिएको पाइएको छ।

अध्ययनले भिसा नेटवर्क तथा नेप्सको स्विच नियन्त्रणमा लिएर पैसा निकालिएको देखिए पनि यसको विस्तृत अध्ययन हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ। अध्ययन टोलीले निकालेको प्रतिवदेन बुधबार साँझ राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई सुझावसहितको प्रतिवेदन बुझाएको हो।

प्रकाशित मिति: : 2019-09-05 15:36:12

प्रतिकृया दिनुहोस्