सरकारले जनतालाई निराश बनाएको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले जनतालाई पूरै निराश बनाएको निष्कर्ष निकालेको छ । केपीशर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको डेढ वर्षीय कार्यकालको समीक्षा गर्दै कांग्रेसले वर्तमान सरकारबाट जनतामा निराशा छाएको निष्कर्ष निकालेको हो । 

मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली सरकार गठन भएको डेढ वर्षको अवधिमा मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएको, राज्य संरचनाहरुको दुरुपयोग र राजनीतिकरण गरिएको, महंगी, हत्या, हिंसा, बलात्कार, असुरक्षा र अशान्ति बढेको दाबी गरे । 

नले सरकारबाट लामो संघर्ष पपछि प्राप्त भएका अधिकारहरु खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वतःस्फूर्त रुपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरुलाई ध्वस्त गर्ने प्रयास भइरहेको पनि टिप्पणी गरे । 

परराष्ट्र सम्बन्धमा नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थहरुको सशक्त प्रतिनिधित्व गर्न नसक्दा अन्तरराष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता खस्केको कांग्रेसको ठहर छ । सहमहामन्त्री डा. महतले वर्तमान सरकारकै कारण अन्तरराष्ट्रिय लगानी घटेको पनि दाबी गरे । 

“उच्च व्याजदर, उ्रच्च कर र लगानीकर्ताहरुले कानूनी व्यवस्थालाई अनुसरणको साटो सरकारमा आसिनहरुको सेवा र शर्तमा ज्यादा ध्यान दिनुपर्ने वाध्यताले आन्तरिक र वाह्य लगानी निरुत्साहित भएको छ,” उनले भने, “यसले गर्दा देशमा रोजगारीको अवसरहरु बढ्न सकेको छैन । देश र जनतालाई समृद्ध र सुखी बनाउने विषय नारामा सिमित भएको छ ।” 
संविधानको मर्म र मान्यतालाई उल्लंघन गर्ने क्रियाकलापमा सरकार आफै लागि परेको कांग्रेसको भनाइ छ । सरकारकै संविधान विरोधी क्रियाकलापले प्रतिगमनकारीलाई मद्दत पुगिरहेको कांग्रेसको दाबी छ । 

प्रकाशित मिति: : 2019-09-04 19:32:40

प्रतिकृया दिनुहोस्