एक महिनादेखि नेपाल प्रहरीकै कम्प्युटर ह्याक : गोप्य डकुमेन्ट नियन्त्रणबाहिर

एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो । 

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनायो । ‘एकेडेमीको कम्प्युटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरौती रकम माग्छ । यो गतिविधि कहाँबाट कसरी भइरहेको छ कुनै भेउ पाउन सकिएको छैन । अनुसन्धान निकै जटिल देखिएको छ,’ स्रोतले भन्यो । 

कम्प्युटरका डकुमेन्ट ह्याक भएको तथ्य महिना दिनअघि थाहा पाएको हो । त्यसपछि घटना अनुसन्धान गर्न प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्युरोलाई जिम्मा लगाएको छ । तर, अनुसन्धान टुंगिएको छैन । केही दिनमै परिणाम आउने अपेक्षामा प्रहरी छ । 

ब्युरो प्रमुख डिआइजी विकास श्रेष्ठले प्राविधिक पाटो भएकाले प्राविधिज्ञसँग बुझेर मात्रै जानकारी दिन सकिने बताए । ‘कतिपय काम प्राविधिकबाट हुन्छ । के भइरहेको छ, यस सम्बन्धमा म जानकार भइनँ । प्राविधिकसँग बुझेर मात्रै यसबारे बोल्नुपर्ने हुन्छ । थप कमेन्ट नगरौँ,’ उनले भने । 

प्रतिष्ठानका प्रवक्ता एसपी तारादेवी थापाले तालिम केन्द्रको कम्प्युटर प्रधान कार्यालयबाटै रिकभर भइरहेको बताइन् । उनले भनिन्, ‘तालिम केन्द्रका कम्प्युटरमा केही समस्या आएको सुनेकी हुँ । यसको रिकभर हेडक्वार्टरबाटै हुने हो । त्यो भइरहेको होला । यस सम्बन्धमा नयाँ के भइरहेको छ, जानकारी भएन ।’ 

प्रहरीका अनुसार यस्ता आक्रमण नेपालमा खासगरी भूकम्पका वेला धेरै भएका थिए । त्यतिवेला राष्ट्रपति कार्यालयदेखि नेपाली सेनाका कम्प्युटरमा समेत साइबर हमला भएको थियो । 

प्रकाशित मिति: : 2019-09-04 06:50:08

प्रतिकृया दिनुहोस्