एमबिबिएसमा ७५% छात्रवृत्ति कानुनले दियो, सरकारले दिएन

चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार एमबिबिएसमा ७५ प्रतिशत छात्रवृत्तिलगायत सुविधा उपलब्ध गराउन माग गर्दै विद्यार्थीले त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा लगाएको ताला प्रहरीले खोलेको छ । चिकित्सा शिक्षा संघर्ष समितिमा आबद्ध विद्यार्थीको सहमतिविना नै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको आग्रहमा प्रहरीले बुधबार ताला फोडेको हो । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा लगाएको ताला भने रातिसम्म खुलेको छैन ।

एमबिबिएसको प्रवेश परीक्षा २१ भदौदेखि सुरु हुने कार्यतालिका सार्वजनिक भइसकेको छ । त्रिवि उपकुलपति प्रा.डा. सुधा त्रिपाठीले एमबिबिएसको प्रवेश परीक्षा नरोकिने बताइन् । ‘उनीहरू (विद्यार्थी)ले रोक्न खोजे पनि हामी जसरी पनि प्रवेश परीक्षा लिन्छौँ,’ उनले भनिन् । 

संघर्ष समितिले चिकित्सा शिक्षाको शुल्क, प्रवेश परीक्षा, छात्रवृत्तिलगायत आठबुँदे माग राखेको छ । समितिका प्रवक्ता सुजन कडरियाले आफूहरूले नयाँ कुनै पनि माग नराखेको, तर चिकित्सा शिक्षा ऐनले गरेको व्यवस्था कार्यान्वयनका लागि मात्र दबाब दिएको बताए । आफ्ना मागमा अनेरास्ववियु, नेविसंघलगायतले ऐक्यबद्धता जनाएको उनको भनाइ छ । 

आइओएमको ताला फोड्ने क्रममा आन्दोलित चिकित्साशास्त्रका १३ विद्यार्थी पक्राउ परेका थिए । उनीहरूलाई नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा लगिएको थियो । तर, पक्राउ परेका विद्यार्थीलाई भेट्न जाँदासमेत प्रहरीले दमन गरेको संघर्ष समितिका प्रवक्ता कडरियाले बताए । समिति संयोजक मिलन गैरेलाई त्यहीवेला पक्राउ गरिएको थियो । 

विद्यार्थी भेट्न पुलिस क्लब पुगेका अनेरास्ववियुका अध्यक्ष ऐन महरमाथि समेत आक्रमण भएपछि त्यहीँ प्रदर्शन भएको प्रवक्ता कडरियाले बताए । उक्त प्रदर्शनमा पाँच विद्यार्थी घाइते भएको उनको भनाइ छ । 

प्रकाशित मिति: : 2019-09-05 07:00:37

प्रतिकृया दिनुहोस्