भ्रमणका नाममा बेथिति : उद्देश्य एकातिर सयर अर्कोतिर

सुदूरपश्चिम प्रदेशमा रहेका नमुना विद्यालयको अवलोकन भ्रमण गरी सिकाइ हासिल गर्न जानकी गाउँपालिकाले गत आर्थिक वर्षको बजेटमा तीन लाख रुपैयाँ विनियोजन गर्यो । गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारीलाई प्रदेशका नमुना विद्यालयको अवलोकन गराउन छुट्याइएको बजेट भने घुमफिर र तीर्थाटनमा खर्च गरे ।

उनीहरू शैक्षिक भ्रमणका लागि छुट्याइएको बजेटमा भारतका विभिन्न शहर घुमेर फर्किएको खुलेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा प्रदेशका नमुना विद्यालयको अवलोकन भनेर सो बजेट विनियोजन गरेको थियो । 

भारतको नयाँ दिल्ली, नैनिताल, आगरा, हरिद्वार, देहरादुनलगायतका विभिन्न शहर तथा पर्यटकीय क्षेत्रको भ्रमण र तीर्थयात्रामा रकम खर्च गरिएको हो । वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण चौधरीको नेतृत्वमा पाँच जना जनप्रतिनिधि र कर्मचारीसहित ३१ जनाको टोली ८ साउनदेखि पाँच दिनसम्म भारतीय शहर घुमफिर र तीर्थाटन गरेर फर्किएको हो । साउनमा भएको भ्रमणका गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल खड्काले असारमै पेश्की लिएका थिए । गाउँपालिका कार्यालयका अनुसार टोलीले हालसम्म भ्रमणको प्रतिवेदन पनि बुझाएको छैन ।

गाउँपालिका अध्यक्ष प्रदिपकुमार चौधरीले शैक्षिक भ्रमणका लागि छुट्याइएको बजेट दुरुपयोग भएको स्वीकारे । भ्रमणमा जानुअघि गाउँपालिकासँग समन्वय नगरेको उनले बताए । ‘प्रधानाध्यापकहरुलाई नमुना विद्यालय अवलोकन गराउँदा यहाँका विद्यालय सुधार गर्न केही सिकाइ होला ठानेर भ्रमणमा बजेट छुट्याएका थियौं,’ उनले भने, ‘तर त्यो बजेट खर्च गरेर भारतका शहर घुमेको देख्दा अचम्म लागेको छ ।’ 

प्रदेशका विद्यालयको अवलोकनका लागि विनियोजित बजेट भारत घुम्नमा खर्च भएको भन्दै विवाद भएपछि गाउँपालिकाले पेश्की फछ्र्यौट नगर्ने जनाएको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण विष्टले प्रदेशकै विद्यालयको अवलोकनका लागि बजेट छुट्याएको स्पष्ट पारे । 

अवलोकन भ्रमणका नाममा स्थानीय तहमा बेथिति बढेको यो एउटा प्रतिनिधिमुलक घटना हो । नमुना कामको निरीक्षण, सिकाइ आदानप्रदानका लागि स्थानीय तहले छुट्याउने अवलोकन भ्रमणको बजेट लक्षित क्षेत्रभन्दा पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण र तीर्थाटनमा खर्च गर्ने गरेका छन् । सिकाइ हासिल गर्ने भन्दा पनि घुमफिर र रमाइलो गर्न बजेट खर्च भइरहेको छ । 

प्रकाशित मिति: : 2019-09-03 22:40:25

प्रतिकृया दिनुहोस्